अदालत

सर्वोच्चका सबै न्यायाधीश इजलासमा फर्किने तयारी

इकागज |
मंसिर ८, २०७८ बुधबार १८:५७ बजे

फाइल फोटो

काठमाडौँ - गोलाप्रथाबाट पेशी तोक्ने निर्णयसहित सर्वोच्च अदालतका सबै न्यायाधीश इजलासमा फर्किने भएका छन् । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ नेपाल राजपत्रमा प्रकाशित भएर गोलाप्रथा लागू हुने निश्चित भएपछि सबै न्यायाधीश इजलासमा फर्किने भएका हुन् । 

तर यसका लागि बिहीबार ‘फूलकोर्ट’ बैठक बोलाइएको छ । बिहीबार बस्ने फूलकोर्ट बैठकले गोलाप्रथाबाट पेशी तोक्ने गरेलगत्तै सम्भवतः आउँदो बुधबारदेखि सबै न्यायाधीश इजलासमा फर्किने तयारी छ । ‘फूलकोर्ट’मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा भने अनुपस्थित हुनेछन् ।


सर्वोच्चका १९ जना न्यायाधीशले नै राणालाई फुलकोर्ट बैठकमा बहिष्कार गरेका हुन् । यअसघि बसेको फूलकोर्ट बैठकमा पनि प्रधानन्यायाधीश राणालाई बहिष्कार गरिएको थियो भने गोलाप्रथाबाट पेशी तोक्ने निर्णयमा राणाले हस्ताक्षर गरेका थिए ।

बिहीबार फूलकोर्ट बैठक बसेर गोलाप्रथाबाट पेशी तोक्ने र कानुनव्यवसायीले बहस गर्न नपर्ने मुद्दा हेर्ने तयारी रहेको सर्वोच्चका एक न्यायाधीशले जानकारी दिए ।
‘हामी भोलिदेखि नै इजलासमा फर्किन्छौँ,’ ती न्यायाधीशले इकागजसँग भने, ‘एक महिनासम्म पनि इजलास बहिष्कार गर्दा नागरिकको सेवा प्रभावित हुने भएपछि इजलासमा फर्किन लागेका हौँ ।’

यसअघि केही न्यायाधीशले मात्रै इजलासमा बन्दी प्रत्यक्षीकरण, मेलमिलाप, निवेदन फिर्ता लिने लगायतका मुद्दा हेर्दै आएका थिए । तर गोलाप्रथाबाट पेशी तोक्ने महत्वपूर्ण निर्णय लागू हुने भएपछि उनीहरु आउँदाे बुधबारदेखि इजलासमा फर्किन लागेका हुन् ।

इजलासमा फर्किने भएपनि प्रधानन्यायाधीश राणाले तोकेको इजलासमा नबस्ने, उनीसँग कुनै पनि बेन्च सेयर नगर्ने निर्णयमा सबै न्यायाधीश सहमत छन् । कार्यपालिकामा भागण्बडा खोज्ने र न्यायालयमा मनलाग्दी तथा भ्रष्टाचार गर्ने प्रधानन्यायाधीश राणाविरुद्ध नेपाल बार एशोसिएसनले घोषणा गरेको आन्दोलनमा न्यायाधीशको समर्थन छ । 

बारले थालेको आन्दोलनलाई समर्थन जारी राख्ने र प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने ‘बटमलाइन’ नछाड्ने पनि न्यायाधीशको भनाइ छ । 
 


Author

थप समाचार
x