कोभिड-१९

खोप खरिद छैन, अनुदानको फ्रिजले भण्डार भरिए

अतिन आचार्य |
असार १५, २०७९ बुधबार ८:१५ बजे

काठमाडौँ- स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले मंगलबार केन्द्रीय खोप भण्डारमा मौज्दात सकिएको भन्दै विज्ञप्ति जारी गर्‍यो । महाशाखाले पर्याप्त खोप भएका स्थानबाट नभएका ठाउँमा खोप व्यवस्थापन गरेर लगाउन निर्देशन पनि दिएको छ ।

सरकारले बालबालिकाका लागि खोप खरिद गर्ने भन्दाभन्दै अनुदानको खोप नेपाल आइपुगेको छ । अधिकांश खरिदभन्दा अनुदानको खोप नेपाल भित्रिएका छन् । पछिल्लो समय भित्रिएको अनुदानको खोप बालबालिकाले पाउन थालिसकेका छन् ।


असार ९ गतेदेखि २७ जिल्लामा ५ देखि ९ वर्षसम्मका बालबालिकाका लागि कोभिड-१९ खोप अभियान सुचारु भइरहेको छ । खोप अभियान चालु भएसँगै विभिन्‍न स्थानमा खोप अभावले कार्यक्रमसमेत स्थगित भइसकेका छन् । ललितपुर महानगरले पर्याप्त मात्रा खोप प्राप्त नगरेकाले स्थगन गरिसकेको छ ।

कोभिड  महामारीको तेस्रो लहर देखा पर्दासम्म सबै उमेर समूहका मानिसले खोप लगाइसक्दा पनि ५ देखि ९ वर्ष सम्मका बालबालिकाहरू खोप पाएका थिएनन् ।तेस्रो लहर देखा पर्दा मुलुकमा सबैभन्दा बढी जोखिममा बालबालिका थिए । अन्य उमेर सबैका अधिकांश मानिसले बुस्टर डोजसमेत लगाउन थालेका थिए ।

महाशाखाले खोप अभाव भनेता पनि अहिले केही जिल्लामा अभियान जारी छ । स्वास्थ्य कार्यालय काठमाडौँले मागअनुसार खोप पाउन सकेको छैन । सरकारी तथ्यांकअनुसार खोप लगाउन बाँकी ८४ लाख बालबालिका थिए । तर, अहिले भने कम हुँदै गएका छन् ।

अमेरिकाले केही साताअघि अनुदानस्वरुप फाइजरको २२ लाख ३ हजार खोप उपलब्ध गराएको थियो । सरकारले बालबालिकालाई खोप लगाउन थालिसकेको छ ।

अनुदानमा पाएको फ्रिजमा ती खोप राखेर सातै प्रदेशका आंशिक जिल्लाले खोप पाएका छन् । अनुदानमा पाएको 'अल्ट्रा लो फ्रिज फ्रिजमा अहिलेसम्म सरकारले खरिद गरेर खोप राख्‍न सकेको छैन ।

कुनै समय टेकुस्थित खोप भण्डार केन्द्रमा खरिद वा अनुदानमा आएका खोप कहाँ र कसरी राख्‍ने भन्‍ने चर्चाको विषय बन्थे । अतिआवश्यक समयमा खोप माग गरे पनि पाउने अवस्था थिएन । खोप पाएमा पनि राख्‍ने ठाउँसमेत थिएन ।

सबैभन्दा बढी समस्या फाइजर खोपकै भण्डारणमा थियो । जुन खोप माइनस २० डिग्रीको तापक्रममा राख्नुपर्ने आवश्यकता थियो । खोप भण्डार तथा भ्याक्सिन वितरण शाखामा आवश्यक संरचना निर्माण भएका थिएनन् । उपलब्ध भण्डारणमा अन्य खोप राखिएको थियो ।

अमेरिकामा निर्मित फाइजर खोप राख्‍नका निम्ति भौतिक संरचना निर्माण 'नहुँदा अल्ट्रा लो' फ्रिजको आवश्यकता पर्थ्यो । खोप भण्डारण केन्द्र नहुँदा र खोप आयात नहुँदा बालबालिका खोप लगाउनबाट वञ्चित थिए ।

भण्डारणमा अहिले विभिन्‍न दातृ संस्थाले सहयोग स्वरुप दिएका 'अल्ट्रा लो फ्रिज' छन् । भण्डारण केन्द्रमा विभिन्‍न आकारका २२ वटा फ्रिज छन् । अहिले भण्डारण केन्द्रमा पर्याप्त फ्रिज भए पनि खोप छैन ।

अमेरिकन संस्था युएसएडले दिएको दुई वटा र राष्ट्रिय आविष्कार केन्द्रले उपलब्ध गराएको फ्रिजमा मात्र खोप भण्डारण गरिएको छ । ८२८ लिटरको दुई फ्रिजमा खोप पूरा र ४८५ लिटरको फ्रिजमा खोप भरिभराउ राखिएको छ ।

संख्यात्मक रुपमा विभिन्‍न साइजका फ्रिज भए पनि अहिले भने तीन वटा फ्रिजमा मात्र खोप राखिएको भण्डारण शाखाका मेकानिकल इन्जिनियर सन्तोष मिश्रले जानकारी दिए ।

'खोप नभएकाले बाँकी फ्रिज खाली रहेका छन्,' उनले भने,' सुरुमा ल्याउन साथ सबै फ्रिजमा राखिएको थियो । अहिले २७ जिल्लामा खोप पठाएकाले फ्रिज खाली भएका  छन् ।'

राष्ट्रिय आविष्कार केन्द्रले दिएको ४ सय ८५ लिटरको दुई, वान हर्टले २५ लिटरको चार, अमेरिकन दूतावास २५ लिटरको चार, कोभ्याक्स ८२८ लिटरको चार, कोभ्याक्समार्फत एक सय लिटरको चार, सिपले ५२८ लिटरको दुई र युएसएडले उपलब्ध गराएका ८२८ लिटरको दुई वटा 'अल्ट्रा लो' फ्रिज छन् ।

भण्डारणमा आठ वटा पोर्टेबल फ्रिज छन् । पोर्टेबल फ्रिजमा आवश्यक क्षेत्रमा तत्कालै खोप ढुवानी गर्न सकिने मिश्रले जानकारी दिए । पोर्टेबल फ्रिज २५ लिटरका छन् ।

एक सय लिटरको फ्रिजमा भने १ लाख मात्रामा खोप राख्‍न सकिने उनले बताए । 'बढी क्षमता भएका फ्रिजमा खोपको मात्रा बढाएर राख्‍न सकिन्छ,' उनले भने ।

केन्द्रीय खोप भण्डारणमा पर्याप्त खोप नभएकाले बढी खोप भएका ठाउँबाट कम भएका ठाउँमा लगेर व्यवस्थापन गर्नुपर्ने खोप महाशाखाका प्रमुख सागर दाहालले जानकारी दिए । 'अहिले जिल्लामा भइरहेको खोप अभियानमा बढी खोप भएका ठाउँबाट कम भएका स्थानीय तहमा लगेर लगाउन निर्देशन दिएको छ,' उनले इकागजसँग भने,' असार तेस्रो सातासम्म थप खोप आउने भएकाले नपुगेका ठाउँमा सहजै खोप वितरण गरिनेछ ।'

तथ्यांक विभाग र विद्यालयका तथ्यांक अनुसार बालबालिकाको गणना गरिएको दाहालले जानकारी दिए । तथ्यांकमा देखिएको आधारमा खोपको मात्रा वितरण गरिएको उनको भनाइ छ ।

हालसम्म विभिन्‍न मुलुकबाट विभिन्‍न कम्पनीका कूल खोप ५ करोड ५५ लाख ८४ हजार मात्रा खोप भित्रिएको दाहालले जानकारी दिए । फाइजर खोप अनुदान स्वरुप २२ लाख ३ हजार मात्रा खोप नेपाल ल्याइएको उनले सुनाए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x