कोभिड-१९

५०० मिटर वर-पर : उता शपथ, यता विपद्

शीतलनिवासमा प्रधानमन्त्रीले पुन: शपथ लिइरहँदा टिचिङमा छट्पटाइरहेका थिए नागरिक

अतिन आचार्य |
बैशाख ३१, २०७८ शुक्रबार १९:२० बजे

काठमाडौँ : त्रिवि शिक्षण अस्पताल परिसरमा बेड र अक्सिजन नपाएर कोभिड-१९ संक्रमित गेटसम्म फैलिएका छन् । अस्पतालदेखि  शीतलनिवास पाँच सय मिटर वर पर्छ । शुक्रबार मध्यान्ह त्यहीँ शीतल निवासमा राष्ट्रपतिबाट प्रधानमन्त्री केपी शर्मा ओलीले  ४२ औँ प्रधानमन्त्रीको रूपमा शपथ लिइरहेका थिए । शपथ लिन जाँदा उनले त्रिवी शिक्षण अस्पतालको बाटोतर्फ हेरेनन् होला किनभने उनलाई अस्पताल पुग्‍नु नै थिएन । उनका आसेपासेले सबै राम्रो छ, व्यवस्थित छ भन्देकै होलान ?

अहिले मुलुकभर दिनप्रतिदिन संक्रमित बढिरहेको र अस्पतालामा संक्रमितले बेड नपाएको प्रधानमन्त्री ‌ओलीलाई थाहा हुनु पर्ने हो । तर, संक्रमितहरू कुन अवस्थामा र कसरी बसिरहेका छन त्यो थाहा नहुन सक्छ । किनभने उनलाई अस्पतालतर्फ ध्यान दिन फुर्सद छैन । उनी संक्रमितको अवस्था थाहा पाएर पनि थाहा नपाए जस्तो गरी आँखा चिम्ली कान थुनी शपथ लिन गए ।


जुन बेला शपथ लिदै थिए त्यहीँबेला त्रिवि शिक्षण अस्पताल सात संक्रिमत बाहिर र भेरी अस्पतालको परीसरमा टेन्ट टाँगेर उपचार गरिरहेका थिए । संक्रमितका लागि अति आवश्यक अक्सिजनको अभाव थियो, छ । उपचारका लागि आएका सबै संक्रमितहरू अक्सिजन कमीकै कारणा आएका हुन् । अस्पतालमा पनि अक्सिजनको कमी छ ।

अक्सिजन र बेड पाउने आशामा...! 

भक्तपुरबाट आएका ६५ वर्षीय तुलसी महर्जन अस्पताल बाहिर राखिएको बेडमा अक्सिजनको सहारामा सुतिरहेका छन् । उनी एकसातादेखि होम आइसोलेसनमा बसिरहेका थिए । 'शरीरमा अक्सिजन कम भएपछि बिहानै अस्पताल ल्याउनुपरेको हो,'  छेउँमा बसिरहेका छोराले भने ।

महर्जनको घरमा श्रीमती सहित छोरीलाई  पनि संक्रमण देखिएको छ । सामान्य अवस्था भएकाले उनीहरू होम आइसोलेसनमा बसिरहेका छन् । अक्सिजन पाए पनि बेड पाउने आशामा बाउ छोरा कोभिड वार्ड छिर्ने गेटको छेउ कुनामा बसिरहेका छन् । अक्सिज र बेड छैन भनेर भित्रबाट नर्स आउँदै भनिरहेको उनले सुनाए ।

दिनप्रतिदिन संक्रमित र मृत्युदरको संख्यको उकालो लागिरहेको छ । सरकारले अस्पतालमा अक्सिजन र बेडको व्यवस्था गर्न सकेको छैन । पुरानै व्यक्ति पुनः प्रधानमन्त्री बने सँगै मुलुकमा नयाँ-नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन। तर त्यहीँ पुराना अस्पतालमा बेड र अक्सिजन थपिएनन् ।  

सामाखुसीबाट आएका ३० वर्षीय युवक हेर्दा स्वस्थ्य जस्ता देखिन्छन् । महर्जन जस्तै उनी पनि होम आइसोलेसनमा बसिरहेका थिए । अचानक शरीरमा अक्सिजन कमी भएर दाइलाई ल्याएको उनले बताए । अस्पताल आउन साथ संक्रमितले बेड पाएनन्। केही क्षणमा अस्पतालका कर्मचारीले फोल्डिङ बेड ल्याएर दिएकाले त्यहीँ बेडमाथि रहेको उनको टाउकोमाथि रहेको पायपबाट अक्सिजन लिइ रहेका छन् ।

'अक्सिजन दिन नपाएका भए दाइलाई जे पनि हुन सक्छ भन्ने अवस्था थियो,' दाइको शरीरतर्फ देखाउँदै उनी भन्छन,' भाइरसले मोटो शरीर युवा उमेर पनि भन्दोरहेनछ । शरीरमा कतिखेर के कुराको कमी हुन्छ, त्यसबारेमा केही थाहा हुदैन रहेछ ।'

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि त्रिवि शिक्षण अस्पतालको जस्तै अवस्था छ । अस्पतालको सबै बेड प्याक भएपछि इमर्जेन्सी कक्षलाई समेत प्रयोगमा ल्याइएको छ । भित्र ठाउँ नभएर अस्पताल प्रशासनले इमर्जेन्सीमा राखी उपचार गराउने व्यवस्था गरेको छ ।

बालाजुबाट आएकी ५६ वर्षीय महिला इमर्जेन्सीको बाहिर भुइमा बसी उपचार गराइरहेकी छिन् । भुइमा बस्न रहर नभइ बाध्यता बनेको छ । अन्य कोभिड उपचार केन्द्रमा बेड नपाएपछि उनी उपचार पाउने आशामा अस्पतालको बाहिर सुतिरहेकी छिन् ।

उनको अक्सिजनको लेभल ८० छ ।  यताउती आँखा घुमाइरहन्छिन । 'सरकारले सार्वजनिक गरेको सबैतिरको अस्पतालमा फोन सम्पर्क गरे, सबै नम्बरमा फोन गरे तर कसैले पनि बेड नभएको जवाफ दिए,' उनीसँग आएकी बुहारीले सुनाइन  ।

पालमै उपचार

बाँकेस्थित भेरी अस्पतालमा २ सय ४० भन्दा बढी संक्रमितहरू उपचाररत छन् । सबैलाई अक्सिजन दिएर राख्‍नुपरेको अस्पतालले जनाएको छ । सबै बेड भरिएका छन । इमर्जेन्सीको १६ बेड भरिएकाले बाहिर पाल टाँगेर उपचार गरिरहेको अस्पतालका मेसु डा. प्रकाश थापा बताउँछन् ।

'उपचार गर्न आएकालाई फर्काउनु नपरोस भनेर अक्सिजन सिलिन्डर वा अक्सिजन कन्सन्ट्रेटर प्रयोग गरेर कोभिड वार्डमा बेड खाली नभएसम्म ‘होल्ड गर्ने’ गरिएको छ,' डा. थापाले इकागजसँगको संवादमा भने,' संक्रमितलाई अक्सिजन दिएर भएपनि ज्यान बचाउनु छ ।'

उद्योगले सिलिण्डर पठाएनन् !

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीका अनुसार अक्सिजनको अभाव भएको छ । 'हिजै काभ्रेको नवज्योती अक्सिजन उद्योगमा करिब ५० वटा सिलिण्डर भर्न पठाइएको थियो अहिलेसम्म आएको छैन,' उनले भने,' प्रहरीले उद्योगमा गएर अक्सिजन लाने गरेका छन् ।'

वीर अस्पताल ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले पनि हिजो राति अस्पतालमा आउनुपर्ने अक्सिजन प्रहरीले लिएर गएको सामाजिक सञ्‍जालमा लेखेका थिए ।

अस्पतालमा लिक्वीड अक्सिज जडान गर्न बुलेट सेट भर्ने काम भइरहेको अधिकारीले जानकारी दिए । लिक्‍वीड ग्यास निर्माण गर्न अझै करिब एक साता लाग्ने उनले बताए । चाँडै निर्माण गर्न भनेर निर्देशन दिएको भने पनि जनशक्ति अभावले निर्माणम ढिलाइ हुन गएको हो,' उनले भने ।

अधिकारीले राती अक्सिजनको माग उच्च रहेको र सबैभन्दा बढी माग त्यहीँ समयमा रहेकाले बिरामीलाई गाह्रो हुने गरेको बताए । दैनिक ८ हजार लिटर अक्सिजन चाँहिने भएपनि २ वटा अक्सिजन प्लान्टबाट २ हजार लिटर मात्र उत्पादन भइरहेको उनको भनाइ छ ।

माग धेरै, कोटा थोरै

नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरका अनुसार सीसीएमसीले अक्सिजनको  थोरै संख्यामा कोटा निर्धारण गरेकाले प्रहरी अस्पतालमा माग बढेको छ । अस्पतालमा अक्सिजन चाहिने बिरामी बढी भएकाले माग उच्च रहेको उनले बताए ।

'वीर अस्पताल र प्रहरी अस्पतालको अक्सिजन लिने एकै ठाउँ भएर हो,' प्रवक्ता कुँवरले भने,' हामीले माग अनुसार पनि अक्सिजनको सिलिण्डर पाएका छैनौ । माग २ सयको माग छ । २५ सिलिण्डर मात्र पाएका छौ । ' अस्पतालको कोटा खोसेर नलगेको उनको दाबी छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x