कोभिड-१९

स्वास्थ्य प्रणाली 'कोल्याप्स' : लथालिंग उपचार, लाचार सरकार

अतिन आचार्य |
जेठ ६, २०७८ १५:२ बजे

काठमाडौँ : बैशाखको सुरुआतसँगै नेपालमा कोभिड-१९को संक्रमण दिनहुँ बढिरहेको छ । दैनिक संक्रमणको दर र मृत्युदरले रेकर्ड कायम गरिरहेको देखिन्छ । संक्रमितहरूले बेड पाइरहेका छैनन्, उनीहरू अस्पतालको प्राङ्गणमा बसेर उपचार गर्न बाध्य छन् ।

बैशाख २८ गते काठमाडौँ महानगरले कोभिड-१९ उपचार केन्द्रका प्रमुखसँग छलफल गर्‍यो । जसमा उपत्यकाका सबै उपचार केन्द्रका प्रमुख सहभागी थिए । यो छलफलमा गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीकोसमेत सहभागिता थियो । अधिकारीले नेपालको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’नै भइसकेको दाबी गरे । नेपालको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ भइसकेको भन्दै स्वास्थ्य नीति परिवर्तन गर्नुपर्ने सुझाब उनको दिए । 


ADVERTISEMENT

'अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन सकेका छैनन्, सरकारले अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै गरिहेको छ,' डा.अधिकारीले भनेका थिए, 'जिम्मेवार निकायले दायित्व पूरा गर्न नसकेका कारण कोभिड संक्रमित लगायत समग्र स्वास्थ्य प्रणाली धरापमा परेको छ । '

प्रधानमन्त्री कार्यालयले गत मंगलबार कोभिड-१९ डेडिकेटेड अस्पतालमा १७ हजार बेडको व्यवस्था भएको जानकारी दियो । दुई हजार ५ सय एचडीयू बेड, १ हजार ९ सय ९९ आइसीयू बेड र ६ सय व्यवस्था भएको कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी गराएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समाचार तयार पार्दासम्म मुलुकभरका विभिन्न अस्पतालमा सात हजार ४ सय ४७ संक्रमित उपचारत छन् । एक लाख ६ हजार ९ सय ११ होम आइसोलेशनमा संक्रमित छन् ।

सरकारले १७ हजार बेड भएको घोषणा गरिसकेको छ । तर, संक्रमिततका लागि बेड अभाव भएर काठमाडौँ उपत्यका लगायत बाहिरी जिल्लाका अस्पतालमा संक्रमित बाहिरै बसेर उपचार गरिरहेका छन् । ७ हजार बढी संक्रमित भइसक्दा धेरैले अस्पतालको बेडमा उपचार नपाउने अवस्था भइसकेको छ । डा.अधिकारीले भनेजस्तो पछिल्लो समय‍ स्वास्थ्य क्षेत्र 'कोल्याप्स' भइसकेको यसले प्रमाणित गर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक स्वास्थ्य सल्लाहकार नेपालको स्वास्थ्य क्षेत्र 'कोल्याप्स' भइसकेको कुरालाई थप पुष्टि गर्छन् । 

बिहीबार दिउँसो ती सल्लाहकारले इकागजसँग भने,'यहाँको स्वास्थ्य प्रणाली नीतिगत रूपमा फेल भएकै देखियो, सरकारी संस्थाले प्रभावकारी रूपमा उपचार त गरिरहेकै छन्, अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारी निकाय असफल भयो ।' 

सरकारले उपचारका लागि उचित व्यवस्थापन गर्न नसक्दा र अस्थायी उपचार केन्द्र निर्माण गर्न नसक्दा आगामी दिनमा धेरै संक्रमित उपचारबाट वञ्चित हुने छन् । महामारीमा उपचार केन्द्रको व्यवस्थापन गरेको भए स्वास्थ्य प्रणाली कोल्याप्स भइसकेको भन्नुपर्ने अवस्था आउँदैन थियो ।

लथालिङ्ग स्वास्थ्य प्रणाली

कोभिड-१९ महामारीका कारण स्वास्थ्य प्रणाली लथालिङ्ग भएको भाइरोलोजिष्ट, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बासुदेव पाण्डे बताउँछन् । उनका अनुसार संक्रमित र मृत्युदर बढिरहेकाले उपचार केन्द्रहरूमा उपचार गर्न नसक्ने अवस्था देखिएको छ । 

'संक्रमित बढ्दै गयो त्यसलाई नियन्त्रण गर्न र उपचारको व्यवस्थापन गर्न नसक्दा मृत्युदर बढेको छ त्यसैले स्वास्थ्य क्षेत्रको व्यवस्थापन लथालिंग भएको जस्तो देखिन्छ,' डा.पाण्डे भन्छन् ।  

महामारी नियन्त्रण गर्न विकसीत राष्ट्रसमेत असफल भइसकेकाले यहाँको राज्य संयन्त्र फेल भइसकेको प्रमाणित भएको पाण्डेले बताए । स्वास्थ्य विभाग र स्वास्थ्य मन्त्रालयको कमजोर व्यवस्थापनका कारण यस्तो हुन सक्ने उनको तर्क छ  । सरोकार वाला निकाय फैलदो संक्रमणको अवस्था फैलिएर नियन्त्रण भन्दा बाहिर जान सक्ने देख्दासमेत गम्भीर नबनेको उनले आरोप लगाउँछन् ।

'अस्थायी उपचार केन्द्र निर्माण गरेर पनि संक्रमितको उपचार गर्ने व्यवस्था हुनुपर्थ्यो,' उनी भन्छन्,'कोभिड नियन्त्रणका लागि बनेका विभिन्न संयन्त्र फेल भएका कारण यस्तो भएको हो, स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयले स्वामित्व गर्नुपर्थ्यो तर त्यसो नभएर सीसीएमसी जस्ता संयन्त्रले प्रभावकारी काम गर्न नसक्दा समस्या भएको हो ।'

'निजी अस्पताललाई नै उपचार केन्द्र बनायौँ'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारी मन्त्रालयको तर्फबाट प्रयास भइरहेको बताउँछन् । संक्रमितलाई उपचार गराउनका लागि धेरै प्रयास भइरहेको उनको भनाई छ ।

मन्त्रालयको एक्लो पहलमा महामारीलाई सहजै नियन्त्रणमा लिन नसकिने डा.पाण्डे बताउँछन् । अक्सिजन अभाव नहोस् भन्नका लागि निरन्तर आपूर्ति गर्न उद्योगलाई आग्रह गरिसकेकोसमेत उनी दाबी गर्छन् । दिनहुँ दिन कोभिड-१९ उपचार केन्द्रको खोजी भइरहेको  र अस्पताललाई उपचार केन्द्र बनाउने क्रम पनि जारी रहेको उनको भनाई छ । डा.अधिकारी भन्छन्,'महामारी एक्कासी आउँदैन यसलाई नियन्त्रण गर्न विभिन्‍न मेकानिज्मको विकास गरेर नियन्त्रण गर्नलाई प्रयासरत छौँ ।' 

डा.अधिकारी २५ बेडभन्दा बढी भएका अस्पताललाई अक्सिजन प्लान्ट निर्माण गरिदिनेसमेत जानकारी दिन्छन् । 'कोभिडको पहिलो चरणदेखि महामारी नियन्त्रण गर्न सीसीएमसीको निर्माण गरेर काम अघि बढिएको थियो,' उनी भन्छन्,' क्वारेन्टाइन निर्माणदेखि परीक्षण गर्ने काममा पनि विभिन्न निकायको सहयोग लिएर काम गरेका थियौँ ।'

सुरुवातमा कोभिड-१९ संक्रमितको उपचार सरकारी अस्पतालमा गर्ने गरिएका र अहिले निजी अस्पतालमासमेत उपचार प्रक्रियाअघि बढाइएको डा.अधिकारी बताउँछन् । 'दिन प्रतिदिन सबै संक्रमितले नि:शुल्क उपचार पाउनुपर्छ भनेर निजी अस्पतालसँग सम्झौता गरी प्रक्रिया अघि बढिसकेको छ,' उनी भन्छन्,' प्रदेश र स्थानीय सरकारले पनि उपचार सम्झौता प्रक्रियाअघि बढाइसेको छ ।' 



Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार