कोभिड-१९

कोभिड रोक्न खोप लगाउने ठाउँ नै अति जोखिम !

इकागज |
पुस ३०, २०७८ शुक्रबार १४:२८ बजे

काठमाडौं– सरकारले माघ ७ गतेबाट सार्वजनिक स्थानमा प्रवेश गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य बनाएपछि केही दिनयता खोप केन्द्रहरूमा खोप लगाउनेको चाप बढ्न थालेको छ ।

तर, खोप लगाउने ठाउँमा मास्ककोसमेत अनिवार्य प्रयोग नगरिएको र स्वास्थ्य मापदण्ड पालना नगरिएको पाइएको छ। जसकारण कोरोना रोक्नका लागि लगाइदैं गरेको खोप केन्द्र नै संक्रमणको उच्च जोखिममा रहेको पाइएको हो । यहीबाट कोभिड फैलन सक्ने सम्भावना देखिएको खोप लगाउन पुगेकाहरू बताउँछन्।


सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राख्नुपर्ने व्यवस्था गरिएपछि खोप लगाउनेको भीड बढेको हो । त्यसका साथै कोभिड संक्रमण तीव्र विस्तार भएसँगै खोप केन्द्रमा सर्वसाधारणको चाप बढेको छ ।  

उपत्यकाका अधिकांश खोप केन्द्रमा खोप लगाउनेको भीड निकै बढेको छ । केही दिनअघिसम्म खोप केन्द्रहरुमा खोप लगाउनका लागि मानिसहरू आउँदैनथे तर सरकारले खोप कार्ड अनिवार्य बनाएपछि खोप केन्द्रमा दिनहुँजसो भीड लाग्ने गरेको छ । टेकु अस्पताल, बानेश्वरको सिभिल अस्पताल लगायत खोप केन्द्रमा खोप लगाउने मानिसको पछिल्लो केही दिनयता थामिनसक्नु भीड बढेको हो । सरकारले २५ जनाभन्दा बढी भेला नहुनु भनेपनि खोप केन्द्रहरुमा सयौँको संख्यामा मानिसहरु लाईनमा बस्दा त्यहीँबाटै संक्रमण फैलिने जोखिम बढेको छ ।

सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य भनेर बाध्यात्मक बनाइदिँदा धेरै जना खोपको दायरामा आउने सरकारले लक्ष्य लिएको छ । सरकारी अस्पतालमा खोप लगाउनेको भीड बढेपछि निजी अस्पतालमा समेत खोप लगाउन थालिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 


Author

थप समाचार
x