क्रिकेट

वेस्ट इन्डिज 'ए' सँग हार्‍यो नेपाल

इकागज |
बैशाख १६, २०८१ आइतबार १५:४८ बजे

काठमाडौँ- पाहुन टोली वेस्ट इन्डिज 'ए' ले पाँच खेलको टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपाललाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा वेस्ट इन्डिज 'ए' ले नेपाललाई १० रनले पराजित गरेको हो । यससँगै सिरिज १-१ को अवस्थामा पुगेको छ ।


यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ४ विकेटले पराजित गरेको थियो ।

आइतबारको खेलमा १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५० रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रन बनाएपनि जितका लागि पर्याप्त भएन । लोकेश बमले १७ र आरिफ शेखले १२ रन बनाए । गुल्सन झाले ११ बलमा ३ चौका र २ छक्का हिर्काउँदै २६ रन बनाएर आउट भए ।

वेस्ट इन्डिज 'ए' का लागि गुडाकेस मोटी र ओवेद म्याककोयले २-२ तथा ओसाने थोमस र रोस्टन चेजले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए' निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायो ।

वेस्ट इन्डिज 'ए' का लागि आन्द्रे फ्लेचरले ४३, कप्तान रोस्टन चेजले २३ रन, जोनसन चार्ल्सले ११ तथा केसी कार्टीले १० रन बनाए । गुडाकेस मोटीले ३३ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले २-२ तथा दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x