अपराध

अपहरण वा शरीर बन्धक गरेको आरोपमा ६ जना पक्राउ

इकागज |
साउन २०, २०७९ शुक्रबार १९:१० बजे

प्रतिकात्मक तस्वीर

काठमाडौं– अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा काठमाडौं रानीबारी बस्ने गोरखा आरुघाट गाउँपालिका–७ घर भएका ३७ वर्षीय कर्ण बहादुर गुरुङ, धापासी बस्ने गोरखा सिरानचोक गाउँपालिका–५ घर भएका २८ वर्षीय लक्ष्मण गुरुङ रहेका छन् । त्यस्तै मित्रनगरस्थित सिन्धुली गेष्टहाउसमा बस्ने सर्लाही लालबन्दी नगरपालिका–११ घर भएका २९ वर्षीय रोहित मगर, मित्रनगर बस्ने प्यूठान नगरपालिका–८ बागदुला घर भएका २८ वर्षीय बिशाल मगर, बानियाँटार बस्ने नुवाकोट शिबपुरी गाउँपालिका–६ पालथोक घर भएका २७ वर्षीय बिनोद केसी र बालाजु बस्ने बर्दिया राजापुर नगरपालिका–१० घर भएका २८ वर्षीय शिब सुनार रहेको प्रहरीले जनाएको छ ।  


कपुरधारास्थित सडकबाट, ओखलढुङ्गा चिसाङ्खुगढी गाउँपालिका–५ चिसापानी घर भएका बनस्थली बस्ने  एक जना नेपाली नागरिक र लाजिम्पाटस्थित खरेलटोलबाट एक जना चिनियाँ नागरिक समेत गरी दुबै जनालाई केही व्यक्तिहरूले लिई गएको र चिनियाँ नागरिकलाई सुरक्षित साथ फिर्ता लैजाने भए एक करोड नगद लिएर आउन भनेको सूचना प्राप्त भएको थियो ।    

जिल्ला प्रहरी परिसर काठमाडौंबाट घटनाको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज, मालीगाउँ समेतको सहयोगमा खोजी गर्ने क्रममा दुवै जनालाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कस्थित न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजबाट फेला पारी सकुसल उद्दार गरेको थियो।
उक्त घटनामा संलग्न उनीहरूलाई नगद ८ लाख रुपैयाँ, विभिन्न कम्पनीको २६ थान मोबाइल र एक थान हतकडीसहित पक्राउ गरेको हो । 

उनीहरू उपर अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाडौबाट थप अनुसन्धान भइरहेको छ । 
 


Author

थप समाचार
x