अपराध

अपराध

लागूऔषधको प्रयोगले बढ्यो अपराध

इकागज |
असोज ३०, २०७८ शनिबार १७:३० बजे

फाइल फोटो

कञ्चनपुर - लागूऔषध प्रयोगकर्ताका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आपराधिक क्रियाकलापमा वृद्धि भएको पाइएको छ । चोरी झैझगडा, लुटपाटलगायत घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न रहने गरेको पाइएको छ । कमजोर खालको सुरक्षा हुने ठाउँको पहिचान गरी चोरीलगायत घटना हुने गरेका छन् ।

“मदिरा पसल, फलफूल पसल, किराना पसल लगायतमा चोरी बढी भएको पाइएको छ,” इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले भने, “चोरी गरी भाग्न सजिलो भएका ठाउँ, उज्यालो नभएको र सुरक्षाका पर्याप्त साधनहरु नअपनाइएका पसललगायतमा बढी चोरी भएको पाइएको छ । यी सबै घटनामा लागूऔषध प्रयोगकर्ताको संलग्नता देखिएको छ ।” 


उनका अनुसार ९० प्रतिशत आपराधिक घटनामा लागूऔषधका प्रयोगकर्ता संलग्न रहेका छन् । नगरपालिका क्षेत्रमा १५ देखि २५ वर्षका युवाहरु लागूऔषधको कुलतमा फसेका छन् । जसको सङ्ख्या ७०० बढी रहेको अनुमान गरिएको छ । बजार क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म लागूऔषधका प्रयोकर्ताहरु रहेका छन् । रातिका बेला चौराह, दोबाटो, पुल लगायतका क्षेत्रमा सामूहिक रुपमा बसेर लागूऔषधको सेवन गर्ने र त्यसपछि आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाइएको छ । 

लागूऔषधका सेवनकर्ता र कारोबारीहरुको पहिचान गरी पक्राउ गरी प्रहरीले प्रचलित कानुनअनुसार मुद्दासमेत चलाउँदै आएको छ । “लागूऔषध प्रयोकर्ताहरु र कारोबारीहरुमाथि निगरानी राख्ने कार्य हुँदै आएको छ,” प्रहरी निरीक्षक बोहराले भने, “प्रहरी एक्लैको प्रयासले लागूऔषधको जालो भत्काउन गाह्रो छ । यसका लागि नगरपालिकाले समेत सचेतना अभियानलाई अगाडि बढाउनुपर्ने देखिन्छ ।”

नगरपालिकाका १२ वटै वडामा समय छँदै युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउनका लागि कार्य अगाडि नबढाइए यसले डरलाग्दो अवस्थामा पु¥याउने उनको भनाइ छ । प्रहरीले सशस्त्र प्रहरीसँग मिलेर समाजमा हुने अवाञ्छित गतिविधिमाथि नियन्त्रण गर्नका लागि चाडपर्व लक्षित संयुक्त गस्तीको कार्यलाई समेत अगाडि बढाएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीका सभापति शेरबहादुर साउदले लागूऔषधको प्रयोगलाई न्यूनीकरण गर्नका लागि विद्यालयमै सचेतना कक्षा सञ्चालन गरी किशोर र युवाहरुलाई सजग गराउनुपर्ने बताए । “यसका लागि प्रहरी र जनप्रतिनिधिसँग मिलेर कार्य गर्न इच्छुक छौँ,” उनले भने, “युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउन नसके असल समाजको परिकल्पना गर्न सकिँदैन । लागूऔषधविरुद्ध सबै सहकार्य गरी अगाडि बढौँ ।” 

झलारी पीपलाडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरेन्द्रकुमार भण्डारीले लागूऔषधका प्रयोकर्ताहरुका कारण चोरी, जबर्जस्ती पैसा उठाउने कार्यसँगै ज्यान मार्ने उद्योगसम्मका घटना भएका छन् । यसको न्यूनीकरणका लागि बेलैमा सोच्नु जरुरी रहेको बताए । “बजार क्षेत्रमा सिसिटिभी जडान गरिएका भए पनि पर्याप्त छैन,” उनले भने, “बत्तीको व्यवस्थासमेत भरपर्दो नहुँदा चोरी लगायतका घटनाबाट व्यवसायीहरुले पीडित हुनु परेको छ ।” उनका अनुसार चोरहरुले पिपी सेट लगाएरसमेत चोरी गरेको पाइएको छ । नगर प्रमुख दिलबहादुर ऐरले लागूऔषधको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्नका लागि सचेतना अभियान सञ्चालन गर्न प्रतिबद्ध रहेको बताए । 

“लागूऔषधका प्रयोगकर्ताहरुमा युवाहरुको संलग्नता बढी देखिन थालेकामा चिन्तित भएको छु,” उनले भने, “यस कार्यलाई निरुत्साहित गर्नका लागि सबैको एकबद्धतासँगै सहयोगको खाँचो छ ।” भारतीय खुला सिमानाका कारण लागूऔषध भित्रिने गरेको उल्लेख गर्दै उहाँले लागूऔषधको कारोबारमा संलग्नहरुको पहिचान गरी कडा कारबाही गरिनुपर्ने बताए । यसका लागि प्रहरीलाई समाजका सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

लागूऔषधको कारोबार गर्ने गिरोहले सीमावर्ती भारतीय बजारबाट ब्राउन–सुगरलगायत लागूपदार्थ ल्याएर स्थानीय किशोरकिशोरी र युवायुवतीलाई बिक्री गर्ने गरेका छन् । कतिपय लागूऔषध प्रयोगकर्ता स्वयं सीमापारिका बजारमा गएर लागुपदार्थ प्रयोग गर्ने र बोकेर समेत आउने गरेका छन् ।

लागूपदार्थको कारोबारमा संलग्न गिरोहमा भारत र नेपाल दुई देशका व्यक्तिहरुको संलग्नता रहेको पाइएको छ । लागूपदार्थको तस्करी गर्ने यो गिरोहले विद्यालय पढ्ने किशोरकिशोरीदेखि कलेज पढ्ने युवालाई लतमा पारेर बिक्री गर्ने गरेका छन् । “कञ्चनपुरमा लागूपदार्थको प्रयोग बढ्दो रहेको छ”, प्रहरी निरीक्षक बोहराले भने, “लागूपदार्थको कारोबार गर्नेहरू ठूलो सङ्ख्यामा पक्राउ परिरहेका छन् ।”

खुला सीमानाका कारण सीमावर्ती भारतीय बजारबाट ब्राउन–सुगरलगायत लागूपदार्थ ल्याउन सजिलो छ । लागूपदार्थको खुला प्रयोगले विद्यालय पढ्नेदेखि कलेजका विद्यार्थी र युवा लागूऔषध प्रयोगमा फसेर बर्बाद हुने गरेका छन् । प्रहरीले लागुपदार्थ प्रयोग गर्ने र बोक्नेलाई पक्राउ गरे पनि कारोबार गर्ने गिराहका मुुख्य व्यक्तिलाई हालसम्म पक्राउ पर्न सकेका छैनन् । 

लागूऔषधको कारोबारसम्बन्धी जानकार एक युवाले भने, “कारोबार गर्ने गिरोहका मुख्य व्यक्तिलाई पक्राउ नगरेसम्म भयावह रूपमा बढिरहेको लागूऔषधको प्रयोग कम हुने देखिँदैन ।”

“लागूपदार्थको बढ्दो प्रयोगले असुरक्षा र अपराध बढ्दै गएको पाइन्छ”, प्रहरी निरीक्षक बोहराले भने, “लागूपदार्थ प्रयोगकर्ता आफ्नो लागेको लत पूरा गर्न लागुऔषध किन्ने पैसाका लागि जस्तोसुकै अपराध गर्न पनि तयार हुन्छन् ।” रासस 
 


Author

थप समाचार
x