अपराध

काठमाडाैँ उपत्यका बन्याे चिनियाँ नागरिककाे अपराधिक अखडा

एकै दिन दुई चिनियाँसहित १ सय १७ जना पक्राउ

सन्दिप कुमार बैश्य |
फागुन १०, २०७८ मंगलबार १९:५० बजे

काठमाडाैँ – काठमाडाैँ उपत्यकाबाट उपत्यकाबाट दुई चिनियाँसहित १ सय १७ जना पक्राउ परेका छन् । काठमाडाैँकाे पुरानो बानेश्‍वरबाट एक चिनियाँसहित ३७ जना र भक्तपुरकाे सानोठिमीबाट एक चिनियाँसहित ८० जनालाई पक्राउ गरिएकाे महानगरीय प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) हरी बहादुर पालले बताए ।

उनका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले गएराति नयाँ बानेश्वरको एक घरमा छापा मारी एक चिनियाँसहित ३७ जनालाई पक्राउ गरिएकाे हाे । पुरानाे बानेश्वरबाट पक्राउ परेकामा नेपाली युवा युवती पनि रहेका छन् । पक्राउ परेका मध्ये २४ पुरुष १३ महिला रहेका छन् ।


महानगरीय प्रहरी परिसर काठमाडाैँका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले पुरानो बानेश्‍वरस्थित एक घर भाडामा लिई सिन्धुली घर भई हाल ललितपुर महालक्ष्मी–७ बस्ने दीपक श्रेष्ठको नाममा लेमन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिक चाङ हुइ बाओले विभिन्न एप्लिकेसनमार्फत ठगीकाे सञ्जाल चलाइरहेकाे बताए । 

दुई महिना पहिले आएका चिनियाँ नागरिकले नेपाली श्रेष्ठको नाममा उक्त कम्पनी खोलेका थिए। उनलाई कम्पनीको एचआर म्यानेजर बनाइएको थियो। पुरानाे बानेश्वरमा स्थापना भएको कम्पनीले दैनिक ६ करोड रुपैयाँसम्म कारोबार गरेको अनुसन्धानबाट खुलेकाे छ ।

त्यहाँ काम गर्ने नेपाली युवायुवतीले १६ देखि १८ हजार रुपैयाँ तलब पाएका थिए। अरु रकम सिधै चिनियाँ नागरिकको खातामा जम्मा हुने गरेको थियो। नेपालीलाई तलव दिनका लागि उनले मेगा बैंकमा खाता खोलेको अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ ।

भारतीयलाई ६ वटा एप्लिकेशन मार्फत ऋण दिने र ७ दिनभित्रमा ऋण तिर्नु पर्ने भन्दै ठगी गरेको खुलेको हो। उनले भने,'ती एप्लिकेसनमार्फत गैर कानुनी तवरले 'लाेन स्क्याम' गरी ती चिनियाँ नागरिकले ठगी गरेका हुन् ।' प्रहरीले उक्त कम्पनीबाट कल बाइपासमा प्रयोग हुने उपकरणहरूसमेत बरामद गरेको छ । उक्त कम्पनीबाट ४ थान ल्यापटप र २ थान माेबाइलसमेत प्रहरीले बरामद गरेकाे उनले बताए ।

उक्त घटनाका सम्बन्धमा बैंक तथा वित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडाैँबाट ५ दिनको म्याद अनुमति लिई प्रहरी बृत्त नयाँ बानेश्‍वरबाट थप अनुसन्धान भई रहेको उनले बताए ।

त्यस्तै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी राजु पाण्डेले सानोठिमी स्थित रहेकाे ३ तले घरमा गैरकानुनी कार्य भइरहेकाे गाेप्य सूचनाकाे आधारमा प्रहरीले छापा मार्दा १ जना चिनिया नागरिकसहित ८० जनालाई पक्राउ गरिएकाे बताए ।

उनीहरुलाई प्रहरीले अवैध कल सेन्टर सञ्चालन गरेकाे आराेप पक्राउ गरेकाे हाे । चिनियाँ नागरिक वान्ग्जिनाओसहित नेपाली युवायुवती पक्राउ परेका हुन् । वान्ग्जिनाओ केही समयदेखि सन सिटी अपार्टमेन्टमा बस्दै आइरहेका थिए । 

डीएसपी पाण्डेका अनुसार भारतीय मुलका युवायुवतीहरुलाई छोटो समयको लागि कुनै सिस्टममार्फत सानो सानो मात्रामा ऋण लगानी गरी उक्त ऋणको निश्‍चित ब्याजसहित तोकिएको समय भित्र उठाउन ऋणीहरुलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने गरेका थिए ।

ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य सञ्चालन गर्न नेपाली युवा युवतीहरु प्रयोग गर्ने गरेकाे पाइएकाे महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।

उनका अनुसार कल सेन्टर सञ्चालन गर्न प्रयोग भएका उपकरणहरुसमेत बरामद गरिएकाे छ । उनले डेस्कटप कम्प्युटर १४ थान, ल्याप्टप ४८ थान र आइप्याड २ थान बरामद गरिएकाे बताए ।

दुई वर्षअघि पनि राजधानीबाट १ सय २० चिनियाँ नागरिकहरू गैरकानुनी रुपमा बसी अपराध गरेको कसुरमा पक्राउ परेका थिए । उनीहरूलाई अध्यागमन विभागले जरीवाना तिराएर चीन ‘डिपोर्ट’ गरेको थियो ।  


Author

सन्दिप कुमार बैश्य

बैश्य इकागजका संवाददाता हुन् ।


थप समाचार
x