कूटनीति

न्याय क्षेत्रमा सहकार्य गर्न नेपाल र चीन सहमत

इकागज |
कात्तिक १६, २०८० बिहीबार २०:६ बजे

काठमाडौँ- जिनजियाङको काशगरमा भएको ‘पहिलो चीन (कास्गर)–मध्य एसिया र दक्षिण एसिया कानुनी मञ्च’ मा सहभागी भई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बेइजिङ पुगेको छ । 

बेइजिङमा उत्रिएलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले प्रधानन्यायाधीश तथा जनवादी गणतन्त्र चीनको सर्वोच्च जन अदालतका अध्यक्ष झाङ जुनसँग भेटवार्ता गरेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । 


त्यस अवसरमा दुवै देशका प्रधानन्यायाधीशबीच न्याय सेवाका विभिन्न विषयमा छलफल भएको थियो । नेपाल र चीनबीचको लामो समयदेखिको सुखद द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै दुवै पक्षले न्यायपालिकाका क्षेत्रमा सहयोग र सहकार्यलाई प्रवर्द्धन गरी आपसी सम्बन्धलाई थप मजबुत बनाउन सहमति जनाएका थिए ।

प्रधानन्यायाधीश श्रेष्ठले न्याय सेवाको क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा चीनले गरेको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै दुई देशबीच ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासको आदानप्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानन्यायाधीश नेतृत्वको प्रतिनिधिमण्डल भोलि शुक्रबार काठमाडौँ फर्कने कार्यक्रम छ । रासस


Author

थप समाचार
x