कूटनीति

नेपालप्रतिको इजरायली प्रेम बीपी `फ्रेम´मा सजिएपछि...

चन्द्रशेखर अधिकारी |
जेठ २०, २०७८ बिहीबार ८:३२ बजे

काठमाडौँ : धेरैले बिर्सिसकेका थिए, बीपी कोइराला प्रधानमन्त्री भएको दिन । तर, नेपालका लागि इजरायली राजदूत हनान गोडेरले भुलेनन् । उनी त्यस दिन बीपी कोइरालाको संग्रहालय पुगे । २७ मे १९५९ मा बीपी प्रधामन्त्री भएका थिए । उनले त्यसको एक वर्षपछि इजरायलसँग औपचारिक सम्बन्ध स्थापना गरेका थिए । इजरायललाई यसरी मान्यता दिन बेलायतबाट मुक्त भएको भारतले समेत अस्वीकार गर्दा नेपाल एक तहमाथि उठेको थियो ।‍

उनले संग्रहालयमा पुगेर बीपीको इजरायल भ्रमणबारे छापिएको पुरानो पत्रिका फ्रेममा राखेर म्युजियमका निर्देशक परशुराम पोखरेललाई बुझाए । इजरायली राजदूत गोडेरले नेपाल-इजरायल सम्बन्धको आधार तयार गर्न बीपी कोइरालाले निर्वाह गरेको भूमिका अतुलनीय रहेको स्मरण गर्दै ‘सानो तर ऐतिहासिक चिनो’का रुपमा उक्त फ्रेम हस्तान्तरण गरे ।


हनानले नेपालको बयान गर्दै बीपी जस्ता महान् व्यक्तिको नाममा रहेको संग्रहालयमा पुगेर उहाँको सालिकछेउ उभिएर तस्बिर खिचाउन पाउँदा फुरुङ्ग भएको अनुभूति बाँडे ।

उनी बीपीका नाति श्रेयस कोइरालाका साथमा संग्रहालय पुगेका थिए । नेपालका तत्कालीन प्रधानमन्त्री कोइराला र इजरायलका तत्कालीन प्रधानमन्त्री डेविड बेन गुरिअनले १९६० जुन १ मा स्थापित गरेको सम्बन्धले ६१ औँ वसन्त पार गरेको हो ।

दुई मुलुकबीचको पुरानो सम्बन्ध चानचुने नभएको भन्दै राजदूत गोडेरले भने, ‘बीपी प्रधानमन्त्री भएको दिन इजरायलले भुल्न सक्दैन । किनभने उहाँकै कार्यकालमा नेपाल-इजरायल सम्बन्ध स्थापित भएको हो ।’ 

नेपालले इजरायलसँग जतिबेला मित्रताको हात फैल्यायो, त्यो समय भारत-इजरायल सम्बन्ध स्थापित भएकै थिएन । नेपालको त्यस्तो आँटप्रति इजरायलीहरू कृतज्ञ हुन्छन् । नेपालले त्यसबखत इजरायललाई मान्यता दिँदा दक्षिण एसियाको राजनीतिक भूगोल नै फरक थियो । त्यो समयमा हालको बंगलादेश पूर्वी पाकिस्तानका रुपमा थियो ।

हनानले नेपालको बयान गर्दै बीपी जस्ता महान् व्यक्तिको नाममा रहेको संग्रहालयमा पुगेर उहाँको सालिकछेउ उभिएर तस्बिर खिचाउन पाउँदा फुरुङ्ग भएको अनुभूति बाँडे । सिमसिमे पानी झेल्दै, बीपी सम्झिँदै आफू संग्रहालयतिर सोझिएको बताए ।  

काठमाडौँमा दोस्रो पटक राजदूतको रुपमा आएका गोडेर यहाँ सक्रिय राजदूतका रुपमा परिचित छन् । ६१ वर्ष लामो नेपाल-इजरायल सम्बन्ध स्मरण गर्दै उनले दुई मुलुकबीच ज्ञान, प्रविधि र अनुभव आदनप्रदान गर्नुपर्नेमा जोड दिए । कृषि प्रधान भनिएको मुलुक नेपाललाई इजरायलले आवश्यकिय कृषि प्रविधिमा सहयोग गर्ने तत्परता पनि गोडेरले व्यक्त गरे । 

राजदूत गोडेरले नेपाल र इजरायलबीचको सम्बन्ध अरुभन्दा पृथक रहेको बताउँदै सम्बन्धलाई थप सुदुढ हुनुपर्नेमा जोड दिँदै आएका छन् । दुवै मुलुकका साझा चुनौती सामना गर्दा सहकार्य गर्न सकिने धारणा व्यक्त गरे । 

कूटनीतिक सम्बन्ध स्थापना भएको एक वर्ष नबित्दै इजरायलले काठमाडौँमा दूतावास स्थापना गर्‍यो । इजरायलले पछिल्लो समय मितव्ययी कूटनीति अवलम्बन गर्ने क्रममा दूतावासको संख्या कटौती गर्दा पनि नेपालमा भने उसको नियोग यथावत छ । ६१ वर्ष अगाडि लाजिम्पाटमा स्थापना भएको दूतावास अहिले पनि सोही स्थानमा छ ।

पछिल्लो समय नेपाल प्यालेस्टाइनको पक्षमा उभिँदै जेरुसेलमलाई राजधानी बनाउने विषयमा विमति राख्दै आएको छ । जसका कारण इजरायल नेपालप्रति अलिक चिन्तित छ । यसअघिका इजरायली राजदूतले पटक पटक भनेका थिए, ‘नेपाल इजरायलको पक्षमा उभिन सक्दैन भने तटस्थ किन नबसेको ? हाम्रो प्रश्न यो हो । तर नेपालले हाम्रो प्रश्‍नको चित्तबुझ्दो जवाफ दिन सकेको छैन ।’ 

गत वर्ष नेपाल र इजरायलका प्रधानमन्त्रीबीच टेलिफोन कुराकानी भएको थियो । तर यस वर्ष इजरायल आन्तरिक राजनीति र प्यालेस्टिन सशस्त्र समूह हमाससँगको भिडन्तमा फसेकाले औपचारिक सम्झनाको साइत जुरेन । हुन त नेपाल आफै पनि आन्तरिक राजनीतिक किचलोमै व्यस्त छ । 

नेपाल र इजरायल दुवैले आपसी सम्बन्धलाई सुमधुर र अब्बल मान्दै आएका छन् । पछिल्लो समय नेपाल प्यालेस्टाइनको पक्षमा उभिँदै जेरुसेलमलाई राजधानी बनाउने विषयमा विमति राख्दै आएको छ । जसका कारण इजरायल नेपालप्रति अलिक चिन्तित छ ।

यसअघिका इजरायली राजदूतले पटक पटक भनेका थिए, ‘नेपाल इजरायलको पक्षमा उभिन सक्दैन भने तटस्थ किन नबसेको ? हाम्रो प्रश्न यो हो । तर नेपालले हाम्रो प्रश्नको चित्तबुझ्दो जवाफ दिन सकेको छैन ।’ 

द्विपक्षीय र बहुपक्षीय मञ्चमा दुवै मुलुकको बढ्दो सहभागिता, जनस्तरमा कायम सम्बन्ध र आपसी सहयोगबारे इजरायल खुसी नै छ । इजरायलले विज्ञान तथा प्रविधिको क्षेत्रमा उल्लेख्य फड्को मारेको छ, जसबाट नेपालले फाइदा लिनसक्छ । राजदूत गोडेरका अनुसार इजरायलमा रहेका नेपाली नागरिकलाई दुई मुलुकबीचको सम्बन्धको सेतुको रुपमा लिन सकिन्छ  ।

इजरायल पुगेका नेपाली नागरिकमध्ये कोही कृषिकर्ममा छन् भने कोही ‘केयर गिभर’का रुपमा सक्रिय छन् । त्यस्तै सानो संख्या अध्ययनमा संलग्न छन् । समग्रमा इजरायल नेपाल र नेपालीप्रति सन्तुष्ट छ । 

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले इजरायललाई मान्यता मात्र दिएनन्, सोही वर्ष त्यहाँको औपचारिक भ्रमण पनि गरे । सम्बन्धको सुरुवात बलियो तवरमा भएकाले नै इजरायल सरकारले नेपाली युवालाई कृषि, स्वास्थ्यजस्ता अत्याधुनिक प्रविधिहरूमा विश्वविद्यालय तहको शिक्षालगायत अल्पकालीन व्यावसायिक तालिम दिइरहेको छ । झण्डै २० वर्ष अघिदेखि ‘केयर गिभर’को रुपमा कामदार लैजाने गरेको इजरायलयले पछिल्लो समय नेपालबाट त्यस्ता कामदार लिन छाडेको छ । 

बिचौलियाले नेपाली कामदारसँग अत्यधिक रकम लिएर पठाएको थाहा पाएपछि उसले यस्तो कठोर  निर्णय लिएको हो । बीचमा एक सय भन्दा बढी कामदार सरकारी समन्वयमा गए । तर सन् २०१२ यता नेपाली कामदार सहज रुपमा इजरायल जान पाएका छैनन् । राजदूत गोडेरले कामदार भिसा खुलाउन आवश्यक भूमिका खेलिरहेका छन् तर उनको सक्रियताले मूर्त रुप लिन सकेको छैन ।   

कामदार लैजाने कुरा चलिरहँदा इजरायल आफ्नै पुरानो समस्या फसेको छ । इजरायल र हमासबीच एक साता भन्दा बढी चलेको भिडन्त रोकिएपनि राजनीतिक संकट टरेको छैन । यस्तोमा इजरायली राजदूत गोडेर बीपी संग्राहलय पुगेका हुन । जहाँ उनले नेपाल-इजरायल सम्बन्धको गौरबशाली इतिहासको स्मरण गरे । त्यसैक्रममा उनले ‘आतंकवादी समूह’ हमासका कारण इजरायलमा ११ दिन अशान्ति भए पनि इजरायली सरकार आफ्ना नागरिक तथा आप्रवाशी कामदारको सुरक्षामा प्रतिबद्ध रहेको बताए । 

आफ्नो मुलुकले हमासलाई स्वीकार गर्न नसक्ने बताउँदै इजरायल प्रत्याक्रमण गर्न बाध्य भएको बताए । हमाससँगको भिडन्तमा निर्दोष मानिस नपरुन् भन्‍नेमा इजरायल सधैँ सचेत रहेको र त्यस्तो पर्न गएको भए क्षमासमेत मागेको दृश्य टेलिभिजनमा नै देखिएको थियो । 

हमासले इजरायलको नामोनिशान मेटाउने उद्देश्य राखेर आतंककारी गतिविधि गरिरहेको तर इजरायललाई स्वीकार्य नहुने बताउँदै आएका छन् । इजरायलले निकै कठिन दिनको सामना गरेको देखिन्छ, उसको विगत नियाल्दा । हुन पनि इजरायलले आफैँले आक्रमण गरेको छैन । उसले प्रत्याक्रमण मात्र गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा लेखिएको हुन्छ ।  

अफठ्यारो अवस्थामा नेपालले दिएको ढाडसलाई उच्च महत्व दिनु कोइरालाप्रतिको सम्मान त हुँदै हो, इजरायल आफैँले पनि आफ्नो विगत सम्झिनु हो ।

त्यसैले कर्म आफैँ गर्न पर्ने सुझाव दिँदै त्यसका लागि सहयोग गर्न इजरायल तयार रहेको राजदूत गोडेरले बताउँदै आएका छन् । नेपाल भित्र इजरायलले ग्रामीण भेगमा ‘सिकौँ र रोजगार हौँ’ भन्‍ने कार्यक्रम पनि सञ्चालन गरेको छ । जसका कारण त्यहाँका नेपालीको जीवनस्तरमा निकै परिर्वतन आएको छ । नेपालको कतिपय भागमा राजदूत स्वयं पुग्‍ने गरेका छन् । अनि उनी भन्छन्- नेपाल र इजरायलबीच केही समानता छन्ः दुवै मुलुक साना छन् र ठूलाबाट घेरिएका छन् ।

राजदूत गोडेर नेपालसँगको ऐतिहासिक र मिल्दोजुल्दो भूगोल कारण पनि सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिन्छन् । नेपालका प्रमथ जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई सम्झिँदै राजदूतले फ्रेमसहित संग्रहालयमा पाइला टेक्नुले अन्तर्राष्ट्रिय राजनीतिमा नेपालको महत्व रहँदै आएको सन्देश दिन्छ । अफठ्यारो अवस्थामा नेपालले दिएको ढाडसलाई उच्च महत्व दिनु कोइरालाप्रतिको सम्मान त हुँदै हो, इजरायल आफैँले पनि आफ्नो विगत सम्झिनु हो ।


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x