कूटनीति

उपप्रधानमन्त्री लामिछाने र विश्व बैंकका देशीय निर्देशकबीच शिष्टाचार भेट

इकागज |
चैत १९, २०८० सोमबार १९:१८ बजे

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसबीच शिष्टाचार भेटघाट भएको छ ।

आज गृह मन्त्रालयमा भएको भेटमा जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन भइरहेका ठूला जलविद्युत् परियोजनाबाट हुन सक्ने विपद् जोखिमलाई दृष्टिगत गर्दै विस्तृत विपद् जोखिम न्यूनीकरण परियोजना र तिनै तहका सरकारका संस्थागत क्षमता विकासमा सहयोग गर्न इच्छुक रहेको बताए । उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनले विश्व बैंकले सामाजिक संरक्षण, ‘डिजिटलाइजेसन’ तथा विपद् व्यवस्थापन समेतका क्षेत्रमा सहयोग गर्न पाएकाप्रति खुसी अभिव्यक्त गरे ।  


उपप्रधान तथा गृहमन्त्री लामिछानेले विश्व बैंकले नेपाललाई भूकम्पपश्चात् पुनःनिर्माण, सामाजिक संरक्षण, विपद् व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगका लागि आभार प्रकट गरे । उनले नेपाल र विश्व बैंकबीच हुने सहकार्यलाई सहज एवं प्रभावकारी बनाउन विगतमा भए/गरेका समझदारीपत्र, सम्झौता, प्रतिबद्धता तथा संवादको पुनरावलोकन गर्दै आगामी दिनमा सबल र प्रभावकारी सहकार्य हुने विश्वास व्यक्त गरे ।

मन्त्री लामिछानेसँग आजै संयुक्त राष्ट्र सङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोग (युएनएचसिआर) का देशीय प्रतिनिधि क्यारोलिन स्पान्नथबर्माले पनि शिष्टाचार भेटवार्ता गरे । 

उपप्रधान तथा गृहमन्त्री लामिछानेले नेपालको शरणार्थी मामिलालाई व्यवस्थित गर्न युएनएचसिआरले विभिन्न समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले शरणार्थी मामिलाका सन्दर्भमा आइ पर्ने विभिन्न विषयमा परस्पर समन्वय र सहकार्य गर्न मन्त्रालय सधैं तयार हुने प्रतिबद्धता गरे । 

बर्माले मन्त्री लामिछानेलाई बधाई तथा नयाँ कार्यकालको शुभकामना दिँदै लामो समयदेखि युएनएचसिआर र गृह मन्त्रालयबीच शरणार्थी मामिलाका सम्बन्धमा सौहार्दपूर्ण समन्वय र सहकार्य हुँदै आएकामा खुसी पनि व्यक्त गरे । उनले आगामी दिनमा अझ सबल र प्रभावकारी सहकार्य हुने विश्वास प्रकट गरे ।


Author

थप समाचार
x