कूटनीति

'नाकाबन्दी र भूराजनिती' पुस्तक ल्याउँदै कमल थापा

इकागज |
भदौ २, २०८१ आइतबार १३:० बजे

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री कमल थापाको ‘नाकाबन्दी र भूराजनीति- कुटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक पुस्तक प्रकाशित हुने भएको छ।  पुस्तक भदौ १० गते कृष्ण जन्माष्टमीका दिन सार्वजनिक गर्ने गरि तयारी गरिएको जनाइएको छ ।

थापाले पुस्तकलाई ६ खण्डमा बाढिएको र परराष्ट्रसम्बन्धी विभिन्न घटनाक्रमलाई उल्लेख गरिएको बताए । पुस्तकमा एकीकृत महाकाली सन्धि तथा २०७२ सालमा देशको नयाँ संविधान जारी भएपछि परराष्ट्रमन्त्रीका रूपमा थापाले निर्वाह गरेको भूमिका र त्यसैको सेरोफेरोमा रहेर आफ्ना अनुभूति अभिव्यक्त गरेका छन् ।


पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले सन् १९५० को शान्ति तथ मैत्री सन्धि तथा त्यसयता विकसित दुई देशबीचको सम्बन्धका विविध आयामलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए । विशेषगरी नाकाबन्दीका समयमा भएका घटनालाई थापाले इमान्दारीपूर्वक पुस्तकमा प्रस्तुत गरेको र लामो किसिमबाट विषयवस्तुलाई नतन्काएको पनि उनले उल्लेख गरे । सीमा समस्या, चीनसङ्गको सम्बन्ध, विभिन्न राष्ट्रप्रमुखहरूसँगको भेट  लगायतका विषयवस्तुलाई पुस्तकमा समावेश गरिएको उनले जानकारी दिए ।

उक्त पुस्तक आत्मकथा नभएको पनि थापाले स्पष्ट पारे। उनले मुलुकको भूराजनीति, सुरक्षा एवं सामरिक मामिलामा नेपाल र भारतबीच अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिए ।

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन परम्परागत परिभाषा परिमार्जनको आवश्यकता औंल्याउँदै लेखक थापाले आपसी सम्बन्धलाई नयाँ शिराबाट समीक्षा गर्नुपर्ने बताए । लेखक थापा तत्कालीन प्रधानमन्त्रीत्रय लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा परराष्ट्रमन्त्री थिए ।

थापाका यसअघि ‘कर्नेल छत्रबहादुर थापा : एक पटकको सैनिक जीवनभरको सैनिक’ र ‘द्वन्द्व व्यवस्थापन र चुनौती’ पुस्तक प्रकाशित छन् । पुस्तक सम्बर्धन पब्लिकेशन्सले प्रकाशित गरेको हो ।


Author

थप समाचार
x