दल

गणतन्त्र भ्रष्ट व्यवस्था र तस्कर तन्त्रमा रूपान्तरण भयाे : कमल थापा

इकागज |
फागुन ७, २०८० सोमबार १४:८ बजे

काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने दाबी गर्दै राज्य शक्तिको दुरुपयोग गरेर केही समय राजनैतिक विचार निषेध गरे पनि सधैँ निषेधित र समाप्त नहुने बताएका छन् ।

आज पार्टीद्वारा काठमाडौंमा आयोजित "त्रिभुवन जयन्ती ,प्रजातन्त्र दिवस तथा पार्टीको वार्षिकोत्सव"को अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट व्यवस्था र तस्कर तन्त्रमा रुपान्तरण भएको समेत टिप्पणी गरे ।


देशमा बामपन्थी विचारको वर्चस्व र हाबी भएको भन्दै विश्वभर असफल भएको व्यवस्था नेपालमा लाद्न खोजिनु दुर्भाग्यपूर्ण भएको भन्दै थापाले जनताको अभिमत बिना गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता लादिएको भन्दै आलोचना गरे। अर्बाैं खर्च गरेर योजनाबद्ध रुपमा नेपाली धर्म संस्कृति नष्ट गरेकोमा आपत्ति प्रकट गर्दै थापाले विकृत मान्यता र दर्शन बोकेर देश विकास हुन नसक्ने बताए। देश वैचारिक र संरचनागत त्रुटीको दलदलमा भासिएको भन्दै थापाले कुनै पनि सरकारले पूर्ण कार्यकाल काम गर्न नसकेको बताए ।

२०८४ को चुनाव अगावै हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको लागि आन्दोलन गर्नुपर्नेमा जोड दिँदै थापाले विचार मिल्नेहरू सबैले मोर्चा निर्माण गरि अगाडि बढ्नु पर्ने आवश्यकता समेत औंल्याए । वैकल्पिक विचार र शक्ति निर्माण गर्न राप्रपा नेपाल बलियो हुनुपर्ने तर्क गर्दै थापाले सम्पूर्ण नेता कार्यकर्ताहरूलाई संगठन केन्द्रित हुनु आग्रह गरे ।

कार्यक्रममा नेताहरु विष्णु भट्टराई , राजाराम बर्तौला, माधव खत्री ,हिक्मतजङ्ग भण्डारी  सुनिता कुरुङ्वाङ, श्याम घिमिरे लगायतले बोलेका थिए ।


Author

थप समाचार
x