राजनीति

कमल थापाको नेतृत्वमा मन्त्री किरातीको पुत्ला दहन

इकागज |
पुस ८, २०८० आइतबार १७:५२ बजे

भक्तपुर- राप्रपा नेपाल भक्तपुरले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको पुत्ला दहन गरेको  छ ।

९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मावलम्बीहरूको आस्था र विश्वासमाथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हुन् । मन्त्री किरातीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।


भक्तपुरको मध्यपुर ठिमीमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता बिष्णु भट्टराईले मन्त्री किरातीको चर्को विरोध गर्दै तत्काल बर्खास्त गर्नुपर्ने माग गरे ।

कार्यक्रमअघिको बैठकमा बोल्दै अध्यक्ष कमल थापाले आन्दोलनको वातावरण निर्माण गर्न र व्यापक तयारीमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे । थापाले बृहत् मोर्चाको आवश्यकता औंल्याउँदै राष्ट्रवादी देशभक्त र प्रजातन्त्रवादी शक्ति एक ठाउँमा आएर संघीय गणतान्त्रिक भ्रष्ट व्यवस्थाको अन्त्य आवश्यक भएकोमा जोड दिए ।

पार्टीले आगामी पौष १६ गते भक्तपुरमा विरोध सभा गर्ने निर्णय गरेको छ ।


Author

थप समाचार
x