राजनीति

मन्त्री किरातीको प्रष्टीकरण : बहसका लागि धन्यवाद, सबैको अस्तित्व सम्मान गर्छु

इकागज |
पुस ५, २०८० बिहीबार १५:१३ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो विवादास्पद अभिव्यक्तिबारे प्रष्टीकरण दिएका छन् । 

बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री किरातीले ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो र क्रिश्चियनको विरोध गर्नेलाई हतकडी लगाउने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर संसदीय समितिदेखि सामाजिक सञ्जालमार्फत मन्त्री किरातीको विरोधसहित मन्त्रीबाट बर्खास्त गरेर कानुनी कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ । 


चौतर्फी आफ्नो अभिव्यक्तिको विरोध भएपछि बिहीबार सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिँदै मन्त्री किरातीले आफू सबैको धर्मको अभिभावक रहेको र सबैको अस्तित्वको सम्मान गर्ने बताएका हुन् । 

आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण दिँदै फेसबुकमा उनले लेखेका छन्:

 बहसको लागि सबैलाई धन्यवाद !
संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो, 
भन्नलाई त मलाई; 
पशुपतिनाथ सफा गर्दा हिन्दु भने,
बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने,
मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने,
क्रिश्चियनको कार्यक्रममा जाँदा क्रिश्चियन भने,
फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गराँै । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।  

 


Author

थप समाचार
x