रोग र उपचार

क्यान्सर उपचार गर्न भारत पुगेका एक नेपालीको खर्च एक करोड !

अतिन आचार्य |
असार २९, २०७९ बुधबार ८:४८ बजे

काठमाडौँ- नेपालबाट भारतमा उपचारका लागि जाने बिरामीले उपचारमा कति खर्च गर्छन् ? तपाई हाम्रो अनुमान १, २, ५ वा १० लाख रुपैयाँ हुनसक्छ । तर, यो अन्दाज कतिपयका हकमा नमिल्न पनि सक्छ । 

धेरै बिरामीमध्ये भारतमा उपचार गर्नेले महिनामै करोडौँ रकम खर्च गर्ने गरेका छन् । उपचार गराउन जाने अधिकांश गम्भीर प्रकृतिका बिरामीहरू हुन्छन् । स्वभावैले नेपालमा उपचार सम्भव नहुने र मँहगो पर्ने भएकाले बिरामीहरू उपचारका लागि भारत जाने गर्छन् ।


खुला सीमा, भाषा सहजै बुझ्न सक्ने र केही सस्तो पर्ने भएकाले उपचार गर्न भारत जान्छन् । हरेक दिन सीमामा र जहाजबाट उपचार गर्न भारतका विभिन्न अस्पतालतर्फ गइरहेको भेटिन्छन् ।

अझ रोचक पक्ष भारतका ठूला-ठूला अस्पतालका सञ्चालक तथा कर्मचारीहरू उत्कृष्ट सेवा दिने भन्दै काठमाडौँमा आएर विज्ञापनसमेत गरेर जान्छन् । केही समय अघि मात्र एपोलो अस्पतालले मुटु र फोक्सोको प्रत्यारोपण गर्ने सुविधा दिने भनेर कार्यक्रम गरेको थियो ।

उनीहरू गम्भीर प्रकृतिका बिरामी खोज्दै आउँछन् । उपचारका लागि लाखौ रुपैयाँ बाहिरिने गरेको छ । स्वदेशमा सुविधा सम्पन्न अस्पताल र भरपर्दो सेवा दिन सक्ने भए उपचारका लागि बाहिर धाउन बाध्य हुने थिएनन् ।

त्यसो त नेपालकै नेताहरू भारतका ठूला-ठूला अस्पतालमा उपचार गर्न जान्छन् । उनीहरूको ध्यान भएका अस्पतालमा दक्ष जनशक्ति र उपकरणको व्यवस्था गर्नमा जाँदैन । केही समयअघि मात्र पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतमा मिर्गौला प्रत्यारोपण गरेर आएका थिए । नेताहरू नै भारत, थाइल्याण्ड तथा सिंगापुरका चर्चित अस्पतालमा उपचारका लागि जाने गरेका छन् ।

नेपालबाट विशेष गरी क्यान्सर, मुटु, फोक्सो तथा मिर्गौलाका बिरामीहरू उपचारका लागि भारत जाने गरेका छन्।  सस्तो मूल्यमा उपचार र विज्ञ चिकित्सक पाइने आशामा उनीहरू भारत जान्छन् । तर, त्यहीँ सुविधाहरू नेपालका अस्पतालमा राख्‍न कहीँ कतै आवाज उठाउँदैनन् ।

अहिले पनि मुलुकभरका विभिन्‍न ठाउँमा रहेका सरकारी अस्पतालमा सेवाग्राहीले गुणस्तरीय सेवा पाउने अवस्था छैन । अस्पतालमा गम्भीर प्रकृतिका रोगको उपचार सम्भव छैन । धेरै जना बिरामीहरू भारतका निजी तथा सरकारी अस्पतालमा जान बाध्य छन् ।

नेपालमा भएका सरकारी अस्पतालले विशेष सुविधा दिएर उपचार दिन्थे भने दैनिक सीमा पारिका अस्पतालमा नेपाली बिरामी भेटिँदैन थिए । अस्पताल छ ,उपकरण र दक्ष जनशक्ति छैनन् । भएका सरकारी अस्पतालमै आवश्यकता अनुसार दरबन्दी छैनन् ।

भारतमा नेपालबाट गएका केही यस्ता बिरामीहरू पनि भेटिएका छन् । जसले क्यान्सर जस्तो गम्भीर प्रकृतिका रोगको उपचारका लागि करोडौँ रकम खर्चेका छन्।

 

मेडिकल अंकोलोजिस्ट डा. प्रकाश थपलियाले एक बिरामीले क्यान्सरको उपचार गर्न १० महिनामा १ करोड रुपैयाँ खर्च गरेको बताए । उनले भने, 'मैले भेट्दा उनको क्यान्सर अनियन्त्रित थियो । उहाँले ३ लाख भारू पर्ने एक डोज औषधि लिइ रहनुभएको थियो ।'

बिरामीको परिवारलाई आर्थिक बोझ नपर्ने सल्लाह गरी घर पठाएको उनले बताए । उनले प्रश्‍न गर्दै भनेका छन,' नेपालबाट भारतमा जाने क्यान्सर बिरामीले गर्ने खर्च, यात्रा र बसाइको झमेला इत्यादि सम्बन्धित कुनै आँकडा वा सामान्य अनुमान छ होला ?'

उनको भनाइअनुसार सामान्य बिरामीले भारतमा उपचार गर्न जाँदा लाखौँ रुपैयाँ खर्च गरेको देखिएको छ । उपचार गर्दा बस्नुपर्ने समय, यात्रा र बिरामीले गर्ने खर्च भारी मात्रा हुने गरेको छ । बिरामी तथा आफन्तले अपेक्षा गरे भन्दा बढी खर्च हुने गरेको छ ।

त्यसैगरी, डा. प्रभात अधिकारीले भारतका चर्चित अस्पतालमा ४० प्रतिशत नेपाली बिरामीहरू हुने गरेको बताए । 'नेपालमा सजिलै हुन सक्ने परीक्षण भारतको प्रयोगशालामा पठाउने गरिएको छ,' उनले भने,' सबै मिलेर काम गर्न सकेमा एक वर्षमा अहिले चलिरहेको व्यवस्थालाई सहजै फर्काउन सकिन्छ ।'

नेपालमा हुन सक्ने परीक्षणहरू भारतमा पठाउने काम गैरकानूनी रहेको उनको भनाइ छ । उनले आश्चर्य मान्दै अगाडि थपे,' नेपाल सरकारले यो सबै कामको अनुगमन र कार्यान्वय गरिरहेको छ । हाम्रो अगाडि विदेशी प्रयोगशालाहरूका लागि नमूना संकलन भइरहेको छ ।'

सर्जन डा. निर्मल लामिछानेले क्यान्सरको उपचारका गर्न सुरुदेखि अधिकतम दिन मिल्ने समय तोक्नुपर्ने बताएका छन् । रोगअनुसार समय तोकेर थप उपचार प्रक्रिया बढाउन सकिने उनले सुझाव दिए ।

उनले समयमा उपचार गरौ र यसका लागि रणनीति पत्रमा लेखौँ भन्दा मानव अधिकार हनन् हुन्छ भन्ने प्रबुद्ध वर्ग रहेको बताए । लामिछानेले भने,' आजको भोलि उपचार सुरु हुनु पर्छ, नसके भारत रिफर गर्नु पर्छ भन्ने प्रबुद्ध वर्ग छ ।'

लेखक तथा कवि सीमा आभासले अस्पतालमा उपचार गर्न जाँदा कसैलाई गुहार्न नपर्ने धारणा राखेकी छन् । अस्पतालमा उपचारकै क्रममा मृत्यु भएमा वा निस्कँदा बिल तिर्नका लागि डिस्काउन्ट गर्ने मानिस खोज्न नपर्ने उनले बताएकी छन् ।

उनले अस्पतालमा पहुँचवालाले लिने सुविधालाई लक्षित गर्दै भनेकी छन्,' ( पावर वाल) भेटे डिस्काउन्ट हुने र नहुनेलाई बिलले घाँटी कस्ने कामलाई पहिला सुधार गर्नु पर्छ ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x