रङ्गमन्च

मञ्चमा छोराछोरी र दर्शकतिर आमाबाबु

इकागज |
बैशाख २१, २०८० बिहीबार १४:८ बजे

काठमाडौं - बालबालिकाहरुले विभिन्न नाट्य प्रस्तुति मञ्चन गर्दै नवौं लिटल थिएटर गराजः बालबालिकाका लाथि अभिनय तथा नाट्य कार्यशाला सम्पन्न भएको छ । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनले वार्षिक रुपमा आयोजनामा दुई साता लामो सञ्चालन भएको कार्यशालाको अन्तिम दिन अभिभावक र रङ्गप्रेमीहरुमाझ विशेष कार्यक्रम गर्दै समापन गरिएको हो । 

सपापन विशेष कार्यक्रममा सहभागी बालबालिकाले कार्यशालाका दौरान तयार पारेका नाट्य प्रस्तुतिलाई मञ्चन गरेका थिए । जसमा पपेटमार्फत कथा–कथन देखि उनीहरु आफैले तयार पारेको नाटक ‘सिन्डेरेला’ मञ्चन गरेका थिए । साथै मञ्चमै तत्कालै दिइएको विषयमा बालबालिकाहरुले युगल अभिनय गरेका थिए । 


बालबालिकाले खेल्ने ‘भाँडाकुटी’लाई आधार बनाएर सहभागी बालबालिकालाई नाट्य कला र सीपको साक्षात्कार गराएको मेन्टर तथा यस कार्यशालाका कला निर्देशक केदार श्रेष्ठले अभिभावकमाझ बताए । उनले भने, 'दुई सातासम्म बालबालिकाले थिएटरमा रमाइलो मात्र गरेनन्, उनीहरुले धेरै कुरा लिएर घर आउँदैछन् । आफ्ना छोराछोरीलाई स्वागत गर्न तयार रहनुस् ।'

त्यस्तै कार्यशाला संयोजक इलिना नकर्मीले हरेक वर्ष बालबालिकाको उत्साहमय सहभागिता, र्काशालाले उनीहरुको मुहारमा खुशी भर्न सकेकोमा आफू पनि खुशी भएको बताइन् । त्यस्तै नेपाल जापान बाल पुस्तकालयका सपना शर्मा तथा राराहिल स्कूलका प्रधानाध्यापक जगतबहादुर महर्जनले बालबालिकाको यस्तो कार्यशाला बिलकुलै नयाँ सोच रहेको बताउँदै कलामार्फत जीवनलाई सुन्दर बनाउन कार्यशालाको भूमिका रहेको उल्लेख गरे  ।

कलामार्फत उनीहरुको व्यक्तिगत र व्यक्तित्व विकासमा सघाउने उद्धेश्यका साथ ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि लिटल थिएटर गराज हुँदै आएको हो । गराजमा विशेषतः नाटक र अभिनयका साथमा कथावाचन, कथाकथन, पब्लिक स्पिकिङ, चित्रकला, पपेट निर्माण र पपेट कथाकथन, ओरिगामी, नृत्य, भ्वाइस एण्ड स्पिच, सिर्जनशील लेखन, सिर्जनशील सोच लगायतका विषयमा कार्यशालामा गतिविधिहरु भएका थिए । त्यस्तै कार्यशाला अन्तर्गत नै बालबालिकाहरुले पैदल यात्रा, वातावरण अध्ययन, सम्पदा भ्रमण तथा राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण पनि गरेका थिए । 

थिएटर गतिविधिहरु बढिरहेपनि बालबालिकाको लागि थिएटरका गतिविधि नभइरहेको अवस्थामा २०७१ मा सुरु भएको यो  कार्यशाला हरेक वर्ष चैत २० पछि हुने गरेको छ । कार्यशाला बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘आसितेज इन्टरनेशनल’को नेपाल सेन्टर आसितेज नेपालको सहकार्य तथा राराहिल मेमोरियल स्कूल कीर्तिपुर र नेपाल–जापान बाल पुस्तकालयको साथमा हुँदै आएको छ । लिटल थिएटर गराजको दशौँ संस्करण वि.सं. २०८० को चैत २२ मा हुने आयोजकले जनाएको छ । 


Author

थप समाचार
x