सम्पादकीय

सम्पादकीय

जहानियाँ गणतन्त्रका नेपाली राजापाक्षेहरू

इकागज |
असार २९, २०७९ बुधबार १७:४ बजे

चरम आर्थिक संकट झेलिरहेको मित्रराष्ट्र श्रीलंकामा आजबाट संकटकाल लागेको छ । श्रीलंकाका जनताले राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री रनिल विक्रमासिंघेविरुद्ध निरन्तर प्रदर्शन गर्दै राजीनामा माग्दै आएका छन् । राष्ट्रपति निवास, कार्यालय घेरेर त्यहाँका जनताले चर्काे नाराबाजी गरेपछि राष्ट्रपति राजापक्षे देश छाडेर भागेका छन् ।

सरकारी ढुकुटीमा लूट र अनावश्यक परियोजनामा विदेशीसँग ऋण लिएकै परिणतिस्वरूप राजापक्षेले देशमै रहन नसक्ने स्थिति पैदा भएको हो । शासकीय वृत्तमा रजगज जमाएको राजापक्षे परिवारले मुलुकमा उठेका राजस्व र विकास निर्माण गर्ने भनी लिएको ऋणमा भ्रष्टाचार गर्ने, यथार्थपरक बजेट नबनाई जहिले पनि घाटाको बजेट बनाउने जस्ता असंगत नियतका कारण आज यो स्थिति आएको हो ।


कमिसनका लागि ठूला परियोजनामा विदेशी ऋण लिएर लगानी गर्ने अनि ती परियोजनाले आर्थिक उत्पादन नगर्ने भएपछि श्रीलंका नराम्रोसँग डेट ट्रयाप (ऋणको पासो) मा पर्न गयो । कोभिड-१९ ले श्रीलंकालाई मात्र होइन, विश्वको अर्थतन्त्रलाई नै आक्रान्त पारेको थियो ।

सन्तुलित र यथार्थपरक ढंगले बजेट व्यवस्थापन, आन्तरिक वित्त व्यवस्थापन गरी भ्रष्टाचार नगरेको भए श्रीलंकालाई यो विपत् आइलाग्ने थिएन । आफ्नो परिवारलाई सरकारका विभिन्न मन्त्रालयको मुखिया बनाउने, आफन्तलाई सरकारी पद दिलाउने अर्थात् नेपालका नेताहरू जे जे गर्दै आएका छन्, श्रीलंकाका सत्तारुढ नेताहरूले त्यही त्यही गरे । 

अब श्रीलंका बन्ने पालो नेपालको देखिएको छ । आर्थिक परिसूचकहरूले त्यही देखाउँछन् । स्वयं गभर्नर महाप्रसाद अधिकारीले नेपाल पनि छिट्टै श्रीलंका बन्ने अवस्थामा पुग्न लागेको सार्वजनिक टिप्पणी गरेको भनेर नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले आपत्ति नै प्रकट गरे । त्यसरी नबोल्न सभामुखले रुलिङ नै गर्नुपर्ने माग पनि राखे । गभर्नर या कुनै पदाधिकारीले नबोल्दैमा नेपालको आर्थिक स्थिति राम्रो हुने हो र ? त्यो त तथ्यांकले देखाउने कुरा हो ।

भ्रष्टाचार गरी अकुत कमाउने अनि देशलाई आपत् पर्दा भाग्ने शासकहरूको नियति होइन, नियत हो । हामीकहाँ पनि राज्यको सम्पूर्ण धनलाई मुठ्ठीमा लिएका राणा शासक र तिनका परिवारका कतिपय सदस्यहरू मुलुकमै रहेनन्, राज्य लुटेको धनसहित भारत-बेलायत-अमेरिका पुगेकै हुन् । न जुद्ध शमशेर मुलुकमा रहे, न पद्म शमशेर, न मोहन शमशेर नै । तिनीहरूले अथाह धन भारतमा पुर्‍याउँदै राचीदेखि देहरादुनसम्म ‘नेपाल-दरबार’ बनाउँदै बिलासी जीवन जिएकै हुन् । गरिब मुलुकका नागरिकका गाँस-बास खोस्दै, अनि धुरुधुरु रुवाउँदै धेरै ‘शमशेरहरू’ भारतमै मस्ती जीवन यापन गर्न पुगेकै हुन् । यतिखेर पनि अनेक ‘प्रकृति-प्रवृत्ति’का ‘शमशेर’हरू मुलुक डुबाउँदै विदेशमा धन पुर्‍याउँदै छन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानी पनि भागेका थिए । श्रीलंकाका राष्ट्रपति राजापाक्षे पनि भागे । नेपालमा पनि कदाचित् श्रीलंकाको जस्तो आर्थिक संकट आयो भने नेपालका नेताहरू नभाग्नेमा शंका नगरे हुन्छ । किनभने नेपालका शासकीय वृत्तका अनेकन् पात्रहरूले अकुत कमाएका छन् । उनीहरूको रहन-सहन, ठाँटबाँट, तिनले बनाएका महल, छोराछोरी विदेश अध्ययन लगायतका थुप्रै कुराले सत्तामा बसेका र स्वाद चाखेका अधिकांश पात्रहरूले अकुत कमाएका छन् । अझ कतिपय त श्रीमती-परिवार विदेशमै राखी मुलुक लुट्दै अवैध धन उतै पुर्‍याउँदै छन्, हाइटीका धनाढ्यहरूले अमेरिकाको मियामीलाई सुरक्षित बास बनाए झैँ गरी ।
नेपालबाट हुण्डीमार्फत विदेशमा पैसा थुपारेर राखेको चर्चा, परिचर्चा पनि बेला बेला उठ्ने गर्छ नै । अहिलेको तरलता संकटको एउटा कारण हुुण्डी कारोबार पनि हो । बजेट बनाउने अर्थमन्त्री, आफ्नै छोराले व्यापार गर्ने कम्पनीलाई ९० प्रतिशत भन्सार छूट दिने प्रधानमन्त्री, अनि यिनका लुटजन्य कृत्यमा चूपचाप बस्ने कार्यकर्ताहरू भएको मुलुकमा अरु लुट कति मच्चाइएको होला सहजै अनुमान गर्न सकिन्छ ।

नेपालमा कमिसन एजेन्ट-बिचौलियाले भनेबमोजिम ‘परियोजना’हरू बन्छन् । के हामीलाई इम्बोस्ड नम्बर चाहिएको थियो ? नागरिकता प्रमाणपत्र हुँदाहुँदै के हामीलाई राष्ट्रिय परिचयपत्र चाहिएको थियो ? यी सब कमिसनका निम्ति भएका रचिएका खेल हुन् । राष्ट्रिय परिचयपत्रका निम्ति विदेशीसँग ठूलो परिणाम ऋण लिइएको छ । एकातिर नागरिकलाई राष्ट्रिय परिचयपत्र लिन ‘हन्डर’ खुवाइन्छ, अर्कातिर यसबाट शासकीय वृत्तका पात्रहरू र कमिसन एजेन्ट अथाह लाभ लिइरहेका छन् ।

श्रीलंकाका जनताले सत्ता र तिनका नेताको प्रतिरोध गरे र राष्ट्रपति भागे । नेपालमा पनि त्यो स्थिति नआउला भन्न सकिन्न । यिनै नेपाली जनताले होइन राजा ज्ञानेन्द्रको विरासत मिल्काएको ? जनता असंगठित छन्, जनताले थाहा पाउँदैनन्, जनतालाई जे गरे पनि हुन्छ भन्ने दम्भ र अहंकारले भरिपूर्ण भएर नेताहरूले जति लुटे पनि हुन्छ भन्ने मानसिकतामा होलान् । तर, जब देशमा पेट्रोल आउँदैन, आयात गर्ने विदेशी मुद्रा हुँदैन त्यो दिनमा असंगठित नेपाली जनता जागेको दिन तिनको हविगत राजापाक्षे झैँ हुनेछ ।

आर्थिक संकटोन्मुख देशमा हतियार किन्ने, सात अर्बको इम्बोस्ड नम्बर प्लेट लगाउने, सर्प पाल्न राज्य ढुकुटी प्रयोग गर्ने, कमिसन एजेन्ट-बिचौलिया, दलाल व्यापारीबाट घेरिने, सरकारी रकममा बाउबाजेका नाममा प्रतिष्ठान बनाउने सूची आमनागरिकको मन-मनस्तिष्कमा गढेकै छ । तसर्थ, होस् गर नेता तथा राज्य सञ्चालकज्यूहरू तिमीहरूलाई पनि राजापाक्षे बनाउने दिन नआओस् ।


Author

थप समाचार
x