सम्पादकीय

सम्पादकीय

कानुन बनाउने थलोमा कानुन मान्नेहरू नै पुग्नुपर्छ

इकागज |
कात्तिक २८, २०७९ सोमबार १७:२२ बजे

मंसिर ४ गते प्रदेश र संघीय प्रतिनिधि सभाका लागि आम निर्वाचन हुँदैछ । अब यो मिति एक साता जति मात्र बाँकी छ । मिति जति नजिक आउँदै छ, गर्मी उति बढिरहेको छ । यो जाडोलाई निर्वाचनको तातोले छायाँमा पारेको छ । निर्वाचनको प्रचार तीव्र हुँदै जाँदा अप्रिय घटना पनि बढ्दै गएका छन् । झडपका समाचार आइरहेका छन् । यो निन्दनीय छ । र, योसँगै चिन्ताजनक कुरा छ, भ्रामक र गलत खबरको प्रचार ।

चरित्र हत्या गर्ने खालका खबर पनि उम्मेदवारहरू गरिरहेका छन् । यो धेरै नै देखिएको छ । मतदातालाई दिग्भ्रमित गर्ने गरी अपुष्ट खबर आउनुहुँदैन । आइहालेमा मतदाताले पहिला कान छाम्नुपर्छ न कि काग लखेट्ने ।


यो निर्वाचन नीति बनाउने, कानुन बनाउने पात्र छान्ने निर्वाचन हो । यसमा मतदाताको चासो विकास निर्माणका काममा हुनु अनौठो होइन । किनकि मतदाता सामान्यभन्दा सामान्य सुविधा पनि नपाएर तड्पिएका छन् । यस्तोमा पानी, सडक आदिका कुरा उठ्नुपर्छ तर यो सँगै संसद्‍मा उसको भूमिका के थियो र कस्तो भूमिका खेल्न सक्छ भन्नेतिर ध्यान दिनुपर्छ । किनकि संसद्ले बाटो कहाँ कस्तो बनाउने भनेर नीति बनाउने हो, कार्यान्वयन गर्न कार्यपालिकालाई दबाब दिने हो । 

संसद् भंग गरिरहनेहरू सांसद हुन लायक छैनन् । संसद्‍मा बहुमत हुँदाहुँदै संसद् तोड्नेहरू कसरी सांसद हुने ? विकासे एजेन्ट हैन, विकासे थिंकर सांसद हुनुपर्छ । सादगी मानिस सांसद बन्नुपर्छ । नीति, नियम, कानुन बनाउनेहरू स्वयं यो पालनामा खरो उत्रेको हुनुपर्छ । जो कानुन पालना गर्दैन उसलाई कानुन बनाउने थलोमा किन पठाउने ? स्थानीय सरकारको जिम्मामा रहेका वडाध्यक्षको कार्यक्षेत्रभित्रका गफ दिएर सांसद बनिँदैन । सांसदको घोषणापत्रमा देशको शिक्षा, स्वास्थ्य, यातायातको स्पष्ट चित्र हुनुपर्छ ।

सबैभन्दा ठूलो शक्ति मतदातासँगै छ । मतदाताले सांसदको मूर्त चित्र सम्झेर मत जाहेर गर्नु बुद्धिमानी हुन्छ । उपलब्ध दल र उम्मेदवारमध्ये सही पात्र छनौट गर्नु मतदाताको कर्तव्य हो ।


Author

थप समाचार
x