सम्पादकीय

सम्पादकीय

प्रेमले देखाएको घृणाको संसार

इकागज |
माघ ११, २०७९ बुधबार १८:१२ बजे

युवा उद्यमी प्रेमप्रसाद आचार्यले संसद् भवनअघिल्तिर आत्मदाह गरेपछि उनको दुःखद् निधन भएको छ । आत्मदाह गर्नुअघि उनले आफ्नो फेसबुकमार्फत साझा गरेको नोटले धेरैको मथिंगल रिंग्याएको छ । तर, राज्यका निकाय, ती नोटमा उल्लिखित व्यापारी भने अझै सम्म मौन छन् । 

आत्महत्या र आत्मदाहबीच फरक छ । नदीमा हाम फालेर सामूहिक जलसमाधिमा हाेमिएकी नारी योगमाया विद्रोही नारी हुन् । उनको विचार थियो । प्रेमप्रसादको पनि विचार छ । धेरैलाई लाग्ला, त्यो व्यक्तिगत मामिला कसरी विचार हुन सक्छ ? 


तर, गहिरिएर हेरियो भने त्यसमा कुनै पनि विषय व्यक्तिगत छैन । हरेक वाक्यमा राजनीतिक, आर्थिक, प्रशासनिक, कानुनी कुशासन छ । प्रेमप्रसादले भोगेका समस्या व्यक्तिगत होइनन्, ती राजनीतिक हुन् । उनले समाधानका उपाय पनि सुझाएका छन् । ती विषयमा पर्याप्त छलफल हुनुपर्छ । सबैलाई कठघरामा उभ्याइनुपर्छ ।

यो सहिद सप्ताह हो । १९९७ सालमा राणाहरूले यही मध्य–माघमा युवाहरूलाई मारेका थिए । उसरी नै यो दलाल व्यवस्थाले देशमा केही गर्न खोज्ने युवालाई निराश, उदास र हतास बनाएर अन्ततः मारेको छ । प्रेमप्रसाद आचार्य आफू त गए । तर, उनले कयौँ प्रश्न छाडेर गएका छन् । ती प्रश्न बिर्सिनलायक छैनन् । ती प्रश्न आन्दोलनको बीज हुनुपर्छ । प्रेमले प्रतिपादन गरेको नोट प्रेमवाद हो । प्रेमवादअनुसार काम गर्ने हो भने बाँचेका लाखौँ प्रेमी–प्रेमिका घृणाबाट मुक्त हुनेछन् । 

मार्क्सवाद र माओवाद, पुँजीवाद र समाजवादका रौँचिरामा धेरै बुद्धिविलास हुन्छ तर देशको कठोर यथार्थ ‘प्रेमवाद’ नै हो । सरकारी–निजी क्षेत्रको चौतर्फी घृणा र अपमानबाट जन्मेको प्रेमवाद आजको ऐना हो । धेरैको मनमनमा बिझेका काँडालाई प्रेमप्रसादले वाणी दिएका छन् ।

प्रेमवादअनुसार देशको प्रणाली सुधार्नतिर सबै लाग्नुपर्छ । सरकारले पहिलो जवाफदेहिता लिनुपर्छ । निजी क्षेत्रले क्षमायाचनासहित उनको उधारो तुरुन्तै तिर्नुपर्छ । नागरिक समाज, सञ्चार माध्यमले निरन्तर खबरदारी गर्नुपर्छ । 

मीटू अभियान ‘मलाई पनि यौन हिंसा भएको थियो’ भन्दै धेरै देशमा व्यापक भएको थियो । अब उसरी नै आमनागरिक सबैले आफ्नो पीडा र अपमान पोख्नुपर्छ । बिचौलियाहरूको पोल खोल्नुपर्छ । 

आफैँ पैसा उठाएर परिवारलाई सहयोग गर्ने एउटा तरिका हो । तर, बेइमानहरूलाई जवाफदेही बनाउँदै पैसा तिर्न बाध्य पार्नु अर्काे तर सबैभन्दा आवश्यक तरिका हो । उठन्ते-मगन्ते ‘समाजसेवी’ हुनुभन्दा खबरदारी गर्ने, प्रश्न गर्ने निडर, निर्भीक, सचेत नागरिक हुनु धेरै राम्रो हो । 

यस्ता नोटहरूको पठनले पाठकहरूलाई निराश बनाउँछ । ती धेरै प्रसारण–प्रकाशन हुनु राम्रो मानिँदैन पनि । यो नोटले पनि दुःखी त सबैलाई पक्कै पनि बनाउँछ, बनाएको छ । परिवारजनलाई परेको क्षतिको त कुनै पूर्ति नै छैन । त्यसैले आत्महत्या वा आत्मदाह वा आत्महानि कुनै पनि हिसाबले राम्रो हैन । यस्तो अन्त्य हुनुपर्छ । तर, विडम्बना, यस्तो कदम बढेको छ । यस्तो किन हुन्छ भन्नेतिर घोत्लिएर समाजको घाउ बुझ्नु र त्यसअनुसार दबाईको काम गर्नुपर्छ । 

तर, प्रेमप्रसादको नोटले दुःखी सँगैसँगै धेरै मानिसलाई विद्रोही बनाएको छ । आन्दोलित बनाएको छ । अब यी विषय उठाएर लगातार आन्दोलन हुनुपर्छ । आन्दोलनकारी आफैँ दल खोल्नेतिर, मेयर÷मन्त्री हुनतिर भन्दा पनि दबाब समूह बन्नेतिर केन्द्रित हुनुपर्छ । राज्यमा दल पनि चाहिन्छन् तर दबाब समूह त झनै चाहिन्छै चाहिन्छन् ।

अबको आन्दोलनको घोषणापत्र समाजवाद र पुँजीवाद हैन, प्रेमवाद हुन सक्छ । प्रेमले देशको अनुहार उदांग पारिदिएका छन् । धेरैको मुकुण्डो मात्र हैन, कट्टु नै खोलिदिएका छन् । नांगै उभिएर आदर्शका भाषण गर्नु अब पर्दैन । जो पीडक हुन्, उनैले गोहीको आँसु चहाएका पनि छन् । आफ्ना कामदारलाई ज्याला र तलब नदिनेले पनि नोट प्रकाशन र सेयर गरेका छन् ।

घृणाको दुनियाँमा प्रेम पराजित भएका छन् । तर, प्रेम सधैँ अजर र अमर अनि शाश्वत छ । प्रेमको आत्माको शान्तिका लागि प्रेमवादका प्रश्नहरूले जवाफ पाउनैपर्छ । प्रेमवादले नेपालको दलाल समाजवाद र दलाल पुँजीवादलाई परास्त गर्नैपर्छ । 

देशमा पुँजी निर्माणका लागि केही गर्छु भन्नेलाई राज्यले सहजीकरण गर्नुपर्छ । उत्साह थपिदिनुपर्छ । दलाल पुँजीवाद (अनुत्पादक क्षेत्रमा लगानी) तिर प्रोत्साहन गर्ने राज्यले आफूलाई समाजवादउन्मुख भन्न सुहाउँदैन । सर्वहारा किसान, मजदुरको पक्ष लिन्छु भन्ने माओवादी, मार्क्सवादीहरू लगातार सरकारमा छन् । तर, उनीहरूको वर्गीय पक्षधरता निम्नवर्गीय शोषित, पीडिततिर पटक्कै छैन । बरु शोषक र पीडकहरू नै उनीहरूको साझेदार छन् । दाता र सल्लाहकार छन् । 

प्रेमको निधन आत्महत्या हैन, हत्या नै हो । उनी मानसिक रोगले मरेका पनि हैनन् । मानसिक रोग त रुखको पहेँलो पात मात्र हो । पात किन र के कारण पहेँलो भयो भनेर हेर्ने त जरा र जमिनमा हो । राजनीतिक रोग जमिन हो, यसले सब बोटबिरुवालाई जिउँदै मारेको छ । 

राज्यको मूल नीति नै बेथिति मात्र भएपछि मानसिक रोग बढ्छै बढ्छ । मानसिक रोगको ओखती दिएर, बढाएर यो समस्या हल हुँदैन । राज्यकोषबाट तलबभत्ता खाएका र खाइरहेकाहरूले आफ्नो नीति र नियत बदल्नुपर्छ । कर तिर्नेलाई अर्थात् आफूलाई पाल्नेलाई सबैभन्दा इज्जत र मान गर्नुपर्छ । तर, यहाँ पाइलापाइलामा ठीक उल्टो छ, करदाताकै सबैभन्दा बढी अपमान छ । 

धनी र पहुँचवालाले कर छलेका छन् । मध्यम वर्गले खुरुखुरु कर तिरेका छन् । निम्न वर्गले मरेतुल्य भएर काम गरेर रेमिट्यान्स पठाइरहेका छन् । तर, सबैभन्दा मोज दरबार–टारहरूमा बसीबसी खानेलाई छ । 

राज्य चलाउने शासक (अर्थात् शोषक)हरू, प्रशासक (अर्थात् प्रशोषक)हरू र तिनका भारदार, परिवार र आसेपासेलाई यो देश ‘स्वर्ग’ छ । जति पनि लुट्न पाइएको छ, लुटाउन पाइएको छ । तर, काम गरिखाने वर्ग, साना उद्यमी, सोझासीधाहरूको नियति प्रेमप्रसादकै जस्तो छ । प्रेमप्रसादको घटना बाहिर आएको मात्र हो । यसरी पिल्सिएकाहरूलाई लाइनमा उभ्याउने हो भने लाइन पशुपतिनगरदेखि महेन्द्रनगरसम्म पुग्छ ।

संस्थाहरूमध्ये राज्य नै सबैभन्दा हिंस्रक हुन्छ, शोषक हुन्छ, अनैतिक हुन्छ, ठग हुन्छ, विभेदकारी हुन्छ । किन त ? जब राज्य चलाउनेहरूलाई कुनै प्रश्न गरिँदैन, खबरदारी गरिँदैन, चुनावमा हराइँदैन । अनि नेताहरू मैमत्त भइहाल्छन् । साहुहरूकै बढाइचढाइ सुनिन्छ, तीबाट पीडितहरूको आवाज कतै सुनाइँदैन । अनि आममान्छे निराश हुन्छ, राज्य आतंकबारे बेखबर हुन्छ । अनि विस्फोट भएपछि आक्कलझुक्कल यस्ता विषय सतहमा आउँछन् । भोलिपल्टै फेरि हराउँछन् । टाउकेहरूको अपराध भुल्ने नागरिक र मिडियाले लोकतन्त्र सिद्धाउँछन् । भागबन्डा खोज्ने प्रतिपक्षले लोकतन्त्र र प्रश्नको पाशविक हत्या गर्छ । अनि समाज सडेगलेको दुर्गन्धित पोखरी बन्छ ।

प्रश्नवाचक चिह्नविनाको नागरिक समाजले समाजको चेतनामा पूर्णविराम लगाइदिन्छ । त्यसैले प्रश्न सधैँ गर्नुपर्छ । हाललाई प्रश्नपत्र बनाउने कष्ट गर्नुपर्ने पनि छैन । सरकार र निजी क्षेत्रलाई उत्तरपुस्तिका भर्न लगाएर परीक्षा लिने काम नागरिक, मिडिया, प्रतिपक्षकै हो ।

प्रेमप्रसाद आज छैनन् तर उनका प्रश्न अब सधैँ छन् । प्रशस्त समस्या र सझाउ सुरक्षित छन् । नोटमा प्रश्नहरू पर्याप्त भएकै कारण ‘प्रेमवाद’ पढेर मानिसहरू आन्दोलित भएका हुन् । त्यसैले प्रश्न कहिल्यै प्रतिगमनको बाटो होइन । अग्रगमनको बाटो । प्रश्नले नै व्यक्ति र समाजलाई चिमोट्छ, संघर्ष गर्न प्रेरित गर्छ । 

प्रेमप्रसादले आत्मदाह गरेको २४ घण्टा भइसकेको छ । उधारो नतिरेकाहरूले पैसा तिरे त ? अल्टिमेटमसहित खबरदारी गर्नुपर्छ । अर्कैको समस्या भनेर कोही चुप लाग्नुहुँदैन । भोलि आफूले नै त्यो पीडा भोग्नुपर्ने हुनसक्छ । प्रेमप्रसाद, उनकी श्रीमती, छोरीहरूले भोगेको पीडामा आफू सोचेर प्राणीहरूमध्ये चेतना हुनु र चेतना व्यक्त गर्न सक्नुको अन्तर्निहित क्षमता मानिसले पुष्टि गर्नुपर्छ । प्रेमवाद यस बखतको नेपालको तीतो यथार्थ हो । भनिन्छ— मर्नै लागेको मानिसले झुट बोल्दैन । यो नेपालको सत्य–तथ्य परिचय हो । यो नोटलाई आमनागरिकले शोषक शासक र ठग व्यापारीले सुन्ने गरी घन्काइरहनुपर्छ । 

घृणाको दुनियाँमा प्रेम तत्कालका लागि पराजित भएका छन् । तर, प्रेम सधैँ अजर र अमर अनि शाश्वत छ । प्रेमको आत्माको शान्तिका लागि प्रेमवादका प्रश्नहरूले जवाफ पाउनैपर्छ । प्रेमवादले नेपालको दलाल समाजवाद र दलाल पुँजीवादलाई परास्त गर्नैपर्छ । 


Author

थप समाचार
x