सम्पादकीय

सम्पादकीय

रवि र स्वर्णिमलाई बधाइ

इकागज |
बैशाख १२, २०८० मंगलबार १६:५८ बजे

प्रतिनिधिसभामा तीन सदस्यका लागि भएको उपनिर्वाचन सकिएको छ । तनहुँ र चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित भइसकेको छ भने बारामा उपेन्द्र यादव जित नजिक देखिएका छन् । 

यो उपनिर्वाचनले धेरै सन्देश दिएको छ । जसमध्ये पहिलो हो- परम्परागत दल अब सच्चिने कि सक्किने ?


ठूला भनिएका दलहरू उदाउँदा नवजात दलविरुद्ध संगठित भएर लाग्दा पनि तिनको पराजय भएको छ । सत्ताको छायाले पनि काम गरेको छैन । पूर्वप्रधानमन्त्रीहरूको साझा आह्वान पनि फेल भएको छ । पटकपटक सत्ता चाखिसकेका नेताहरूलाई मतदाताले धुलो चखाइदिएका छन् ।

ठूला दलका आशलाग्दा भनिएका युवा नेताहरूलाई पनि अब गाह्रो परेको छ । आफ्नो दलभित्रको लोकतन्त्रसित पहिला उनीहरू लड्नुपर्ने भएको छ । यही ताल रहे आउँदो चुनावमा पुराना दलका युवा नेता पनि पाखा लाग्नेछन् ।

देउवा, ओली, दाहाल, नेपालहरूले अब आफ्नो दलबाट राजीनामा गर्नुपर्छ । आफ्नो दलको माया छ भने हर दलका नेता कार्यकर्ताले आ–आफ्ना नेतृत्वको राजीनामा माग्नुपर्छ । अब यिनै नेताबाट पार्टी चल्दैन भन्ने स्पष्ट हुन अब के बाँकी छ र ? 

राजीनामा मागेर महाधिवेशन जानैपर्छ दलहरू । हैन भने यी दलबाट ठूलो संख्यामा नेता–कार्यकर्ता अर्काे पार्टीतिर जाने निश्चित जस्तै छ । जसरी २०६३ पछि ठूला पार्टीका नेताहरू रातारात उपेन्द्र यादवको पार्टीतिर लागेर सुरक्षित ओत खोजे, उसरी नै अब धेरै नेता नयाँ पार्टीतिर जाने सम्भावना छ । 
सक्किने कि सच्चिने ? यो आजको सबैभन्दा ठूलो र महत्वपूर्ण सवाल हो । तर, यो प्रश्नको उत्तर एक हिसाबले स्पष्ट नै छ । दलाधीशहरु भनिरहेकै छन्- सच्चिने हैन, बरु सक्किने हो । 

नेताहरूले अन्तिम सास फेरुन्जेलसम्म पार्टी र पद छोड्ने सम्भावना तत्कालका लागि छैन । त्यसैले अब बाठा युवा नेताहरू सुरक्षित ओत खोज्न रास्वपाहरूतिर घुस्रिन जाने सम्भावना धेरै छ । तर, २०६४ मा जस्तै पुराना नेता नयाँ चिह्नबाट जित्छन् भन्न सकिने अवस्था छैन । किनकि, आम नागरिक अब धेरै बाठा भइसकेका छन् ।

रवि लामिछाने र उनको दलले पाएको यो सफलता उल्लेखनीय छ । यस्तो जटिल परिस्थितिमा नवजात नेताले दुई तिहाईभन्दा बढी मत ल्याएर पुनर्निर्वाचित हुनु चानचुने कुरो होइन । अब उनी आफ्ना विवादमा स्पष्ट हुनुपर्नेछ । बदलाको भावना राखेर तथानाम बोलेकामा क्षमायाचना पनि गर्नुपर्छ । आम नागरिकले उही गालीगलौज खोजेका होइनन् । परिवर्तन खोजेका हुन् । सुशासन खोजेका हुन् । 

रविले आफ्नो कोर टिमबारे स्पष्ट पार्नुपर्छ । धेरै नमात्तिएर सम्हालिएर काम गरे भने उनले धेरै गर्न सक्छन् । उनी राजनेता पनि हुन सक्छन् । विगत विवादित भए पनि आगत सुन्दर बनाउन रविले भूमिका खेल्न सक्छन् । 

फेरि निर्वाचन जितेर आएकामा रवि लामिछानेलाई हार्दिक बधाइ र शुभकामना छ । चर्काे बोलेर चर्चित भएका रवि अब राम्रो काम गरेर प्रसिद्ध बनून् । व्यक्तिगत आक्षेप लगाएर थर्काउनुभन्दा संसद्‌मा कुरा उठाएर कारबाहीको प्रक्रिया अघि बढाऊन् । जनतासँगको सीधा संवाद जारी राखून् । र, सबैभन्दा पहिला आफ्नो अन्तरआत्मा र हृदयसँग एकान्तमा सिधा कुरा गरुन् । ऐनाले देखाएको आफ्नो माइक्रोफिल्म सार्वजनिक गर्ने हिम्मत गरुन् ।


Author

थप समाचार
x