सम्पादकीय

सम्पादकीय

ए कृतक कता, पाेर्चुगल यता

इकागज |
बैशाख १४, २०८० बिहीबार १७:१४ बजे

पोर्चुगल पुर्‍याउने वाचा गरेर कैलालीका दिनेश बमलाई टीकापुरकै कृतकबहादुर साउदले अजरबैजान पुर्‍याएर अलपत्र पारेको समाचार आजको मुख्य समाचार होइन । दिनेश बमले दिएको उजुरीका आधारमा साउद पक्राउपछि प्रहरीको बुलेटिनमा यो समाचार अधिकांश मिडियामा प्रकाशित भएको छ । तर अत्यन्त कम महत्व पाएको यो समाचार हाम्रो देशको मुख्य समाचार हो ।  

वैदेशिक रोजगार नेपाली समाजमा एकसाथ आशा र निराशा जगाउने यथार्थ हो । निराशा यसअर्थमा कि नेपालबाट दिनहुँ दिनेश बम जस्ता युवक एकातिर पुग्ने लोभमा अर्कोतिर पुर्याइने गरेका छन् । यो नियत, नियति र दुरवस्थाको पराकाष्ठा हो । किनकि आज आफू समाचार बने जस्तै उनले पनि पोल्यान्ड पुर्‍याइदिन्छु भन्दै पोखरा पुर्‍याइएका समाचार पढेका थिएनन् होला भन्न सकिन्न । तर पनि देशको अवस्थाले उनलाई थाहा हुँदाहुँदै पनि विदेश हिँड्न बाध्य बनायो । अन्ततः त्यही भयो जे अधिकांश नेपालीको जीवनमा हुने गरेको छ । वाचा गर्ने वा सपना देखाउने एउटा तर गर्ने ठीक उल्टा ।


कृतकबहादुरले दिनेशलाई उल्लु बनाएझैँ देश र जनताको नाममा काम गर्छु भनेर शासन सत्तामा बसेकाले वर्षौँदेखि एउटा सपना देखाएर अर्कै विपना दिँदै आएका छन् । कहिले सिंगापुर त कहिले स्विजरल्यान्डको गफ दिएर चुनावमा छारो हाल्ने तर जितेपछि गल्लीको फोहोर पनि उठाउन नसक्ने बेहोरा नेताले प्रदर्शन गर्दै आएका छन् । यही कारण दैनिक हातमुख जोर्नका लागि पनि दिनेशहरू विदेशिन अभिशप्त छन् । तर, नियति यहाँ पनि यदि निर्दयी छ कि दिल्ली भनेर दार्चुला पुर्‍याउँछन्,  अमेरिका भनेर ओलाङचुङ्गोला । 

दिनेश त त्यही पनि भाग्यमानी रहेछन्, जो सकुशल फर्किए र कानुनी लडाइँ लड्दैछन् । तर यसरी विभिन्न बाध्यतामा विदेशी भूमिमा पुगेका कतिपय दिनेश विदेशमै प्राण त्याग्न विवश छन् । वर्षेनि नेपालबाट गन्तव्य मुलुक पुग्नेमध्ये हजारभन्दा बढीले परायभूमिमै ज्यान गुमाउने गरेका छन् । यसैगरी आकर्षक आम्दानीको लोभमा विदेशमा पुगेकालाई पनि त्यहाँका दलालले ठगेका समाचार कम आउने गरेका छैनन् । वैदेशिक रोजगारीकै कारण सिर्जना भइरहेका पारिवारिक विखण्डनका कथा पनि कम हृदयविदारक छैनन् । 

आफ्नो देशका जनतालाई देशमै काम गर्ने वातावरण सिर्जना गर्न नसक्नु देशको असफलता हो । देश बनाउँछु भन्दै भाषणमा ठूलठूला कुरा गर्नेहरूले दिनेशका समाचार पढेर लाज मान्नुपर्ने हो तर नेपालमा लाज र नेता एकै ठाउँ बस्दैनन् । जहाँ लाज हुन्छ, त्यहाँ नेता बस्दैनन् ।

जबसम्म देश बनाउने डिङ हाँक्ने नेतालाई यस्ता समाचार पढेर लाजशरम लाग्दैन तबसम्म दिनेशहरू यसरी नै विदेशिन बाध्यतामा परिरहनेछन् र साउदहरूले यसैगरी बाध्यताको फाइदा उठाइरहनेछन् । तर यो चक्र लामो समय चलिरहनेवाला चाहिँ छैन । किनकि नयाँ नयाँ पार्टीको मतपत्रमा सबैतिरबाट ठगिएको आक्रोश पोखिन थालेको छ । यसले ठग्ने कर्मचक्रको परिणाम सबैलाई भोगाउँछ नै । गोपालप्रसाद रिमालको कविताले भनेझैँ, ‘त्यो दिन एक दिन अवश्य आउँछ ।’

मानौँ, यो देश बस हो भने कृतकबहादुरहरू चालक । अनि आम यात्रु दिनेश बमहरू जान खोजिरहेछन् एकातिर । चालिकहरू बस हाँकिरहेछन् अर्कैतिर। विपुल क्षेत्रीको गीतजस्तै छ देशको हालत- दिनेश जाने पोर्चुगल, कृतघ्नहरू लैजाने अजरबैजानतिर ।

पाेर्चुगलकाे ठेगाना देखाएर अजरबैजानतिर झारिएका दिनेश बम भनिरहेछन्-ए कृतक कता, पाेर्चुगल यता । यसरी नै सिंगापुर र स्वीजरल्याण्डकाे ठेगाना देखाएर देशलाई बेठेगान बनाएका नेताहरूलाई कहिले साेध्ने-ए नेता कता,सिंगापुर यता​ ।


Author

थप समाचार
x