समाज

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

इकागज |
बैशाख २४, २०८१ सोमबार २२:० बजे

फाइल तस्बिर

काठमाडौँ- ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको आज मृत्यु भएको छ । 

आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका थिए । घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।


उनीहरूको उपचारका क्रममा किष्ट अस्पतालमा राति ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको छ । एक जनाको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

प्रवक्ता सुवेदीका अनुसार घर मालिक ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उनकी श्रीमती ३२ वर्षीया रुपा गिरीको आइसियुमा राखेर उपचार भइरहेको छ । अर्का घाइते नित गिरीको अवस्था सामान्य छ । गिरीलाई साधारण वार्डमा सारिएको छ ।

केही दिनअघि आगो निभाउने क्रममा जलेर ललितपुरको गोदावरीका शङ्कर र रमेश पहरीको मृत्यु भएको थियो । 


Author

थप समाचार
x