दल

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

इकागज |
जेठ ६, २०८१ आइतबार १२:३२ बजे

काठमाडौँ - सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन बसेको कार्यदलको बैठक निष्कर्षमा पुग्न नसकेपछि संसदको बैठक प्रभावित भएको छ । बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ । 

शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । 


कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् ।  अहिले कार्यदलको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि मिसिएका छन् । 

अहिले कार्यदलमा छानबिनको दयाराबारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिँदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुन नसक्ने बताउँदै आएको छ । 

त्यस्तै नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले छानबिन उनीमाथि पनि हुनुपर्ने बताउँदै आएको छ । 

कार्यदलमा अहिलेसम्म सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्ने विषय अन्योलमा रहेको छ । 
    


Author

थप समाचार
x