सम्पादकीय

सम्पादकीय

प्रधानमन्त्रीज्यू, यसकारण बधाइ भन्‍न सकिएन

इकागज |
बैशाख ३१, २०७८ १०:१२ बजे

कुशल शासकीय क्षमता हुँदो हो त खड्गप्रसाद शर्मा ओली दुई तिहाइ नजिकबाट अल्पमतका प्रधानमन्त्रीमा झर्नुपर्ने थिएन । अनि अर्को त, उनमा सामान्य शासकीय नैतिकता हुँदो हो त यही प्रतिनिधि सभाकालमा अल्पमतको प्रधानमन्त्रीमा झर्ने थिएनन् । संविधानतः उनी प्रधानमन्त्री बन्‍न सक्लान् । तर, राजनीतिक चरित्र र नैतिकताको कसीमा यो विडम्बनायुक्त दृश्य हो । लोभी-पापी र स्वार्थीहरूको बधाइले यस्ता दृश्य ढाँकिदैनन् ।

कोभिडकालमा घरभित्रै थुनिएका नागरिकलाई त्यही ‘अल्पमतीय प्रधानमन्त्री’का निम्ति मञ्चित नाटक राम्रैसँग हेर्ने अवसर मिल्यो । अरु दलका सांसद लुकाउन अधिक राज्य शक्ति-संयन्त्र प्रयोग भएका दृश्य छताछुल्ल भयो नै । अझ अल्पमतकै प्रधानमन्त्रीका निम्ति बाह्य प्रभाव प्रयोग गरिएको पनि छरपस्ट छँदै छ ।  सामान्य राजनीतिक चेत भएका हरेक नागरिकका आँखामा यस्ता तमाम दृश्य कैद भएकै हुनुपर्छ ।


ADVERTISEMENT

राजनीतिक माछा बजारमा मञ्चित दृश्य हेर्दा ‘जसरी पनि’ प्रधानमन्त्री बन्‍ने ध्याउन्‍नमा उनी लागेको प्रमाणित हुन्छ नै । अब अल्पमतसँगै विश्वासकै मत लिनुपर्छ नै । अनि विश्वासको मत प्राप्तिमा पनि राम्रै शक्ति प्रयोग हुनेछ । नागरिकले मुटुमाथि ढुंगा राखी हुने/नहुने अनेकन् नाटक हेर्नुपर्नेछ अब ।

तर आमनागरिकले यो दृश्य हेर्न ओली र उनको पार्टीलाई मत दिएका थिएनन् । दुई शक्तिशाली कम्युनिस्ट पार्टी एमाले-माओवादी केन्द्रको गठबन्धनसँगै सधैँभरिको अस्थिर र विग्रहपूर्ण राजनीति अन्त्य गरी स्थायित्वपूर्ण शासनका निम्ति मत दिएका हुन् । स्पष्ट भाषामा भन्दा ओलीले मतको दुरुपयोग गरेका छन्, जसको परिणाम उनी स्वयं पनि खेप्दैछन् । अर्को तीन वर्षसम्म दुई तिहाइको दम्भ-अभिमानसहितका छली-जाली शासकीय राजको उपज हो, ‘अल्पमतको सरकार ।’

मुलुकलाई कहालीलाग्दो अत्यासपूर्ण दलदले भूमिमा परिणत गर्न ओलीको अहंकारी भूमिका काफी छ । यो तथ्यमा ओलीबाट अधिक लाभ लिएकाहरूबाहेक अरुले असहमत हुने ठाउँ देखिँदैन । यतिखेर झांगिएका कलह र विकृतिको भास उनैले रोपेको ‘बिउ’को उत्पादन हो । एकातिर मुलुक कोराना भाइरस कहरमा थियो, अर्कातिर ओलीले कलह बाक्लो बनाउँदै लगेका हुन् । ओली-राजमा मुलुकले चरम शासकीय अव्यवस्था खेप्‍नुपरेको थियो, अझै खेप्‍नुपर्नेछ ।

यसरी मुलुक समस्यापूर्ण भूँमरीमा पर्नुमा सबैभन्दा दोषी ओली हुन् । अनि ओलीको दम्भ-अहंकारमा उकेरा लगाउँदै वरिपरि झुम्मिएका स्वार्थीहरूले राज्य शोषणलाई व्यापक बनाए, बनाइरहेका छन् । त्यसलाई नियमित पार्न सफल पनि भएका छन् । नत्र बालुवाटारमा व्यापारी-बिचौलिा र घटियास्तरका दलालहरूको भीड लाग्‍ने थिएन । महामारीका बेला खोप जस्तो विषयमा ‘कमिसन’का खेलले अमानवीय परिदृश्य देख्नुपर्ने थिएन ।

कम्तीमा सिंहदरबारबाट शासन गरेको भए आपराधिक मनोवृत्तिका कमिसन एजेन्ट, व्यापारी, बिचौलिया, दलाल, भूमिगत गिरोह घेरिने थिएनन् । ठ्याक्कै पन्ध्र महिनायता ओलीले सिंहदरबारकै प्रधानमन्त्रीको कुर्सीमा रहेर शासन गर्नसमेत असमर्थ रहे ।

सिंहदरबारबाट शासन गर्न नसक्ने अक्षम प्रधानमन्त्री कसरी कुशल शासक हुन्छन् ? कम्तीमा सिंहदरबारबाट शासन गरेको भए आपराधिक मनोवृत्तिका कमिसन एजेन्ट, व्यापारी, बिचौलिया, दलाल, भूमिगत गिरोह घेरिने थिएनन् । ठ्याक्कै पन्ध्र महिनायता ओलीले सिंहदरबारकै प्रधानमन्त्रीको कुर्सीमा रहेर शासन गर्नसमेत असमर्थ रहे । भूमिगत पात्रहरूले भरिएको बालुवाटारबाटै शासन गर्ने भएपछि ओली राजमा सिंहदरबारको ओज-वजन पनि ध्वस्त भएको छ । बालुवाटार र व्यक्तिका निजी निवासलाई शासकीय केन्द्र बनाएपछि तिनले अनेकन् तरिकाले लाभ उठाउने नै भए ।

ओली उद्घाटन र भाषण दिनबाहेक २०७६ फागुनदेखि सिंहदरबारमा देखिएनन् । बालुवाटार केन्द्रित ‘भूमिगत शैली’मा उनको शासन चल्यो । र, निर्णय पनि ‘छापामार शैली’कै भए । संविधानको उल्लंघन, अध्यादेश राज र शक्ति पृथकीकरण सिद्धान्त पूर्णतः खल्बलिनुको कारक बालुवाटार शासकीय केन्द्रमा परिणत हुनु हो । ओलीमा कुनै पनि निर्णय संविधान, कानुन-विधि-प्रक्रिया केन्द्रित भएनन् ।

‘अब पनि बाँकी छ र ?’ राज्यका सम्पूर्ण अंगहरू गैरसंवैधानिक बाटोमा छन् । त्यस्ता ठाउँहरू भ्रष्ट, बिचौलिया, ओलीका बफादार औजार र सन्देहास्पद पात्रहरूले भरिएका छन् । मुलुकमा संविधान र संसदीय राजमा होइन, भद्रगोलको राज चलेको छ । दुर्भाग्यतः तिनको खराब कर्तुतको मार चाहिँ सामान्य नागरिकले कालान्तरसम्मै खेप्दै जानुपर्नेछ ।

ओली कोरानाकालमै पार्टीका कामका निम्ति देश दौडाहामा रहे, भीडभाड जम्मा गर्दै टुक्का सुनाउनमै मग्न रहे । सिंहदरबारको कुर्सीमै रहेर चुस्त शासन दिने शैली उनमा कहिल्यै पलाएन । जसको मार यतिखेर आमनागरिकले अक्सिजन र अस्पताल नपाएर खेप्दैछन् । तिनले सिंहदरबारभित्रै रहेर सरकारी संयन्त्रका सूचनाका आधारमा निर्णय लिएको भए सायद मुलुक यस्तो भयावह अवस्थामा पुग्‍ने थिएन ।

उनले सरकारी संयन्त्रका प्रशासकहरूसँग शासकीय विषयमा छलफल गरेनन्, एकाध पटक निर्देशन दिनुबाहेक । ओली कर्म शासन-विधिका बहस गर्नुभन्दा एकोहोरो आफ्‍नै गफ सुनाउन मात्रै केन्द्रित हुन्थे, त्यो पनि अति आत्मकेन्द्रित हुँदै । ओलीको सिर्जनशील शासकीय दिनचर्या उखान-टुक्का, हँसीमजाक, उडन्ते गफ, गाली-गलौजका फोहोरा प्रहारमै बित्यो । यत्ति हो, तिनै गफले ‘टिकटक’ हुँदै ‘सामाजिक सञ्जाल’ भरिने मौका पाएका छन् । तर नागरिकले खोजेका थिए, असल शासक । तर, के पाए ? त्यो नागरिकहरूसँगै अथाह फेहरिस्त होला नै ।

‘अब ओलीले कुनै पर्दा खुल्न बाँकी राखेका छन् र ?’ उनको शासकीय कर्मको पर्दा पूरै खुला भइसकेको छ । अब दुनियाँ हँसाउने शैलीमा चर्काे गाली-गलौज र अराजनीतिक शब्द प्रयोग गर्दैमा खराब दृश्य ढाकिँदैन । यतिखेर स्थिर सरकारसँग गरिएका सपनामा भारी तूषारापात भएको छ । ओलीसँग दुई तिहाइको शासकीय कला नहुनुको परिणति हो, अल्पमतको प्रधानमन्त्री । अनि लाज पचाएपछि सहजै पदको शपथ लिँदैछन् ।



Author

थप समाचार