सम्पादकीय

सम्पादकीय

होस गर नेताहरु, २०८४ सालमा जनताले देखाइदेलान्

इकागज |
जेठ ३१, २०८० बुधबार १७:७ बजे

उहिले–उहिले बजेट सार्वजनिक भएको दिन र त्यसको भोलिपल्ट अर्थमन्त्रीले गर्ने ‘पोष्ट बजेट पत्रकार सम्मेलन’ पछि सामान्यतया बजेटबारे बहस, विवाद र चर्चा हुँदैनथ्यो । सबैजना आ–आफ्ना काममा लाग्थे । संघीयता लागू भइसकेपछि बजेटमा विकृति हुलेका थिए डा. युवराज खतिवडाले । उनै डा. खतिवडाले व्यापारीलाई बजेटमार्फत कसरी पोस्ने भन्ने सिकाएका थिए, उनीपछि आउने अर्थमन्त्रीहरुलाई । विशाल ग्रुपले विद्युतीय गाडी वीरगञ्ज भन्सारमा ल्याएर राखेको थियो, बजेट भाषणको एक दिनअघि ती गाडी निकालिए, भोलिपल्टेखि विद्युतीय सवारीमा कर बढ्यो । विशाल ग्रुपले नै आयात गरेको चकलेटमा पनि डा. खतिवडाले करका दर घटाइदिएका थिए ।

सामान्यतया आयातीत वस्तुमा हरेक वर्ष थोरै थोरै भए पनि कर बढाइने गरिन्छ । के नेपालीहरु चकलेट खान नपाएर मरेका थिए र डा. खतिवडाले कर घटाइदिएका हुनु् ? तिनै खतिवडाले विदेशमा निर्मित टर्बाइनमा कर घटाएर नेपालमा बन्ने टर्बाइनको कच्चा पदार्थमा कर लगाइदिएका थिए । खतिवडाले बजेटमा निकै काण्ड मच्चाएका थिए ।


खतिवडाको सिको माओवादी केन्द्रका जनार्दन शर्माले डकैती शैलीमा गरे । त्यत्रो आर्थिक तथा वित्तीय अपराध गर्दा पनि पुष्पकमल दाहाल र शेरबहादुर देउवाले शर्मालाई साथ थिए । शर्मामा एकरत्ति पनि लज्जाबोध भएन । शर्माले खतिवडाको बिंडो थामे । डा. प्रकाशशरण महतले चाहिं शर्माको बिंडो थामे । महतले पनि भूपू नासुलाई बजेट बनाउन लगाए— मानौं अर्थ मन्त्रालयका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतहरु भनेका ‘नपढेका अधिकृत’ थिए । त्यही भएर उनले ‘पढेका राजपत्रअनंकित’ लाई बजेटमा करका दरमा ‘सुधार’ गर्न लगाए ।

जब सुब्बाको सुधार बजेटमा पर्‍यो, यत्रतत्र सर्वत्र त्यसले विष छर्‍यो । बजेट भाषण भएदेखि र आर्थिक विधेयक सार्वजनिक भएदेखि दिनहुँजसाे बजेट र उक्त विधेयकमा गरिएका सुधार गरिएका करका दरबारे विरोध भइरहे, संयुक्त विज्ञप्ति जारी भइरहे । बैंक, बीमा, वित्तीय कम्पनीहरुको संगठनले पनि विरोध गर्‍यो । फलाम उद्योगहरु पनि विरोधमा उत्रिए । पत्रु फलाम पगाल्नेसँग डा. महतको साँठगाँठ देखियो । जनार्दन शर्माको पनि पत्रुवालासँग राम्रो हिमचिम थियो र नै बजेटमा उनले पत्रुवालाई छूट दिए अनि बिलेट किनेर डण्डी बनाउने उद्योगलाई घात गरे । शर्माले गरेको ‘आर्थिक अपराध’ सच्चिएला, पढेलेखेका विद्वान् अर्थशास्त्री, विद्यावारिधि गरेका महतले सुधार्लान् भन्ने फलाम उद्योगवालाहरुले अपेक्षा गरेका थिए । शर्माले अनैतिक, अत्याचारपूर्ण तरिकाले लगाएको कर महतले सुधारेनन्, उल्टो पत्रुवालासँग मिलिदिए ।

बजारको मूल्य निर्धारण करका दरले हुने भएपछि तुलनात्मक लाभ, प्रतिस्पर्धा, गुणस्तरीयता भन्ने जिनिस लोप हुन्छ । अन्ततः यसले उद्योग सखाप पार्छ । आलुप्याजमा भ्याटदेखि जुत्ताका तलुवालाई समेत नछोडेका महतको सर्वत्र आलोचना भइरहँदा सत्ताको नेतृत्व गर्ने माओवादी केन्द्र र नेपाली कांग्रेसका पदाधिकारीहरु रमिते भइरहेका छन् । जनतामाथि कररुपी शोषणको डण्डा चलाउँदा यी राजनीतिक दलका नेताहरुलाई कुनै मतलब छैन । बरु एकीकृत समाजवादीले बजेटको विरोध ग¥यो । तर गठबन्धनको बैठक बसी राजनीतिक र सत्ता लेनादेनीमा डा. महतले बजेटमार्फत गरेका कुकृत्यलाई अनुमोदन गर्ने सहमति गर्‍यो ।

जनताको हितका लागि, जनताको भलाईका लागि, जनताका लागि भन्दै जहिल्यै पनि जनता जनता जपिरहने नेताहरुको वास्तविक हैसियत, यिनका रुप, असली चरित्र र नियत यही एउटा बजेटले देखाइदियो । र, यिनीहरुले बिर्सेको एउटा तथ्य के हो भने २०८४ सालको चुनावमा अब वैकिल्पक शक्ति आइसकेको छ । ‘तिमीहरु जनतामाथि यस्तै थिचोमिचो गरिराख, २०८४ सालमा हामी देखाइदिन्छाैं’ भनेर जनताले भनिसकेका छन् । तत्कालका लागि जनता संगठित हुन सक्दैनन् । सामूहिक रुपमा प्रतिरोध गर्न सक्दैनन् । उनीहरुले आफ्नो पीडा, रीस, कुण्ठा २०८४ सालमा देखाइदिनेछन् । किनभने १३८ सिट संसदमा लिएर बसेका छन् । यो भनेको देश लुट्ने लाइसेन्स हो । त्यसैले २०८४ सालसम्म यिनीहरुले लुटिरहनेछन् । त्यसैले अहिलेलाई यत्ति मात्र भन्न सकिन्छ— होस गर नेताहरु, जनताले २०८४ सालमा देखाइदेलान् ।
 


Author

थप समाचार
x