सम्पादकीय

सम्पादकीय

बालेन : अति सर्वत्र वर्जयेत

इकागज |
असार ८, २०८० शुक्रबार १६:२५ बजे

काठमाडौँ महानगरपालिकाको मेयरमा अप्रत्याशित रूपमा निर्वाचित भएपछि बालेन्द्र शाह (बालेन)को सत्तारोहणलाई शुभकामना दिँदादिँदै पनि केही राजनीतिक विश्लेषकले लेखेका थिए, ‘बालेन रहस्यमय छन् । जे देखिन्छन् त्यो नहुन सक्छन् ।’

देशकै ठूलो नगरमा सत्तासीन भएको १४ महिना बित्दा शंकालु विश्लेषकको अनुमान सही साबित हुँदै गएको देखिन्छ– बालेन जे देखिन्थे, ती होइन रहेछन् । उनले यो बीचमा गरेका केही काम सकारात्मक रहे पनि धेरै काममा उनको हठ झल्किन्छ जसले उनको रहस्यमय व्यक्तित्व पूर्णतया उजागर गर्छ ।


उनमा सहरबाट गरिब र मजदुर वर्ग हटाउने अभूतपूर्व जोश जाँगर देखिन्छ । यसको सुरुवात उनले सुकुम्बासी बस्तीबाट गरेका थिए । निर्वाचित भएलगत्तै उनले बागमती किनारका सुकुमबासी हटाउने अभियान सुरु गरेका थिए जुन सुकुम्बासीको प्रतिरोधपछि थाती रहेको छ । यसपछि उनको निशानामा सडक किनारामा व्यापार गर्ने व्यापारी थिए जसका सामान, साइकल वा ठेला उठाउने क्रम अहिलेसम्म पनि रोकिएको छैन ।

कानुनले यो ठाउँ वर्जित गरेको छ, तर मेयरहरूले यो पनि बुझ्नुपर्छ, सडकमा कोही शौखले व्यापार गर्न आएको हुँदैन । परिवार वा आफ्नै जीवन धान्ने बाध्यता छ । र, उनीहरूलाई यसरी लाचार र बाध्य बनाएको देशले नै हो । देशले आधारभूत अधिकारका रूपमा रहने गास, बास र कपास पनि उपलब्ध गराउन सकेको छैन । 
यही बीचमा मेयरले महानगरभित्र अतिक्रमण भएका सार्वजनिक जग्गा र बाटोहरू पहिचान गरेर तिनमा पार्क बनाउने वा सार्वजनिक प्रयोगका लागि खुल्ला गर्ने अभियान सुरु गरेका छन् । यो राम्रो कुरा हो । त्योबाहेक मेयर बालेनले फोहोर व्यवस्थापनको कुरामा देखाएको सक्रियता पनि प्रशंसनीय छ । सडक कुरूप बनाइरहेका तार काट्न लगाउने, छात्रवृत्तिमा ठगिरहेका निजी विद्यालयलाई विवरण पठाउन बाध्य पर्ने, काठमाडौँमा २४ घन्टा एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णयलाई पनि उनका राम्रा काम भित्र राख्नुपर्छ । तर, यी सबै काम उनले गर्छु भनेर काठमाडौँवासीका मत पाएका हुन् । यसमा उनलाई धन्यवाद दिँदा पनि हुन्छ, नदिँदा पनि । तर, यी सबै कुरा ऐजन ऐजन मानेर हेर्ने हो भने पछिल्लो समय उनमा देखिएको हठले भने राम्रो संकेत गर्दैन । यसको उच्चतम् शृंखला एउटा भारतीय चलचित्रलाई प्रतिबन्ध नलगाउने अदालतको अन्तरिम निर्णयमा आएको प्रतिक्रियामा देख्न सकिन्छ । 

भारतीय चलचित्र ‘आदिपुरुष’मा सीता भारतकी छोरी हुन् आशयको संवादलाई लिएर बालेनले समग्र हिन्दी फिल्म रोक्ने निर्णय गरे । यसका विरुद्ध पीडित भनिएका अदालत गए र बिहीबार अदालतले बालेनको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्यो । तर, आदेशको पूर्णपाठ नआउँदै उनले अदालतको आदेश नमान्ने बताउँदै कुनै पनि हालतमा हिन्दी फिल्म चलाउन नदिने घोषणा गरे ।

अदालतको आदेश मान्दिनँ भनेर उनले जुन हठ प्रदर्शन गरेका छन् यसले उनले गरेका सारा राम्रा काम ओझेल परेका छन् । यसले उनको मेयर हुनुअघिको रहस्यमय छवि पनि सतहमा आएको छ । या प्रकरणमा उनले गरेको जिद्दीले बालेन आफूलाई प्रतिकूल हुने कुनै पनि निर्णय मान्न चाहँदैनन् भन्ने सन्देश दिएको छ । चुनावी प्रक्रियाबाट सत्तासीन भएको मेयर यसरी ‘इगोइस्ट’ भएको सुहाउन्न । अदालत मान्दिनँ भन्ने छुट पनि उनलाई मात्र होइन, कसैलाई पनि छैन । कानुन नमान्ने कुराले स्वेच्छाचारिता बढाउँछ र गलत संस्कारको विकास गर्छ ।

बालेनले यस्ता कुरामा हठ गर्नुअघि उनलाई पछ्याउने युवाहरूको बारेमा सोच्नुपर्छ जो भविष्यमा बालेन जस्तै बन्ने चाहना राख्छन् । यो सूचीमा अदालत वा कानुनको पालना गर्दिनँ भन्ने बुँदा पनि रहनु, स्वयं बालेन र देशको हितमा छैन । भारतीय फिल्मको सवालमा विवादास्पद आशयको संवाद भएको फिल्म रोक्नेसम्म कदमलाई ‘शंकाको लाभ’ दिन सकिन्छ । तर, यही प्रकरणमा ‘एउटा बिराउने शाखा पिराउने’ गरेर सारा हिन्दी फिल्म रोक्ने निर्णय व्यवहारिक थिएन । तर, यसबाट बढेर बालेनले अदालतलाई नै चुनौती दिएका छन् जसले उनका शुभचिन्तकमा पनि बालेनले अति गरेको सन्देश दिएको छ । किनकि संस्कृतको एउटा श्लोकले भन्छ– अति गर्वे हता लंका, अति माने च कौरवा । अति दाने बलिर्बद्द, अति सर्वत्र वर्जयेत ।

अति घमन्डले रावणले लंका गुमायो, धेरै मान खोज्नाले कौरवको विनाश भयो । धेरै दान गर्नाले बलि आफैँ पासोमा बाँधिन पुगे । त्यसैले कहीँ कुनै पनि कुरामा अति गर्नु राम्रो होइन । 
  


Author

थप समाचार
x