सम्पादकीय

सम्पादकीय

अन्न भण्डारमा सिँचाइको सधैं अभाव

इकागज |
असार १८, २०८० सोमबार १६:४९ बजे

नेपाललाई कृषि प्रधान राष्ट्रका रूपमा मानिँदै आएको छ । खासगरी तराई-मधेश क्षेत्र कृषि उब्जाउ भूमि रहेको छ । तर, त्यो कृषि आकाशेपानीको भरमा निर्भर छ । आकाशे पानीको भरमा कृषि भएको कारण तराई-मधेशमा उब्जाउ भूमिहरू पानी अभावले मरुभूमिमा परिणत हुँदै गएका छन् ।

तराईका अन्य क्षेत्रभन्दा मधेश प्रदेशलाई नेपालकै अन्न भण्डारका रूपमा लिइन्छ । तर, हाल खेतीका लागि किसानहरू जनशक्ति, सिँचाइ र मलको अभाव खेप्दै आएका छन् । रोजगारीको अभावमा युवा शक्ति विदेश पलायन हुँदै आएको छ । वैदेशिक रोजगारमा जानेहरूमध्ये ५० प्रतिशतभन्दा मधेश प्रदेशकै छन् । युवा जनशक्ति विदेश पलायन हुँदा  खेतीमा काम गर्ने मजदुरको चरम अभाव छ । यति मात्र होइन, मलखाद अभाव पनि उतिकै छ । आफ्नै देशमा मलखाद उत्पादन हुँदैन । सरकारले समयमा उपलब्ध नगराउँदा किसानहरू भारतीय सीमावर्ती क्षेत्रबाट लुकीछिपी ल्याउन बाध्य छन् ।


नेपालको अर्थतन्त्रको मुख्य आधार पनि कृषि रहेकाले कृषिमा ह्रास आएपछि देशको अर्थतन्त्र समेत धरापमा पर्दै गएको अवस्था विद्यमान छ । सरकारले बजेटमा कृषिलाई प्राथमिकता नदिँदा देशको अर्थतन्त्र नै कमजोर हुँदै गएको छ । कृषिमा पनि धान उत्पादन नेपालको प्रमुख खेती हो । धान उत्पादनतर्फ किसानहरूलाई उत्प्रेरित गर्ने अभिप्रायले प्रत्येक वर्ष नेपालमा असार १५ गते राष्ट्रिय धान दिवस पनि मनाइन्छ । यस वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाइयो । असार १६ लागेपछि त्यसको चर्चासमेत हुने गर्दैन । 

धान दिवसको अवसरमा मधेश प्रदेशका मन्त्रीदेखि विभिन्न पालिकाका प्रमुखहरू खेतखेतमै पुगी धान रोपेर धान रोपाइँको शुभारम्भ गरे । तर, कृषि क्षेत्रलाई कसरी सबल बनाउन सकिन्छ बारे कसैले पनि ध्यान पुर्याएका छैनन् । मधेशमा सबैभन्दा बढी धान उत्पादन हुँदै आएको छ । नेपालमा हुने कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन मात्रै यस प्रदेशमा हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकले देखाउँछ ।

प्रदेशका आठवटै जिल्ला मिलाएर ५ लाख ५५ हजार २१८ हेक्टर खेतीयोग्य क्षेत्रफल रहेकोमा ४ लाख ५ हजार ४५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनुपर्ने हो । पानी अभावका कारण हालसम्म मुश्किलले ३५ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ । खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका अनुसार पछिल्लो वर्ष मधेश प्रदेशमा अहिलेसम्म चैते र वर्षे दुवै मिलाएर १४ लाख ७३ हजार ६ सय ३ मेट्रिक टन धान उत्पादन भएकोे छ ।  मन्त्रालयका अनुसार प्रदेशमा सबैभन्दा बढी बारा जिल्लामा धान उत्पादन भएको छ । कुल ५८ हजार २११ हेक्टर खेतीयोग्य जग्गामध्ये बारामा मात्रै २ लाख ३७ हजार ६९० मेट्रिक टन धान उत्पादन भएको हो । त्यहाँ प्रतिहेक्टर ४.०८ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको हो ।

पर्सा जिल्लामा कुल ४७ हजार ५० हेक्टर खेतीयोग्य जग्गामा कुल २ लाख २८ हजार ५६० मेट्रिक टन धान उत्पादन भएको छ । मधेश प्रदेशको पनि प्रमुख खेती धान नै हो । संघीय सरकारले बेवास्ता गर्दै आएकै हो र पनि प्रदेश सरकारले समेत यसतर्फ ध्यान पुर्याएको छैन । प्रदेश सरकार समेतले नारामा मात्र कृषिलाई सीमित राख्दै आएको छ । 


Author

थप समाचार
x