सम्पादकीय

सम्पादकीय

केपी र विद्यालाई किन देखी नसहेको भन्‍नेहरूका नाममा

इकागज |
जेठ ९, २०७८ आइतबार १२:० बजे

प्रश्‍न गरिन्छ— राष्ट्रपति विद्यादेवी भण्डारीजस्तो शालीन र प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो राजनेताको यति धेरै आलोचना किन ? 

केपी कम्पनीका सारथि मुखाले कमरेड र ‘ओलिंगाल’हरूले अझै पनि देशमा धेरैलाई भ्रममा राख्‍न सफल भएका छन् । जसले कर खान्छ, उसको आलोचना हुन्छ । आलोचना आउँदा पिर लाग्छ भने दुइटा मात्र उपाय छन्– एक, राम्रो काम गर्ने । दुई, राम्रो गर्न सकिँदैन भने कुर्सी छोड्ने । 


तर, अहिलेका शासकहरू यी दुई विकल्पतिर नलागी सधैँ तेस्रोतिर मात्र लीन छन् । नागरिकले आफ्नो पेट काटेर, मरुभूमिमा मरेर बुझाएको साधनस्रोतमा रजाइँ गरेर, बालुवाटारमा बसेर तिनै नागरिकलाई गालीगलौज गर्ने, अपमान गर्ने, थर्काउने, धम्क्याउने अधिकार कोही पनि शासकलाई छैन । घर बिग्रियो भने अपजस सबैभन्दा ठूलो मालिकलाई अर्थात् घरमूलीलाई जान्छ, ससाना सदस्यलाई सत्तोसराप गर्नु राजनीतिक निरक्षरता हो । 

बालुवाटारका यत्रा विद्वानहरू निरक्षर त हुने कुरै भएन, तर यिनले हामीलाई मूर्ख बनाउन, इस्युबाट बहकाउन यस्तो गर्छन् । हामी सत्य र तथ्यका पक्षमा सधैँ अडिग रहनुपर्छ । सत्तालाई प्रश्न गर्नु पनि सत्तालाई सहयोग गर्नु नै हो । सत्तासीनको चाकडी, चाप्लुसी, चुक्ली गर्नु चाहिँ शासकलाई झनै बदनाम गर्नु, खराब गर्न दुरुत्साहन गर्नु हो । असल मित्र त्यो हो, जसले तपाईंको आलोचना गर्छ । खराब मित्र त्यो हो जसले तपाईं सर्वांग नांगो भएर अभिनय गरेको नौटंकीमा पनि तपाईंको पहिरनको प्रशंसामा महाकाव्य रचना गर्छ ।  

अब लागौँ, केपी कम्पनीका सय खराब काममध्ये केही सात–आठओटा खराब कामको स्मरण गर्नतिर । 

सात दशकभन्दा लामो समयको प्रतीक्षापछि नागरिक आफैँले लेखेको संविधान बन्यो । संविधान अर्थात् गणतन्त्र-संघीयतालाई बामे सर्नसमेत नदिई कसले क्षतविक्षत पारिरहेछ ? केन्द्रीकृत र एकात्मक शासनले समानुपातिक विकास भएन, सरकार गाउँगाउँमा हुनुपर्छ भनेर संघीयता ल्याइयो । संघीयताको घाँटी निमोठ्ने हत्यारा को हो ? बालख संघीयताको घाँठी निमोठ्ने शासकलाई हामीले कान पनि ननिमोठ्दै उल्टै प्रश्‍नकर्ता नागरिकलाई हेप्‍ने ? निरीह र निर्धा करदाता नागरिकलाई नै सत्ताको कुर्सीबाट गालीगलौज दिने ? प्रदेश सरकारहरूलाई कसले पंगु बनाइरहेछ ? स्थानीय सरकारहरूलाई कसले हेपिरहेको छ ?
 
जननिर्वाचित थलो संसद्लाई पटकपटक हत्या गर्ने, सांसदलाई अपहरण गर्ने, बन्धक बनाउने, पार्टी फोड्ने जस्ता गन्जागोल र दादागिरी कसले गर्‍यो ? शान्ति, अमनचैन, सुव्यवस्थाको ठेक्का लिएको, अभिभावक भनिएको ओली सरकार कसरी देश र देशवासीको रक्षक ? भक्षकको व्यवहार मात्र गर्नेलाई रक्षक भनिँदैन । नत्र भने आफूले नियुक्ति दिएका आफ्ना अनुचर दास प्राज्ञहरूलाई शब्दकोशमा रक्षकको अर्थ बदल्न निर्देशन दिए हुन्छ !
 
नागरिकहरू दिनैदिनै मरिरहेछन् । खासमा सरकारद्वारा मारिइरहेछन् । सरकारको कार्यशैलीले मरिरहेका छन् । यिनलाई मर्न कसले उक्सायो ? गालीगलौजमा कसले आमसभा गरिरह्यो ? राममेला र टावर मेलामा सामाजिक दूरी थियो ? कोरोना केही होइन, म नै हुँ डाक्टर, म नै हुँ वैज्ञानिक, म नै अनुसन्धाता हुँ भन्दै कसैको क्‍वोट चाहिँदैन भनेर संसद्मै पाखुरा सुर्किने केपी कम्पनी यो सब मृत्युको जिम्मेवार होइन ? 

कर तिर्ने गरिब नागरिक न्यूनतम स्वास्थ्यसेवा समेत नपाई मारिने अनि कर खाने केपी कम्पनी चाहिँ आफ्नो सानोभन्दा सानो उपचारमा करोडौँ स्रोत सक्ने, आसेपासेहरूलाई बाँड्ने ? केपी कार्यकालमा कति सरकारी स्वास्थ्य संरचना थपिए ? फ्रन्टलाइनर्सको भत्तासमेत रोक्ने यो केपी सत्ताले कोभिडमा के गर्यो ? समाजवादको नारा लगाउने, कम्युनिस्ट हुँ पनि भन्‍ने अनि शिक्षा र स्वास्थ्यको चरम नाफाकरण झनै बढाउने केपी ओली कसरी समाजवादी, कसरी कम्युनिस्ट, कसरी लोकतान्त्रिक ? 

कार्यपालिकामा शक्ति धेरै हुन्छ । जहाँ शक्ति र स्रोत धेरै हुन्छ, त्यहाँ खराबी धेरै हुन्छ । त्यसैले कार्यपालिका र यसका अंगहरूको खराबी रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग, लोकसेवा आयोगजस्ता संवैधानिक संस्था उभ्याइएको हो । यिनलाई ओलीले आफ्नो स्वार्थपूर्ति गर्ने औजार यसरी बनाएका छन् कि यी आयोगका हाकिमहरू निर्देशन लिन बालुवाटार धाउँछन् । हिजै मात्र निर्वाचन आयुक्तलाई ओलीले आफ्नो निवासमा बोलाई ‘निर्देशन’ दिएको खबर छ । 

केपी कम्पनीले तात्तातै दिने हर गालीगलौज जवाफ हुन्थे भने ओली सरकार जति जवाफदेही सरकार दुनियाँमा अर्को थिएन, छैन र हुनेछैन । 

के आयोग ओलीको निर्देशन शिरोपर गर्ने बालुवाटारको शाखा कार्यालय हो ? अनि यिनै ओलीबाट सुशासनको गफ सुनेर कति पत्याउने ? संस्थानमा नियुक्तिका लागि बनाइएको बोर्ड यिनैले खारेज गर्ने अनि सुशासनको प्रवक्ता पनि यिनै भइरहने ? भ्रष्टाचारविरुद्ध संसारभरि नै जसो काम गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनल नामक संस्थालाई सरकारी आक्रमण गर्ने अर्थात् ऐना फुटाउनतिर लाग्‍ने आफ्नो भ्रष्ट अनुहारतिर नहर्ने, ओली सरकारको रवैया सुशासनवादी छ ?
 
सरकारी जग्गा निजीलाई दिने, स्वास्थ्य निजीलाई दिने, विद्युत् प्राधिकरण निजीलाई दिने, सामग्री खरिद निजीलाई दिने, हर खरिदमा कमिसन असुल्ने, नेपाल एकेडेमीको जग्गासमेत निजीलाई दिने अनि यिनैले आफूलाई मार्क्‍सवादी भनिरहने ? राज्य बलियो हुनुपर्छ, शिक्षा-स्वास्थ्य जस्तो संवेदनशील विषयमा नाफावाले साहुहरूलाई ढिम्किनै दिनुहुन्‍न भन्‍ने मन्त्र ‘कम्युनिस्ट कखरा’ होइन ? कम्युनिस्ट कखरा नै लत्याएको रामप्रेमी मान्छेलाई कम्युनिज्मको प्रा.डा. ठान्‍नेहरूलाई रामराम मात्र भन्‍ने सकिन्छ । 

ओलीले कस्तालाई सरकारी नियुक्ति दिएका छन्, यसैबाट उनको चरित्र प्रस्ट हुन्छ । दिनरात गालीगलौज गर्नेलाई रेल अड्डामा नियुक्ति दिएका छन् । बालुवाटारमा त यिनले मुखाले, छुद्र, तुच्छ बोली बोल्नेलाई मात्र साथमा राखेका छन् । नागरिकको कर खाएर नागरिकलाई, प्रश्‍नकर्तालाई, पत्रकारलाई अपमानजनक गालीगलौज गर्ने शासकहरूको प्रतिस्पर्धा गरियो भने ढुक्क भए हुन्छ, यिनीहरूले दुनियाँमै पहिलो स्थान ल्याउँछन् । त्यसैले यो सरकार असंवैधानिक मात्र छैन, अश्लील पनि छ ।

आफूले औपचारिक गरिमामय सार्वजनिक शपथ समारोहमा प्रधानमन्त्रीबाटै ‘त्यो पर्दैन’ भन्‍ने अपमानजनक भनाइ खाने, उल्टै हिँहिँ गरेर हाँस्‍ने अनि मलाई सम्मान पुगेन भनेर ओलीलाई भन्‍न लगाउने ? राष्ट्रपति र प्रधानमन्त्रीलाई कस्तो सम्बोधन, सम्मान, आदर चाहिएको हो  ? कृपया अध्यादेश जारी गरियोस् ।
 
जातीय, लैंगिक हिंसाका कुनै पनि मुद्दामा अनुसन्धान र कारबाही गर्न नचाहने ओली सरकारको प्रशासन सुशासनमा पुछारसम्मै गिरेको छ । निर्मला पन्त, माया विक, अंगिरा पासी, नवराज विक काण्डमा ओली र ओलीका सारथि रामबहादुर थापाले के–कति काम गरे ? रामराज्य हो कि हरामराज्य, छर्लंग छैन ? 

डेढ वर्षदेखि नेपाली जन कोभिड-१९ को चक्रव्यूहमा छन् । आधा जनसंख्यासित कुनै बचत र कमाइ छैन । गरिबी झनै बढेको छ । भोकाहरू बढेका छन् । सूर्यबहादुर तामाङहरू भोकले मारिएका छन् । राहतका कार्यक्रम खै कति ल्यायो यो सरकारले ? यी गरिबमाराहरूलाई शासक भन्ने कि शोषक ? 

आफ्नो घरका परिवारका सदस्य अक्सिजन नपाई भटाभट मरिरहेका बेला मारिनेहरूको कमाइमा मोज गरिरहको शासक मल्हम हैन, मतपत्र लिएर आउँछु भनिरहेछ । चुनावको विरोध गर्दा अलोकतान्त्रिक पनि देखिने भएकाले उसले हामीलाई ‘इमोसनल ब्ल्याकमेल’ गरिरहेछ । कोही पनि भ्रमित नभएर ढुक्कले भन्दा हुन्छ— यो चुनावको बेला होइन । ओली चुनाव चाहँदैनन् पनि । चुनाव गर्ने उनको नियत होइन, सत्ता लम्ब्याउने षड्यन्त्र मात्र हो । र, स्वयं अवैधानिक, अनैतिक, अराजनीतिक र अलोकतान्त्रिक प्रधानमन्त्रीलाई चुनाव गराउने कुनै अधिकार छैन । 

नागरिकका हर प्रश्‍नमा उनीहरू तात्तातै गालीगलौज दिन्छन् । ती सबै गालीगलौज जवाफ हुन्थे भने ओली सरकार जति जवाफदेही सरकार दुनियाँमा अर्को कोही थिएन, छैन र हुनेछैन । 


Author

थप समाचार
x