सम्पादकीय

सम्पादकीय

अब चाहिँ भित्रन्‍छ कि त मेलम्ची

इकागज |
माघ २७, २०७७ मंगलबार १०:१२ बजे

‘के साँच्चै चैतमै मेलम्चीको पानी आउँछ त ?’ अनगिन्ती पटक ठेक्का रद्द हुँदै, विवादित बन्दै भाका फेर्दै टाढिइरह्यो, मेलम्चीको पानी । त्यसकारण पनि मेलम्ची भाकाभित्र आमआशंका सँधैभरि रहिरह्यो । अझ पनि काकाकूल काठमाडौंवासीलाई चैतमै मेलम्चीको पानी पिउन पाइन्‍छ भन्‍ने विश्वास छैन । अर्थात्, मेलम्चीको पानी आफ्‍नो धारामा नखसेसम्म त्यो शंका यथावत् रहन्‍छ । किनभने अघिल्लो वर्षकै दशैँमा मेलम्चीको पानी पिउन पाइन्‍छ भनी सरकारी उद्घोष आएकै थियो, बीचैमा सरकार-ठेकेदार अनपेक्षित द्वन्द्व चल्यो । मेलम्चीको भाका फेरि धकेलिन पुग्यो ।

मेलम्चीको पानी कथा बन्‍ने हो कि आम आशंकाबीच खानेपानी सचिवले चैतभित्र पानी काठमाडौँका धारामा झर्ने विश्वास व्यक्त गरेका छन् । अब बीचमा कुनै गडबडी नभएको खण्डमा मेलम्ची भित्रिन्‍छ कि भन्‍ने आशा गर्न सकिने ठाउँ छ । २०४६ सालको जनआन्दोलनपछि गठित प्रजातान्त्रिक सरकारले अघि बढाएको मेलम्ची आयोजना ३१ वर्षपछि पूरा हुन लागेको छ । त्यतिबेला दैनिक ५१ करोड लिटर पानीको आपूर्ति हुँदा सडक धुन पुग्थ्यो र नै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानीले सडक सफा गर्ने नारा लगाएका थिए ।


मेलम्ची एउटा बृहत् र जटिल संरचनायुक्त आयोजना हो । नेपालमा विकास निर्माण गर्न कति कठिन छ भन्‍ने उदाहरण नै मेलम्ची हो । राजनीतिक अस्थिरताका कारण मन्त्री फेरिने र नीति पनि बदलिने परिपाटीस्वरुप मेलम्चीमा व्यापक भ्रष्टाचार हुन पुग्यो । सिन्धुपाल्चोकको मेलम्ची खोला र सुरुङ प्रवेश गर्ने सडक खन्‍नै वर्षौँ लाग्यो । पटक-पटक ठेक्का रद्द भए । पुनः अर्को ठेक्का लगाउनु पर्‍यो । ४६ करोडको सडक ठेक्का रद्द गरेर ९६ करोड रुपैयाँमा अर्को ठेक्का लगाइयो ।

साढे २६ किलोमिटर सुरुङ खन्‍ने ठेक्का पनि पटक पटक भए । स्थानीयवासीका अवरोध त्यत्तिकै क्रियाशील रहे । ठूला-ठूला विकास निर्माण र पूर्वाधार बनाएको अनुभव नभएका खानेपानी क्षेत्रका जनशक्तिले समयमा ठेक्का व्यवस्थापन गर्न सकेनन् । अस्थिरतामा रमाएका सबै राजनीतिक दलहरुको कमाउने भाँडो पनि मेलम्ची नै भयो ।

बहुदलीय प्रजातान्त्रिक व्यवस्था असफल तुल्याउन चाहने तत्वहरुका लागि यो व्यवस्था ठीक छैन भनी देखाउने एउटा गतिलो उदाहरण नै मेलम्ची भयो । मेलम्ची आयोजना प्रमुख स्वयं ट्यांकर व्यवसायी भए । यी यावत् कारण मेलम्ची ढिला हुन पुग्यो । त्यसमाथि मुलुकको प्रचलित सार्वजनिक खरिद ऐनले चोरबाटोबाट कमाउन पल्केका ठेकेदारलाई सुनपानी छर्केजस्तो भयो ।

तत्कालीन खानेपानी मन्त्री बीना मगरले ठेकेदार सीएमसीलाई भुक्तानी नरोकेको भए मेलम्ची दुई वर्षअघि आइसक्थ्यो ।

यति हुँदाहुँदै पनि मेलम्चीको विकल्प थिएन र छैन । यतिखेर दैनिक ४१ करोड लिटर पानीको माग छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मुश्किलले १० करोड लिटर पानी उपलब्ध गराउन सक्छ । त्यसमाथि करिब २० प्रतिशत चुहावट छ । पुराना पाइप र संरचनाका कारण अमृतसमानको पानी त्यसै खेर गइरहेको छ । मेलम्चीको पानी उपत्यकामा ल्याउने मात्र होइन, ल्याइएको पानीलाई सहज र वैज्ञानिक तवरले वितरण गर्नु अर्को चुनौती हो । आगामी वैशाखदेखि मेलम्चीको पानी आइसकेपछि उपत्यकाका विशेष गरी मेलम्चीको दायरामा आउने घरधुरीमा सहज रुपले पानी वितरण गर्न अझै एक वर्ष लाग्छ । नयाँ प्रणालीको जडान, पुरानाको मर्मतलगायतका अत्यन्त कठिन कार्य पनि सँगसँगै भइरहेका छन् ।

पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर उपलब्ध हुनेछ । सिन्धुपाल्चोकको याङ्ग्री र लार्केको पानी नमिसाएसम्म मेलम्ची पूर्ण हुँदैन । अब नौ किलोमिटर अर्को सुरुङ खन्‍न बाँकी नै छ । पहिलो चरणको १७ करोड लिटरको कार्य सकिएपछि मात्र अर्को ३४ करोड लिटरको काम सुरु गर्ने भनिएको छ । यस हिसाबले पूर्ण मेलम्ची अझै प्रतीक्षाकै विषय छ । थप सुरुङका साथै ३४ करोड लिटर अट्ने पानी प्रशोधन केन्द्र बनाउनै बाँकी छ । यी सबै अवयव पूर्ण भएपछि मात्र बल्ल उपत्यकाको खानेपानीको माग धेरै हदसम्म सम्बोधन हुन्‍छ ।

उपत्यकाको हरेक वर्ष चार करोड लिटर खानेपानीको माग बढिरहेको छ । ट्यांकरबाट मात्रै दैनिक पाँच करोड लिटर पानी बिक्री हुन्‍छ । जारमार्फत् दैनिक २० लाख लिटर आपूर्ति हुँदै आइरहेको छ । यी सबै आपूर्तिको चाप भूमिगत स्रोतमा परेको छ, जुन अन्ततः उचित होइन । भूमिगत पानी दोहन रोकिएन भने उपत्यकाको भूमिगत पानी सतह घट्दै गएर भासिन जाने विज्ञहरुले चेतावनी दिँदै आएका छन् । २०७२ को भूकम्पमा गोंगबुका केही स्थान भासिनुमा अत्यधिक भूमिगत पानी दोहन पनि एक थियो ।

तत्कालीन खानेपानी मन्त्री बीना मगरले ठेकेदार सीएमसीलाई भुक्तानी नरोकेको भए मेलम्ची दुई वर्षअघि आइसक्थ्यो । तीन दशक लगाएरै भए पनि अब भने मेलम्ची आउन लागेको छ । मेलम्ची आयोजनाले राजनीतिक दल, कर्मचारीतन्त्र, नेता तथा उपनेताहरुको चरित्र उदांगो पारिदिएको छ । आगामी दिनमा यस्ता बृहत् आयोजनामा राजनीति बन्द हुने हो भने सहज हुन्‍छ भन्‍ने पाठ मेलम्चीले सिकाएको छ ।

र, यो पनि
- मेलम्ची सपना लगभग पूरा हुँदै
- मेलम्चीको पानी चैतमा काठमाडौँवासीको धारामा छाड्‌न यसरी हुँदैछ काम (फोटोफिचर)


Author

थप समाचार
x