सम्पादकीय

सम्पादकीय

समाज भोकालाई नुन खुवाउने, सरकार घाउमा नुन छर्किने

इकागज |
कात्तिक १९, २०७७ बुधबार १०:१० बजे

संविधानलाई सर्वोच्‍च कानुन किन मानिन्छ भने यो भन्दा माथि केही र कोही हुँदैन, यदि त्यो देशले आफूलाई विधिअनुसार चल्ने, जनभावनाको कदर गर्ने लोकतान्त्रिक राज्य दाबी गर्छ भने । ‘प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुनेछ,’ संविधानमा यसमै थपिएको छ, ‘प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ, ... खाद्य सम्प्रभुताको हक हुनेछ ।’

हाम्रो सभा निर्मित संविधानमा यस्ता हकहरूको घारी नै छ । संविधान र कानुन, पार्टीका घोषणा र सरकारका नीति कार्यक्रममा नेपाली नागरिकका लागि के-के हक छन् भनी खोज्नुभन्दा के चाहिँ हक छैनन् त भनेर खोज्नु सजिलो र संक्षिप्त हुन जान्छ ।


का‘नुन’मा शब्दमै सही ‘नुन’ पनि छ । तर, कानुन कार्यान्वयनकर्ताको व्यवहारमा न नुन छ, न केही सुन्छ । तर पख्नुस्, सरकारसित नुन पनि छ । खुवाउन हैन, पीडाको घाउमा छर्किदिन । खुलामञ्चलाई ‘भोकामुक्त क्षेत्र’ घोषणा गर्ने काठमाडौँ महानगरपालिकाको अभियान खासमा नुन वितरण अभियान हो । पोलेको घाउमा मल्हम लगाइदिनेलाई अभिभावक भनिन्थ्यो अब नुनचुक दलिदिने यस्ता ‘अभिभावक’लाई के भन्ने होला ?

संघीय भन्नुस् वा प्रादेशिक वा स्थानीय सरकार, गरिबको जनजीविकाका विषयमा कुनै सरकारलाई कुनै सरोकारै छैन । हाम्रो राज्यका अंगहरू आम नागरिकलाई कामै नलाग्ने गरी कोही नंग्न नृत्यमा, कोही मस्त निद्रामा त कोही रमितामा छन् । राज्यका अन्य अंगहरू र आयोगहरू पनि निष्क्रिय छन्, शिथिल छन् । जवाफदेहिता र उत्तरदायित्व भन्ने शब्दलाई सरकारहरूले शव बनाइदिइसकेका छन् । शासकका पदीय कुर्सीमा सधैँ रहनुपर्ने यी शब्द अब केवल शब्दकोशमै मात्र छन् ।

शासकहरू न भोकाहरूको आर्तनाद सुन्छन्, न चाउरिएका पेट देख्छन्, न ग्याट्रिकको ढ्याउव सुँघ्छन् । पीडामा शासकहरू कतिसम्म कठोर र निदर्य हुन्छन् भन्ने उदाहरण खोज्न ‘खुलामञ्चमा नखुवाउनू, होटेलमा खुवाउनू’ भन्ने सनक सम्झे पुग्छ ।

झन्नै वर्ष दिन पुग्न लागेको कोभिड-१९ को महामारीका कारण गरिबको भान्सा रित्तो र चुलो चिसो हुन थालेको कति भयो कति ! ठालू शासक-प्रशासकहरूलाई जस्तो गरिबलाई यतै कमिसन, उतै करप्सन, यतै दलाली, उतै भत्ता, यतै नाफा, उतै लाभ, यतै ब्यालेन्स, उतै गिफ्ट हुँदैन । धनीमानीहरूलाई आफ्नो बैंक खातामा दसैँ पेस्की आएको हो कि घूस आएको हो वा घूसको बाह्रौँ किस्ता आएको हो वा घूसको अग्रिम पेस्की, हिसाब गरिसाध्यै हुन्न ।

‘परिस्थितिको वस्तुगत एवं वैज्ञानिक संश्लेषण र विश्लेषण’ गर्न सिपालु माक्र्सवादी कमरेडहरूले खान नपाए मान्छे मर्छ भन्ने विज्ञानलाई समेत प्रतिक्रान्तिको पुँजीवादी पूर्वाभास देखे कि कसो हो ?

उनीहरूलाई करोड पनि कत्ति होइन । तर, गरिबका लागि एक सुका कमाइ छैन, बचत छैन, दिनमा दुई घण्टा हिँडेर एक छाक खान पाएर पेट उकास्न पाउनु नै लाख छ । जिन्दगीकै ठूलो सपना भनेको खुलामञ्च पुगी खानकी भेटाउनु । जब कि कुनै बेला यस्ता दिन थिए, यही जमात खुलामञ्च पुगी यिनै शासकका भाषण सुनेर मुग्ध हुन्थे ।   ती मुग्ध थिए, अब क्रुद्ध छन् । आँखा नझिम्याइबक्सियोस् ।

शासक तिनै गरिबको कर खाएर पाँच तारे होटेलमा शयन गरिरहँदा गरिबहरू खुला आकाशमुनि पाँच लाख तारा गन्दै बस्नुपर्ने यो समाजवादउन्मुख देशमा कम्युनिस्टको दुई तिहाइ बलियो सरकार छ । कम्युनिस्टहरू भन्छन्, हामी सर्वहारा, हाम्रो वर्गीय पक्षधरता जहिल्यै निर्धा र निमुखाप्रति । हामी गरिबका साथी । हामी भोकानांगा, मजदूर, किसानका मुक्तिदाता ।

शासक यसरी फेरिए कि यिनले निमुखाहरूको खाने मुख हुन्छ भन्ने नै बिर्सिए । गरिबको पेट हुन्छ भन्ने नै भुले । ‘परिस्थितिको वस्तुगत एवं वैज्ञानिक संश्लेषण र विश्लेषण’ गर्न सिपालु माक्र्सवादी कमरेडहरूले खान नपाए मान्छे मर्छ भन्ने विज्ञानलाई समेत प्रतिक्रान्तिको पुँजीवादी पूर्वाभास देखे कि कसो हो ? खुलामञ्चको खानकीलाई खुमलटारको स्वादिलो सितन भन्ठाने कि कमरेडहरूका अनेकन् टारमा पाक्ने चौरासी व्यञ्जन भन्ठाने ? खुलामञ्चमा निःशुल्क भोजन गर्न लङ मार्चमा यात्रारत उनीहरू मार्सीभोजमा हिँडेका सर्वहारा-सर्वहारी त पक्कै होइनन् । आकाशका तारा झारिदिने गफ मात्र खुवाउन हुने खुलामञ्चबाट गरिबका बंगारै दुख्ने गरी मासुभातै खुवाउनु खुवाउनेकै दोष हो, शासकलाई लाज हुने गरी यसरी खुवाउनुभन्दा सोल्टीतिर लगेर पनि त खुवाउन सकिन्थ्यो !

आफूले खुवाउनु त कता कता, अरुले खुवाएको पनि देखी नसहने शासकहरूले गरिबीबाट मुक्ति हैन, गरिबको मुक्ति खोजेजस्तो छ । हुन त भोकाएकालाई रोटी दिए ऊ खानैमा भुल्छ र क्रान्तिमा हिँड्दैन । त्यसैले गरिबलाई ‘तँ किन खान नपाउने भइस्’ भनेर अर्ति दिए, ऊ बुरुक्क उचालिएर क्रान्तिमा हिँड्छ । अब यो सरकार पनि रोटी नदिएर पुँजीवादी अभियानमा नलागेको हुनुपर्छ । गरिबलाई माछा दिनुभन्दा जालै दिने भनेर जाली योजना बुन्दै होला, सायद सरकार ।

अभिभावक त्यसलाई भनिन्छ, जसले घर-परिवारको संरक्षण गर्छ, हरेक कुराको प्रबन्ध मिलाउँछ । सन्तानहरू सबैको कमाइ लिन्छ भने सन्तानहरूका आवश्यकताको प्रबन्ध मिलाउनु उसको न्यूनतम कर्तव्य हो । बराबर माया र महत्व अनि संरक्षण र सम्मान पाउनु हर सन्तानको अधिकार हो । अभिभावक अन्यायी र अविवेकी भयो भने परिवारमा विद्रोह र भाँडभैलो त हुन्छ नै । यस्तो अव्यवस्थाको जिम्मेवारी फेरि सन्तानको हैन, सन्तानको कमाइ खाने तर काम फिटिक्कै गतिलो नगर्ने अभिभावककै हुन्छ ।

अभिभावकले विवेक, न्याय र कर्तव्य पालना राम्ररी गर्नुपर्छ । हैन भने सम्हाल्न सकिनँ भनेर सर्लक्क छोड्नुपर्छ । यहाँ निर्विकल्प र स्थायी भन्ने कुनै केही छैन । कोभिड उपचार महँगो भएर गरिबले आत्महत्या गरेका अखर आइरहेका छन् । गरिबको मुक्ति गर्छौ भनेको गरिबलाई मार्छौं भनेको हो ? गरिब सबै मरे गरिबी उसै अन्त्य, सरकारहरूको चाहना यही हो र ?

नोट : हामीले शीर्षक परिवर्तन गरेका छौं- सं


Author

थप समाचार
x