शिक्षा

अनेरास्ववियू र सरस्वती क्याम्पसबीच सहमति, ताला खोलिने

इकागज |
माघ २९, २०८० सोमबार २०:१० बजे

काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र सरस्वती बहुमुखी क्याम्पसबीच सहमति भएको छ । 

माघ २८ गते क्याम्पसका प्रमुख डा. गोलमान गुरुङ, स्ववियु अध्यक्ष मुस्कान राज गौतम र अनेरास्ववियू अध्यक्ष रामबहादुर मल्लबीच बसेको बैठकले सहमति गर्ने निर्णय गरेको हो ।


यसअघि अनेरास्ववियूले विभिन्न ७ बुँदे माग राख्दै माघ ३ गते क्याम्पसमा तालाबन्दी गरेको थियो ।

अनेरास्ववियूले आय व्ययको विवरण सार्वजनिक गर्नुपर्ने र सोको पारदर्शिता कायम गर्नुपर्ने, प्रशासनिक काम कारबाही छिटो छरितो गर्नुपर्ने र सबै कामहरू अनलाइन प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउने, विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूलाई पुस्तकालयबाट सहज रूपमा किताबहरू उपलब्ध गराउने र क्याम्पसमा बैंकको एक्सटेसन काउन्टर यथाशीघ सञ्चालन गर्नेुपर्ने माग राखेको थियो ।

त्यस्तै विद्यार्थीहरूको सहजीकरणको लागि रिसेप्सन कक्षको स्थापना गर्ने, पठनपाठनको लागि कक्षाकोठाहरूको अभाव भएका कारण भौतिक संरचना निर्माण तथा व्यवस्थापन गर्नुपर्ने र स्वतन्त्र विद्यार्थी युनियनको खाता यथाशीघ्र सञ्चालन गर्ने माग राखेर तालाबन्दी गरेको थियो ।

ती सबै मागहरूको सम्बोधन हुने भएपछि क्याम्पसको ताला खोल्ने अनेरास्ववियूले उल्लेख गरेको छ ।

 


Author

थप समाचार
x