स्थानीय तह निर्वाचन २०७९

नेकपा समाजवादीका यी उम्म‍ेदवार : जो धरौटी जफतको अवस्थामा पुगे

सरिता दाहाल |
जेठ ३, २०७९ मंगलबार १०:२८ बजे

मकवानपुर- स्थानीय तह सदस्य निर्वाचन २०७४ मा नेकपा एमालेबाट भारी मतान्तर सहित विजयी भएका नेतृत्वहरू पुनः त्यहि पदमा दोहोरिन खोज्‍दा  धरौटी जफतको अवस्थामा पुगेका छन् । 

नेकपा एमाले विभाजनसँगै एकीकृत समाजवादी रोजेका र सोही पदमा फेरि उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्षहरूले लज्जास्पद हार व्यहोरेका छन् । एक वडा अध्यक्षको पनि हालत उस्तै हुने संकेत देखिएको छ । 


मकवानपुरको इन्द्र सरोबर गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा हालका अध्यक्षमा उम्मेदवार जीवन लामा र कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् हाल अध्यक्षका उम्मेदवार रहेका टंक मोक्तानले लज्जास्पद हार बेहोरेका हुन् ।

यता बकैया गाउँपालिका ७ का वडा अध्यक्षका उम्मेदवार रामकाजी लामिछानेले पनि लामो मत अन्तरमा हार व्यहोर्नुपर्ने लक्ष्यण देखिएको छ । 

कैलाशका टंक मोक्तानले यो पटक १ सय २० मत मात्र ल्याएपछि उनको धरौटी जफत भएको छ ।  अघिल्लो निर्वाचनमा एमालेबाट उम्मेदवार हुँदा झण्डै ३ हजार मत ल्याएका उनको मत यसपटक एकीकृत समाजवादीबाट उम्मेदवार हुँदा १२० मतमा खुम्चिए । उनी स्थानीय तह निर्वाचन २०७४ मा २ हजार ८ सय २ मत ल्याउँदै एमालेबाट विजयी भएका थिए । 

यसै गरी मकवानपुरको इन्द्र सरोबर गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष जीवन लामाले पनि एमालेबाट उम्मेदवार हुँदा २०७४ को निर्वाचनमा भन्दा यसपटक एकीकृत समाजवादी हुँदा लामो मतान्तरमा हारे । 

उनले हालको निर्वाचनमा जम्मा ४ सय ७९ ल्याएका छन् । गत स्थानीय तहको निर्वाचनमा लामाले ३ हजार २ सय ४ मत ल्याएर एमालेबाट विजयी भएका थिए । 

यता बकैया गाउँपालिका ७ का वडा अध्यक्षका उम्मेदवार रामकाजी लामिछानेले पनि लामो मत अन्तरमा हार व्यहोर्नुपर्ने लक्ष्यण देखिएको एकीकृत समाजवादीका एक नेताले बताए । बकैयाको यो वडामा हालसम्म २ हजार ६ सय मत गणना गर्दा लामिछानेले जम्मा ५ मत पाएका छन् भने उनको प्रतिस्पर्धीले ८९२ मत ल्याएका छन् ।

 


Author

थप समाचार
x