स्थानीय तह निर्वाचन २०७९

६ महानगरमा शून्य हुँदै एमाले

इकागज |
जेठ १०, २०७९ मंगलबार १६:५२ बजे

काठमाडौं–स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । ७ सय ५३ पालिकामध्ये ७ सय १४ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । अब मात्रै १२ पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ । देशभरका पालिकाकाे नतिजामा एमाले दाेस्राे हुँदा ६ महानगरपालिकामा भने शून्य हुने देखिएको छ ।

२०७४ को निर्वाचनमा कांग्रेस–एमालेले समान २–२ महानगर जितेका थिए भने माओवादी र जसपाले समान १–१ मा जित हासिल गरेका थिए । अघिल्लो निर्वाचनमा महानगरमा जित हासिल गर्ने दलले यसपटककाे निर्वाचनमा फेरि जितेर  विरासत जाेगाउँदै गर्दा एमालेले भने पहिले जितेका महानगर पनि गुमाउँदै शून्य हुने भएकाे छ ।


हालसम्मकाे मतगणनामा ६ महानगरमध्ये विराटनगर, वीरगञ्ज र भरतपुरको नतिजा आइसकेको छ । काठमाडाै‌ं, ललितपुर र पाेखरा महानगरकाे भने मतगणना जारी छ ।

भरतपुरमा माओवादीकी रेणु दाहाल विजयी भइसकेकी छिन् । उनले एमालेका विजय सुवेदीलाई १२ हजार बढी मतले हराएकी हुन् । वीगञ्जमा जसपाका उम्मेदवार राजेशमान सिंहले फराकिलो मतान्तरले एमालेका विजय सरावगीलाई हराए । विराटनगरमा कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन् । उनले एमालेका सागर थापालाई ९ हजार बढी मतले हराए ।

नतिजा सार्वजनिक हुन बाँकी रहेका ३ महानगरपालिकामा पनि एमाले पछाडि छ । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह अग्रस्थानमा छन् । दोस्रोमा कांग्रेसकी सिर्जना सिंह छिन् भने तेस्रो स्थानमा एमालेका केशव स्थापित छन् ।

हालसम्मको मत गणनामा बालेनले स्थापित दलका उम्मेदवारलाई १९ हजार बढी मतले पछाडि छाडेका छन् । बाँकी रहेको मत गणनामा कांग्रेस र एमालेका उम्मेदवार एक्लैले सबै मत ल्याउँदा मात्रै जित हासिल गर्न सक्ने देखिन्छ । जुन असम्भव छ जस्तै छ । किनकी बालेनले भित्री ‘कोर एरिया’ लगायतका सबै क्षेत्रमा राम्रै मत पाएका छन् । जसले उनको जित निश्चित जस्तै बनेको छ ।  काठमाडौंमा एमाले र कांग्रेसका उम्मेदवार दोस्रो स्थानको लागि मात्रै लडाइँ हुने देखिन्छ ।

ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजय हुने निश्चित भएको छ । ३ हजार मत गन्न बाँकी रहँदा महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई  १६ हजार बढी मतले पछाडि पारिरहेका छन् ।

बाँकी रहेको पोखरा महानगरपालिकामा हालसम्मको मतगणनामा एमालेका उम्मेदवार कृष्णबहादुर थापा दोस्रो स्थानमा छन् । पहिलो स्थानमा रहेका एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य ५ हजार बढी मतले अगाडि छन् ।

धनराज र उनका प्रतिस्पर्धी एमालेका थापा पार्टी विभाजन हुनु अगाडि दुवै एमालेमा थिए । पछि पार्टी विभाजन पछि आचार्य माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गए भने थापा एमालेमै रहेका थिए । हालसम्मको मतपरिणाम हेर्दा  आचार्य आफ्ना पूर्व सहकर्मीलाई पछि पार्दै जित तर्फ लम्किरहेका छन् ।


Author

थप समाचार
x