ऊर्जा

दोर्दी-१ जलविद्युत् आयाेजना निर्माण सम्पन्‍न, प्रसारणलाइन नहुँदा विद्युत् उत्पादन सुरू भएन

इकागज |
साउन २२, २०७९ आइतबार १७:४९ बजे

लमजुङ- लमजुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी-१ जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित १२ मेगावाटकाे उक्त आयोजनाले विद्युत् उत्पादन परीक्षणसमेत गरिसकेकाे छ । तर, प्रसारणलाइन नहुँदा नियमित विद्युत् उत्पादन भने गर्न पाएकाे छैन । 

हाल व्यावसायिक विद्युत् उत्पादनका निम्ति प्रसारणलाइनको प्रतीक्षामा रहेको आयोजना प्रमुख उज्ज्वल सिलवालले बताए ।


यसअघि चैत २०७६ मा आयाेजना निर्माण पूरा गर्ने भनिए पनि दोर्दी खोलामा आएको बाढी र कोभिड-१९ को प्रभावसँगै सरकारले जारी गरेको लकडाउनका कारण निर्माण अवधि लम्बिएको हो ।

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक साढे तीन किलोमिटर लामो प्रसारणलाइन आयोजना आफैँले निर्माण गरिसकेको छ ।

प्रचलित नियमावलीअनुसार ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमतिपत्र लिएर प्राधिकरणसँग १०.३ मेगावाट विद्युत् खरिद सम्झौता गरेको छ । पीपीएमा सहमतिअनुसार सुख्खायाम पुसदेखि ८ चैतसम्म ८ रुपैयाँ ४० पैसा र बाँकी समय हिउँदमा चार रुपैयाँ ८० पैसामा खरिद मूल्य कायम भएको छ । पीपीएदर पाँच वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतले बढ्ने सम्झौतामा उल्लेख छ ।

२०७४ सालबाट सुरु भएको सो आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न दुई अर्ब २९ करोड रुपैयाँ खर्च अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँच वटा बैंकले ऋण लगानी गरेका छन् ।

विद्युत उत्पादनका निम्ति दोर्दी करिडोरअन्तर्गत १३२ केभी प्रसारणलाइनमार्फत कीर्तिपुर सबस्टेसनमा जोडिएको छ । तर, गत वर्षको बाढीका कारण प्रसारणलाइन पुन: निर्माण नहुँदा आयोजनाले विद्युत् उत्पादन गर्न नपाएको हो । 

तत्कालका लागि मर्स्याङ्दी करिडोरअन्तर्गतको २२० केभी प्रसारणलाइनअन्तर्गत उदिपुर सबस्टेसनमा जोड्ने तयारी गरे पनि सो प्रसारणलाइन पनि निर्माण सम्पन्न नभएकाले आयोजनाले विद्युत् उत्पादन गर्न नपाएको आयोजना प्रमुख सिलवालले बताए ।


Author

थप समाचार
x