ऊर्जा

अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण, प्रतिरोपनी ११ लाख ७५ हजार तोकियो

इकागज |
जेठ ११, २०८० बिहीबार २०:३० बजे

किमाथाङ्का​- सङ्खसवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवासडक खण्डको जग्गा छुट मुआब्जााको दररेट निर्धारण गरिएको छ । 

अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवा (०–२४ किमी) सडक खण्डको जग्गा छुट मुआब्जाको दररेट निर्धारण भएको हो । सरकारले जग्गा अधिग्रहण गरेको करिब १४ वर्षपछि स्थानीयवासीले जग्गाको मुआब्जाा पाएका हुन् । स्थानीयवासीले लामो समयदेखि मुआब्जााको माग राख्दै आन्दोलन गरेपछि सरकारले मुआब्जाा दिन छुट जग्गाको यकिन विवरण र अन्यसम्बन्धी प्रतिवेदन तयार पार्न कार्यदल गठन गरेको थियो । 


विसं २०७५ चैत १ मा सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा आयोजना प्रवेशमार्ग छ्याङकुटी–दिदिङअन्तर्गत छुट जग्गाको यकिन विवरण र अन्य समस्यासम्बन्धी अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदल निर्माण गरिएको थियो ।

छ्याङकुटी–दिदीङ–पुखुवा क्षेत्रको मुआब्जाा दर प्रतिरोपनी रु ११ लाख ७५ हजार  रहने गरी दर निर्धारण गरिएको छ । केही दिनअघि जिल्ला मुआब्जाा दर निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको संयोजकत्वमा बसेको बैठकले मुआब्जाा दर निर्धारण गरेको हो । जिल्लास्थित जनप्रतिनिधि, दलका प्रतिनिधि तथा सरोकारवालाबीच पटक पटकको छलफलपछि दर निर्धारण गरिएको हो । 

चिचिला गाउँपालिकाको १, २ र ३ वडाका करिब दुई सय घर परिवारको जग्गा अधिग्रहण गरी छ्याङकुटीदेखि परियोजनास्थल पुखुवासम्म जोड्ने साढे २३ किलोमिटर लामो सडक निर्माण गरिएको थियो । विसं २०४६ मा मुआब्जाा वितरण भएको तर २०५१/५२ मा नापी हुँदा सरकारी स्वामित्वमा लगत कट्टा हुनुपर्नेमा व्यक्तिको नाममा भएकाले पछि २०६६/६७ सालमा लगत कट्टा हुँदाको छुट जग्गाको मुआब्जाा अधिग्रहण गर्ने सूचना प्रकाशन भएको थियो । सो सूचनाका आधारमा आवेदन परेकाबाट सर्वपक्षीय बैठकबाट दर निर्धारण गरिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको अध्ययन समितिले चार सय ५१ रोपनी जग्गाको मुआब्जाा दिन छुट भएको ठहर गरेको छ । छ्याङकुटीदेखि विद्युत् गृह पुखुवासम्मको छुट जग्गाको मुआब्जाा नपाएको भन्दै स्थानीयवासीले पटक–पटक माग गर्दै आएका थिए । 

मुआब्जाा दर निर्धारण भएसँगै स्थानीयवासी खुसी भएका छन् भने अवरोध भइरहेको अरुण तेस्रोको काम सहज रूपमा हुने अपेक्षा लिइएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँध स्थल निर्माणाधीन छ भने चिचिला गाउँपालिका–३ पुखुवामा विद्युत् गृह निर्माण भइरहेको छ । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय सतलज कम्पनी एसजेभिएनले गरिरहेको छ । आयोजनाको कूल लागत रु एक खर्ब चार अर्ब हुने अनुमान गरिएको छ । रासस


Author

थप समाचार
x