ऊर्जा

इप्पानको निर्वाचन निर्देशिका विवादमा

निर्वाचन समितिको निर्णय अन्तिम हुने : उपाध्यक्ष मोहन डाँगी

इकागज |
जेठ २७, २०८० शनिबार १९:२९ बजे

काठमाडौँ- देशभरका जलविद्युत् तथा ऊर्जा उत्पादकहरूको प्रतिनिधिमूलक संस्था इप्पानले आगामी ३२ गते हुने पदाधिकारीहरूको चुनाव प्रयोजनका लागि पारित गरेको ‘निर्वाचन निर्देशिका’ विवादमा परेको छ ।

निर्देशिकाको उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान विधानमै उल्लेख नभएको ‘संस्थाको अध्यक्ष हुनका लागि संस्थाको स्वीकृत विधान बमोजिम वरिष्ठ उपाध्यक्ष हुनका लागि चाहिने सरहको योग्यता हुनुपर्नेछ’ पारित भएपछि विवादमा परेको हो ।


वरिष्ठ उपाध्यक्ष हुनका लागि एक अवधि कार्य समिति सदस्य र अर्काे एक अवधि पदाधिकारी हुनुपर्ने प्रावधान छ । यो प्रावधान आगामी जेठ २७ गते हुन लागेको वार्षिक साधारण सभाका लागि नभई त्यसपछि हुने निर्वाचन प्रयोजनका लागि भएकोमा विधानविपरीत यही निर्वाचनमा लागू गर्न खोजिएको र त्यो धाँधली भएको इप्पानका अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका इन्जिनियर किरण मल्लले बताए । 

इप्पानको विद्यमान विधानमा ‘वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालमा स्वतः अध्यक्ष हुनेछ’ उल्लेख छ । ‘आगामी बिहीबार हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष बल्ल निर्वाचित भई आउने र त्यहीबाट अध्यक्ष हुने भन्ने होइन,’ मल्लले शनिबार इकागजसँग भने, ‘ सोही विधानमा पदाधिकारी हुन कार्य समितिको सदस्य भई कम्तीमा एक कार्यकाल सम्पन्न गरेको हुनपर्ने उल्लेख छ । तर, निर्वाचन निर्देशिकामा संस्थाको अध्यक्ष हुनका लागि संस्थाको स्वीकृत विधानबमोजिम वरिष्ठ उपाध्यक्ष हुनका लागि चाहिने सरहको योग्यता हुनुपर्नेछ भनियो, यो विधानमै नभएको विषय निर्देशिकामा आयो र खेलमै यसमा भयो ।’

‘पदाधिकारी हुन कम्तीमा एक कार्यकालको कार्य समिति सदस्य भएको हुन पर्नेछ भनेर विधानमा लेखिएपछि उनको उम्मेदवारीका लागि खुला भइसक्यो,’ मल्लले भने, ‘विधानमा एउटा, निर्देशिकामा अर्काे भनेपछि विधानविपरीत भएको स्पष्ट देखियो ।’

मल्लको भनाइ थियो, ‘वरिष्ठ उपाध्यक्षको हकमा आगामी जेठ ३२ गते हुने निर्वाचनले निर्वाचित गर्नेछ । वरिष्ठका लागि जे भनिए पनि त्यो त वरिष्ठ उपाध्यक्षका लागि मात्र तोकिएको छ, अध्यक्षका लागि होइन ।’

यस सम्बन्धमा इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले विधान संशोधनका क्रममा कसैको आवाज नआएको र सर्वस्वीकृत भएको उल्लेख गर्दै भने, ‘अहिले निर्वाचन निर्देशिका बनाउने बेलामा पनि कहीं कसैको विरोध भएन, कार्यसमितिका सबै पदाधिकारीहरूले अनुमोदन गर्नुभयो ।’

निर्देशिका र अध्यक्षको उम्मेदवारीका विषयमा आफू तटस्थ बसेको आचार्यले बताए । उनले सर्वसम्मत बनाउने कोसिस भइरहेको पनि जानकारी दिए । ‘मेरो प्रयास अन्तिम समयसम्म पनि हुन्छ, सर्वसम्मत गराउने,’ उनले शनिबार इकागजसँग भने, ‘यदि निर्देशिका विधानसँग बाझिएको छ भने स्वतः बदर हुन्छ ।’

इप्पानका उपाध्यक्ष मोहन डाँगीले वरिष्ठ अधिवक्ताहरूको सल्लाहअनुसार नै निर्वाचन निर्देशिका बनाइएको बताए । अध्यक्ष उम्मेदवारको योग्यतासम्बन्धी विवादको निरुपण तीन सदस्यीय निर्वाचन समितिले गर्ने डाँगीले बताए । ‘निर्वाचन समितिले यो विषय अध्ययन गरेर उसैले निर्णय गर्छ,’ डाँगीले शनिबार इकागजसँग भने, ‘हामीले बनाएर दिएका सबै कुरा उनीहरू (समिति) ले कार्यान्वयन गर्छन् भन्ने होइन ।’

इप्पानले पदाधिकारी तथा कार्य समितिको निर्वाचन प्रयोजनका लागि अधिवक्ता चिरञ्जीवी खतिवडाको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति बनाएको छ । उक्त समितिमा निर्वाचन अधिकृतका रूपमा अधिवक्ताद्वय रविन्द्र ढुंगाना र प्रवीन खरेल छन् । 


Author

थप समाचार
x