ऊर्जा

विद्युत् व्यापारमा निजी क्षेत्रलाई खुला गर्न इप्पानको आग्रह

इकागज |
जेठ ३२, २०८० बिहीबार १२:२३ बजे

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत् व्यापार गर्न सरकारले मात्र नसक्ने भएको हुँदा निजी क्षेत्रलाई खुला गर्नुपर्ने बताएका छन् ।

बिहीबार इप्पानको २१ औं वार्षिक साधारणमा स्वागत मन्तव्य राख्दै अध्यक्ष आचार्यले नेपालको बिजुलीको बजार सरकारले मात्र खोज्न नसक्ने तर निजी क्षेत्रलाई सहभागी गराउने हो भने सफल हुने दाबी गरे ।


'कुनै बेला भारतमा ४० मेगावाट बिजुली निकासी हुँदा मानिसहरूले उडाउँथे, उनले भने, आज ४५२ मेगावाट निर्यात भइरहेको छ ।' यसैगरी सरकार एक्लैले मात्रै विद्युत् व्यापार गर्न नसक्ने भएकाले निजी क्षेत्रलाई खुला गरिदिनुपर्ने उनको भनाइ थियो ।

‘कुनै पनि उत्पादन भएको वस्तुले बजार खोज्छ । त्यो बजार खोज्ने काममा सरकारले मात्र सक्दैन । जसरी उत्पादनमा सरकारले सकेन, व्यापारमा पनि निजी क्षेत्रले सक्छ,’ मञ्चमा आसिन ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतलाई लक्षित गर्दै आचार्यले भने, ‘निजी क्षेत्रलाई ढोका खोल्दिनुस । हामी सक्षम छौँ । उत्पादन गरेर देखायौँ भने अब व्यापारमा पनि देखाउन सक्छौँ । हामी चुक्नु हुँदैन ।’

उनले विद्युत आन्तरिक रुपमा खपत गराउन विदेशमा निर्यात गर्न आन्तरिक प्रसारण लाइन, सवस्टेशन निर्माण अत्यावश्यक भएको उल्लेख गर्दै त्यसतर्फ सरकारले आफ्नो ध्यान दिन आग्रह गरे ।

पछिल्लो कालमा मौसम परिवर्तनका कारण कार्बन उत्सर्जन कसरी घटाउन सकिन्छ भनेर विश्वव्यापी चासो बढेको उल्लेख गर्दै आचार्यले त्यसलाई घटाउन नेपालको जलस्रोत छ उपयोगी हुन सक्ने बताए ।

विद्युतमा निजी क्षेत्रलाई सहभागी गराएको ३० वर्षको अवधिमा ऊर्जामा निजी क्षेत्रले छलाङ मारेको आचार्यले बताए । उनका अनुसार तीन हजार मेगावाट उत्पादन भइसकेको, पाँच हजार मेगावाट निर्माणका विभिन्न चरणमा रहेको र ११ हजार मेगावाटका आयोजनाहरु पीपीएको पर्खाईमा रहेका छन् ।

लाइसेन्स समेत लिइसकेको हिसाब गर्दा करिब २५ हजार मेगावाट बिजुलीमा निजी क्षेत्र सहभागी भएको छ ।  


Author

थप समाचार
x