ऊर्जा

लोडसेडिङ गरेको छैन, प्रसारण लाइनले धानेन : कुलमान घिसिङ

इकागज |
असार ३, २०८० आइतबार १८:२६ बजे

काठमाडौँ- केही समययता विद्युत् आपूर्तिमा भइरहेको गडबडी न्यून प्रसारण संरचना र अत्यधिक गर्मी बढेपछि मागमा आएको वृद्धिका कारण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

लोड धान्न नसकेपछि उत्पादन गरिरहेका विद्युत् गृहहरू एकाएक बन्द (सिष्टम ट्रि) भएका कारण विद्युत् आपूर्तिमा रोकावट पैदा भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।


आन्तरिक आपूर्ति कटौती गरी भारत निर्यात नगरिएको उल्लेख गर्दै घिसिङले आज पत्रकार सम्मेलन गरी भने, ‘प्रसारण लाइनको कम क्षमता, गर्मीले बिजुलीको माग वृद्धि र ओभर लोड (अधिक चाप) भएपछि सिष्टम ट्रिप भएको हो, निर्यात गरी यहाँ बिजुली काटिएको होइन ।’

‘मध्य र पश्चिम नेपालका धेरैजसो ठाउँमा आपूर्तिमा अवरोध भएको र केही दिनअघि निर्यात पनि सुरु भएकोले लोडसेडिङ गरी निर्यात गरियो भन्ने प्रचार गरियो,’ घिसिङले भने, ‘केही सवस्टेशन र प्रसारण लाइनहरूमा फल्ट (ओभरलोड) भएकाले कम भोल्टेजमा विद्युत गृह चल्दा ट्रिप (बन्द) हुन पुग्यो, यस्तो ट्रिप दिनमा ११ पटकसम्म भयो ।’

तराई क्षेत्रमा गर्मी बढेकाले पंखा, वातानुकूलित (एसी) देखि घरायसी लोड धेरै बढेकाले वितरण लाइनमा समस्या परेको घिसिङले बताए । ओभरलोडले ट्रान्सफरमरहरू पड्किने, तत्काल फेर्न स्थानीयले नदिने लगायतका समस्याले आपूर्तिमा रुकावट भएको उनको भनाइ थियो । ‘यहाँ विद्युत् कटौती गरेर निर्यात गरेको होइन,’ उनले भने, ‘सिष्टम नै गएको बेला कसरी निर्यात हुन्छ ? निर्यात र अपरेशनसँगसँगै पो हुन्छ त ।’

मुलुकमा खपत भएर बाँकी रहेको बिजुली मात्र निर्यात हुने गरेको उल्लेख गर्दै घिसिङले पिक टाइम (अत्यधिक बिजुली खपत हुने समय साँझ वा विहान) बाहेक अरु बेला प्रणालीमा बिजुली बढी नै हुन्छ र त्यस्तो बढी भएको बिजुली निर्यात गरिएको बताए । ‘नेपालमा उत्पादन भएर खपत नहुने बिजुली मात्र निर्यात हुने हो ,’ उनले भने । 

उनका अनुसार जडित क्ष्ँमता २७ सय मेगावाट भए पनि २ हजार मेगावाट मात्र उत्पादन हुने गरेको र त्यसमा पनि १६ सय मेगावाट मात्रै आन्तरिक खपत भई बचेको ४०० मेगावाट निर्यात हुने गरेको छ । 

‘रातिको समय नेपालमा बिजुली खपत कम हुन्छ, निर्यात नगरे त्यो बचेको बिजुली खेर जान्छ’ उनले भने, ‘खपत गराउन पनि निर्यात गर्नुपर्छ ।’

घिसिङले भारत निर्यात हुने एकमात्र नाका ढल्केबर रहेको र पश्चिम तथा मध्य नेपालका विद्युत् ढल्केबरसम्मै नजाने भएकाले त्यस क्षेत्र (मध्य तथा पश्चिम नेपाल) को बिजुली काटेर भारत दियो भन्ने आपत्तिजनक रहेको बताए । ‘यहाँ सिष्टम ट्रिप भएको छ, सिष्टम ट्रिप हुँदा सबै विद्युतगृह बन्द हुन्छ, अनि बन्द भएको विद्युत् गृहबाट बिजुली उत्पादन नै हुँदैन, उत्पादनै नभएपछि निर्यात कसरी हुन्छ ?’ उनले प्रतिप्रश्न गरे, ‘एउटा विद्युत् गृहमा ट्रिप आयोग भने अरु विद्युत् गृहहरूले त्यसको लोड थेग्न सक्दैन र तिनीहरूमा पनि ट्रिप आउँछ ।’

सिष्टम ट्रिप किन ?

प्रणालीमा अलिकति विद्युत् माग बढ्नेबित्तिकै सिष्टम ट्रिप हुनुको मुख्य कारण कम क्षमताको प्रसारण लाइन र सवस्टेशन रहेको घिसिङले बताए ।

पूर्व–पश्चिम १३२ केभी लेभलको मात्र प्रसारण लाइन छ । १३२ केभीको डबल सर्क्यूटले मुस्किलले २०० मेगावाट बिजुली पनि बोक्दैन । त्यही भएर कालीगण्डकी, मर्स्याङ्दीहरूको बिजुली ढल्केबर पुग्न सक्दैन । पूर्व–पश्चिम ४०० केभी लेभलको प्रसारण लाइन अझै सञ्चालनमा आएको छैन । भरतपुर–बर्दघाट २२० केभी पनि अझै सुरु भएको छैन ।

सर्वाेच्च अदालतले ४ वर्षसम्म पूर्व पश्चिम ४०० केभी प्रसारण लाइनमा अन्तरिम आदेश दिएर काम रोकाएको थियो । समयमा काम गर्न नपाएका कारण पूरक वातावरणीय प्रभाव मूल्यांकन नै तीन पटक गर्नुपरेको घिसिङको भनाइ थियो । 

बर्दघाट– न्यू बुटबल २२० केभी लेभलको प्रसारण लाइन आयोजनामा २०७६ सालमा मन्त्रिपरिषदबाट रुख काट्ने स्वीकृति भएको अझै पनि कटान आदेश भएको छैन । ‘यसरी ४०० केभी र २२० केभीका विभिन्न प्रसारण लाइनमा वनले रोक्ने, अदालतले रोक्ने र स्थानीयले रोक्ने प्रवृत्तिले हाम्रो प्रसारण संरचना बलियो बन्न सकेको छैन, त्यही बेला उच्च माग हुनेबित्तिकै यस्तो ट्रिपिङका समस्या आउने गर्छन,’ घिसिङले भने, ‘धेरै लाइनका फल्ट पत्ता लगाइसकेका छौँ, अब प्रणाली स्थिर भएको छ ।’


Author

थप समाचार
x