ऊर्जा

काठमाडौँ महानगरभित्र १०२६ वटा स्मार्ट स्ट्रीट लाइट जडान, १७७ वटा नयाँ पोल

इकागज |
माघ २२, २०८० सोमबार १२:३६ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ । महानगरले महाराजगञ्ज-लैनचौर-जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र-बालुवाटार-नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर-थापाथली-माइतीघर मण्डलासम्म ७६ वटा, चाबहिल-बौद्ध सडक खण्डमा ९९ वटा वत्ती जडान गरेको हो ।

यी खण्डको प्रारम्भिक अध्ययनमा क्रमशः ३४०, ३७४, १९०, ७६ र ९२ वटा बत्ती जडान गर्नु पर्ने देखिएको थियो । महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलका अनुसार स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको हो । पौडेलका अनुसार फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन् ।


यसरी काम गर्दा पुराना पोलमा केही बत्ती राखिएका छन् । ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल थपिएका छन् । यसका लागि १७७ वटा पोल प्रयोग भएका छन् । बिजुली जडान गर्न ३० हजार ७१० मिटर तारको प्रयोग भएको छ ।

स्मार्ट लाइट जडान गर्न वा पोललाई पुनःप्रयोगमा ल्याउन नसकिने ४२१ वटा पोल हटाइएको छ । यी पोलहरू महानगरपालिका, विद्युत्‌ प्राधिकरण र निजी क्षेत्रले गाडेका थिए । रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक सडक बत्ती जडान गरिएको हो । यसका लागि नेपाल विद्युत्‌ प्राधिकरण र सडक विभागसँग सहकार्य भएको महानगरले जनाएको छ । स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता काम गर्न साझेदारसँग सहकार्यका लागि २०७९ माघ २४ गते सम्झौता भएको थियो ।

११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमानको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत्‌ प्राधिकरणले व्यहोर्ने सम्झौतामा उल्लेख छ । यसबाट काम गर्नका लागि रुट पनि छुट्याइएको छ । बत्ती जडान गर्न प्राधिकरणले बोलपत्र आव्हान गरेको थियो । यसबाट छनौट भएको निर्माण पक्षसँग २०८० बैशाख २५ गते सम्झौता भएको थियो । सम्झौताबमोजिम २०८१ बैशाख २४ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ ।

महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शीतलनिवाससम्म, सिनामंगल अन्तरराष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चाबहिलदेखि जोरपाटीसम्मको रुट राखिएको छ ।

यसैगरी विद्युत्‌ प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् । यो रुटमा बत्ती जडानको काम तत्काल सुरु हुने प्रक्रियामा छ । विद्युत्‌ प्राधिकरणका उपप्रबन्धक प्रमोद रिजाल भन्छन्, ‘हामीले काम गर्ने सडक खण्डमा यस अघि सौर्यबत्तीका लागि गाडिएका पोल छन् । ती पोलहरूको पुनःप्रयोग योजना स्वीकृति हुने चरणमा छ । योजना स्वीकृत भएपछि काम थालिनेछ ।’

यस खण्डमा १ हजार १७ वटा सडक बत्ती राख्नुपर्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । यस्तै ९२ वटा नयाँ पोल राख्नुपर्ने, २१ हजार ९७० मिटर तार आवश्यक पर्ने अनुमान छ । यसरी बत्ती जडान भएपछि जगेडा रहेमा आफ्ना-आफ्ना स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, व्याट्रीलगायत सामानको आफैँले पुन:प्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

प्राधिकरणले बत्ती जडान गरिसकेपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गर्नेछ । यसपछिको मर्मत सम्भार महानगरपालिकाले गर्नेछ । सडक बत्ती प्रयोग भएवापत्‌को शुल्क महानगरले प्राधिकरणलाई बुझाउनेछ ।

सबै बत्ती एउटै स्क्रिनबाट नियन्त्रण हुन्छन् । सबै बत्ती जडान गरिसकेपछि बत्तीहरूलाई एउटै प्रणालीमा आवद्ध गरिनेछ । यसपछि एउटै स्क्रिनबाट बत्तीलाई आवश्यकताका आधारमा बत्तीलाई चहकिलो बनाउने, मधुरो बनाउने, निभाउने वा बाल्ने काम गर्न सकिन्छ ।


Author

थप समाचार
x