ऊर्जा

खेर गयो १८.८७ अर्ब रुपैयाँको बिजुली

अबको पाँचौँ वर्षमा मात्रै प्राधिकरणलाई १३५ अर्ब रुपैयाँ नोक्सानी

विकास थापा |
असोज ७, २०७८ बिहीबार २०:१७ बजे

काठमाडौं - यो वर्ष (सन् २०२१÷२२) मा नेपाल विद्युत् प्राधिकरणको १८ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बिजुली खेर जाने भएको छ । गत मे (वैशाख-जेठ) देखि बिजुली जगेडा (स्पील) हुन सुरु भएको क्रमम आगामी नोभेम्बर (कात्तिक-मंसिर) सम्म कायम रहनेछ । 

इकागजलाई प्राप्त प्राधिकरणको सार्वजनिक नभएको तथ्यांकअनुसार यो वर्ष एक अर्ब ९५ करोड ९७ लाख युनिट बिजुली खेर जाने भएको छ । गत मेदेखि सेप्टेम्बर (हाल) एक अर्ब ५५ करोड ८२ लाख युनिट बिजुली खेर गइसकेको छ । 


अब आउने दुई महिना (अक्टोबर र नोभेम्बर) सम्म पनि ४० करोड १५ लाख युनिट बिजुली खेर जाँदैछ । प्राधिकरणको विद्युत् बिक्री औसत मूल्य प्रतियुनिट ९ रुपैयाँ ६३ पैसा छ । 

जगेडा बिजुलीको अवस्था 

त्यसैगरी आउँदो आर्थिक वर्ष (सन् २०२२/२३) को खेर जाने बिजुली र पैसाको अवस्था झन डरलाग्दो देखिएको छ । आगामी वर्षमा पनि बिजुली निकासी हुन सकेन र रातारात नाटकीय रुपमा स्वदेशमै खपत हुन नसके प्राधिकरणलाई ३६ अर्ब ४९ करोड ६७ लाख रुपैयाँ टुट्टा पर्ने भएको छ । आगामी वर्ष प्राधिकरणको प्रणालीमा तीन अर्ब ७८ करोड ९९ लाख युनिट बिजुली जगेडा हुनेछ । आगामी वर्षमा जनवरीदेखि मार्चसम्म बिजुली जगेडा हुनेछैन भने बाँकी महिना जगेडा हुने प्राधिकरणको तथ्यांकले देखाएको छ ।

अर्काे वर्षको जगेडा बिजुलीको अवस्था 

यो वर्ष प्राधिकरणले भारतबाट २६८.४ मेगावाट बिजुली आयात गर्‍यो । यही वर्ष बिजुलीको उच्चतम माग १६७१ मेगावाट रह्यो । प्राधिकरणको प्रणालीमा गत डिसेम्बरदेखि मेसम्म जगेडा बिजुली रहेन । त्यसैगरी जुलाईदेखि नोभेम्बरसम्म प्राधिकरणले आयात गर्नु नपर्ने अवस्था रहेको तथ्यांकले देखाएा छन् ।

ऊर्जाको हिसाबमा भन्नु पर्दा यो वर्ष प्राधिकरणको प्रणालीमा एक अर्ब ९६ करोड युनिट बिजुली जगेडा देखियो । एकातिर बिजुली खपत नभएर खेर फाल्नुपर्‍यो भने यही वर्ष प्राधिकरणले हिउँदयाममा एक अर्ब १० करोड युनिट बिजुली भारतबाट खरिद गर्नुपर्‍यो । यसले मुलुकमा जलाशययुक्त आयोजना सख्त जरुरी भएको देखायो । 

प्राधिकरणले हालसम्म ३४६ वटा आयोजनाका ६ हजार १ सय ७६ मेगावाटको विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ। यसमध्ये १११ वटा आयोजनाका १३ सय मेगावाट सञ्चालनमा छन् । १३६ वटा आयोजनाका तीन हजार ३४ मेगावाट निर्माणाधीन छन् । त्यसैगरी ९९ वटा आयोजनाका एक हजार ८ सय ४१ मेगावाटका आयोजना विभिन्न चरणमा (वित्तीय व्यवस्थापन हुन नसकेका) छन् ।

यसरी अर्काे वर्षदेखि प्राधिकरणको प्रणालीमा बिजुलीको जडित क्षमता ह्वात्तै बढ्ने देखिन्छ । तर वर्षायाममा खपत नहुने त्यही वर्ष भारतबाट आयात भने गर्नैपर्ने विडम्बनात्मक अवस्था रहेको प्राधिकरणका तथ्यांकमा देख्न सकिन्छ । 

आगामी वर्ष (२०२२/२३) को तथ्यांकले ३ अर्ब ७९ करोड युनिट बिजुली जगेडा हुने देखिन्छ । तर सोही वर्ष ७५ करोड ४० लाख युनिट बिजुली हिउँदयाममा खरिद गर्नुपर्नेछ । अबको दुई वर्षपछि अर्थात् सन् २०२३/२४ को जगेडा बिजुलीको अवस्था बिकराल हुने देखिएको छ । उक्त वर्ष ७ अर्ब २४ करोड ८० लाख युनिट बिजुली जगेडा हुनेछ । तर सोही वर्ष जनवरीदेखि मार्चसम्म २२ करोड ४० लाख युनिट (१५७.५ मेगावाट) बिजुली भारतबाट आयात गर्नुपर्ने हुन्छ ।  

यसैगरी अबको चार वर्षपछि (२०२४/२५) मा प्राधिकरणसित १० अर्ब ४५ करोड युनिट बिजुली जगेडा हुनेछ । तर सोही वर्ष हिउँदयाममा भने प्राधिकरणले २ करोड १० लाख युनिट (१०३.१ मेगावाट) बिजुली आयात गर्नुपर्नेछ । 

बिजुली ठ्याम्मै आयात नै गर्नु नपर्ने वर्ष भने सन् २०२५/२६ हुनेछ । त्यो बेला प्राधिकरणको प्रणालीमा १४ अर्ब २ करोड युनिट बिजुली जगेडा हुनेछ । प्राधिकरणको अहिलेकै औसत बिक्री मूल्य प्रतियुनिट ९.६३ रुपैयाँका दरले हिसाब गर्दा पनि एक खर्ब ३५ अर्ब ३ करोड रुपैयाँको बिजुली नाश हुँदैछ ।

यही सम्भावित क्षति रोक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको नर्थ बिहार पावर डिष्ट्रियूसन कम्पनी लिमिटेडसँग वर्षायामको बिजुली बिक्री गर्ने र हिउँदयाममा खरिद गर्ने (साटासाट) गत साता प्रस्ताव गरेका छन् । 
 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x