ऊर्जा

प्राधिकरण कर्मचारी संघको महाधिवेशन विवादमा

इकागज |
मंसिर ६, २०७८ सोमबार १३:० बजे

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको गत कात्तिक ५ गते गरिएको महाधिवेशन विवादमा परेको छ । महाधिवेशनको परिणामलाई बहिष्कार गरेका इन्द्र न्यौपाने, गंगा भण्डारी, महेश्वर दत्त पनेरुलगायतका उम्मेद्‌‌वारहरूले श्रम तथा रोजगार कार्यालयमा उजुरी दिएका छन् । उनीहरूले संघको कथित केन्द्रीय समिति विघटन गरी नयाँ कार्य समिति निर्माण गर्न माग गरेका छन् ।

संघका पदाधिकारीहरूले विधानलाई प्रक्रियागत रुपमा संशोधन नगरी आफू अनुकूल्को व्याख्या गरेको दाबी उजुरीमा उल्लेख गरेका छन् । विधानको दफा २७ मा विधानको संशोधन प्रस्ताव महाधिवेशन र केन्द्रीय परिषद् भेलाको दुई तिहाई बहमुतले पारिन गर्न सक्नेछ प्रावधान निवेदनमा जिकिर गरिएको छ । ट्रेड युनियन ऐन विपरीत आफू अनुकूल संगठनात्मक संरचना, निर्वाचन प्रणालीसमेत बनाई सञ्चालन गरिदै आएको छ दावी गरिएको छ । 


ट्रेड युनियन ऐन २०७२ को दफा १०(२) मा ट्रेड युनियन विधानको कुनै किसिमको संशोधन गरिएमा त्यसरी संशोधन गरिएको ३५ दिनभित्र सम्बन्धित ट्रेड युनियनहरूले त्यस्तो संशोधनको प्रति संलग्न गरी सो कुराको जानकारी पञ्किाधिकारीलाई दिनुपर्नेछ र निज पञ्जिकाधिकारीबाट सोको स्वीकृत समेत लिनुपर्नेछ । 

गत कात्तिक ५ गते गरिएको विधान संशोधन र सोहीअनुसार भोलिपल्ट गरिएको अधिवेशन पनि अवैध भएको निवेदनमा उल्लेख छ । विधानमा लेखिएको कुनै कुरा संसोधन गर्नुपरेमा संसोधन गर्नुपर्ने कारणसहित केन्द्रीय परिषदमा महाधिवेशन प्रस्ताव पेश गरी केन्द्रीय परिषद केन्द्रीय महाधिवेसनमा उपस्थित सदस्यहरूको दुई तिहाई बहुमतले संसोधन पास गर्नुपर्नेमा आफूखुशी गरिएको निवेदनमा छ ।

‘संघको विधानमा कुनै पनि प्रक्रिया पुरा नगरी संसोधन गरी कार्यान्वयन गर्ने कुरा सो ऐनको प्रस्तावना विपरित हो,’ निवेदनमा छ, ‘त्यसकारण त्यस कार्यालयलाई भएको अधिकार प्रयोग गरी उक्त अवैध अधिवेशन बदर गरी संघको नयाँ तदर्थ समिति निर्माण गर्न प्रमाणसहित पेश गरेका छौं ।’
 


Author

थप समाचार
x