ऊर्जा

माथिल्लो तामाकोसी अब चैतमा

विकास थापा |
पुस २९, २०७७ बुधबार ७:४ बजे

काठमाडौं : एउटा भारतीय ठेकेदार कम्पनीको चरम अक्षमताका कारण माथिल्लो तामाकोसी (४५६ मेगावाट) को परीक्षण उत्पादन पुनः सरेर चैतमा पुगेको छ । पछिल्लो समय-तालिका अनुसार यही पुसमा एउटा युनिट (७६ मेगावाट) को परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य थियो ।

आयोजनाको लट २ को भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल एण्ड इन्जिनियरिङ लिमिटेडले पेनस्टक पाइप (मिडिल होरिजेन्टल) को ८५ मिटर खण्डमा रहेको करिब पाँच मिटर एक्सपान्सन ज्वाइन्ट (पानी भरिने पेनस्टक पाइपलाई बलियो बनाउने उपसंरचना) समेत बनाउन नसकेर विद्युत् परीक्षण उत्पादनलाई तीन महिना पर धकेलिदिएको हो ।


माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठका अनुसार टेक्सम्याकोले यो काम यही जनवरी (मध्य माघ) सम्म पूरा गरिसक्नुपर्ने थियो । तर टेक्सम्याकोले पाँच मिटरको काम गर्न नसकेर पूरै आयोजना धकेलिने देखिएपछि वैकल्पिक उपाय अपनाएर काम सुरु गरिएको श्रेष्ठले बताए ।

‘हामीले आयोजनाको परामर्शदाता, विशेषज्ञहरुसित सल्लाह लिएर टेक्सम्याकोले गर्न नसकेको काम सुरु गरिसकेका छौं,’ सीइओ श्रेष्ठले मंगलबार इकागजसँग भने, ‘अब फागुनसम्म सबै जडान कार्य पूरा भई चैतबाट परीक्षण उत्पादन सुरु हुनेछ ।’

टेक्सम्याकै कारण मात्र आयोजना दुई वर्ष ढिला भएको हो । त्यसबाहेक भूकम्प, नाकाबन्दी र कोभिड १९ का कारण आयोजना तीन वर्ष ढिलो भएको छ । २०६७ सालमा निर्माण सुरु भएको यो आयोजनाको पहिलो युनिटको बिजुली २०७३ असारमा आउनुपर्ने थियो । भूकम्पअघि (२०७१ चैतसम्म) आयोजनाको काम ७९ प्रतिशत पूरा भइसकेको थियो ।

श्रेष्ठका अनुसार आयोजनाको कूल अनुमानित लागत ७६ अर्ब रुपैयाँ पुगेको छ । यसमा निर्माण अवधिको ब्याज, विदेशी मुद्रामा भएको अधिमूल्यन, डिजाइन परिवर्तनलगायतका कारण मात्र ४६ अर्ब रुपैयाँ पुगेको छ । आयोजनाको वित्तीय व्यवस्थापन हुँदा एक अमेरिकी डलर बराबर ७२ रुपैयाँ थियो । विद्युत् प्राधिकरणले त्यतिबेला आयोजना पूरा हुञ्जेल प्रतिडलरको भाउ ८० रुपैयाँसम्म पुग्ने अनुमान गरेको थियो ।

कालीगण्डकी ‘ए’ (१४४ मेगावाट) मा उपठेकेदारका रुपमा काम गरेको आधारमा प्रतिस्पर्धामा अंक पाई माथिल्लो तामाकोसीको लट-२ (हाइड्रो-मेकानिकल ) को ठेक्का पाउन सफल भएको एक्सम्याकोलाई आयोजनाले आफ्ना वार्षिक प्रतिवेदनमा समेत ‘कमजोर कार्य क्षमता भएको ठेकेदार’ को रुपमा उल्लेख गरेको छ ।

भारतीय कम्पनीले काम गर्न नसकी पूरै आयोजनालाई नै धरापमा पारेपछि कम्पनीले उसको भागको आधा काम लट ३ (इलेक्ट्रोमेकानिकल) को अष्ट्रियन ठेकेदार एन्ड्रिज हाइड्रोलाई दिइएको थियो । आयोजना, एक्सम्याको र एन्ड्रिजको त्रिपक्षीय सम्झौता २०७५ पुस २३ गते भएको थियो । साविकको ठेक्का रकममा असर नपर्ने गरी सम्झौता भएको थियो ।

आयोजनाको सबैभन्दा जोखिमयुक्त तथा चुनौतीपूर्ण कार्य दुईवटा भर्टिकल साफ्टहरुमा पेनस्टक पाइप जडान कार्य सन्तोषजनक नहुँदा नहुँदै पनि टेक्सम्याकोले आयोजनाको अन्य संवेदनशील हाइड्रोमेकानिकल उपकरणहरुको फेब्रिकेशनको समेत जिम्मा लिएकाले ठेक्का तोड्न नसकिएको सीइओ श्रेष्ठले बताए । ‘पहिला विकल्प नभएकाले एन्ड्रिजलाई दियौं, अबचाहिं (पाँच मिटरको जडान कार्य) विकल्प छ,’ उनले भने, ‘एक महिनादेखि यो काम सुरु भइसकेकको छ, यसो नगरेको भए आयोजना थप पाँच महिना ढिला हुने थियो ।’

भर्टिकल साफ्टमा पेनस्टक पाइप जडान कार्य सकिए पनि त्यससँग सम्बद्ध अन्य झिनामसिना तर उसलैले गर्नुपर्ने काम बाँकी रहेकाले आयोजनाले ताकेता गरिरहेको छ । कलकत्तास्थित महावाणिज्य दूत ईश्वर पौडेलेले पनि टेक्सम्याकोसँग समन्वय  गरिरहेको श्रेष्ठले बताए । 
 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x