ऊर्जा

सरकारी बिदा र थोरै वर्षाले उद्योगलाई हल्का राहत

इकागज |
बैशाख २०, २०७९ मंगलबार १४:५० बजे

काठमाडौं – केही दिनयता छिटफुट वर्षा, लगातारको सरकारी बिदा र भारतीय ऊर्जा बजारबाट साविकको भन्दा थप परिमाण आयातले उद्योगहरुलाई विद्युत् आपूर्तिमा हल्का राहत भएको छ ।

‘तीन दिनदेखि हामीले चौबीसै घण्टा उद्योगलाई बिजुली दिएका छौं,’ विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागका निर्देशक सुरेशबहादुर भट्टराईले भने, ‘सम्भवतः भोलि बिहानसम्म सबै उद्योगले अनवरत बिजुली पाउँछन् ।’


भट्टराईका अनुसार अस्ति आइतबार र हिजो सोमबार परेको छिटफुट वर्षाले बिजुली उत्पादनमा अलिकति सहजता भएको थियो । भारतीय ऊर्जा बजार (आईआईएक्स) बाट पनि पहिलेको भन्दा थोरै परिणाम आयात बढेको, तराईंमा पानी परेकाले सिंचाइ माग घटेको र गत शनिबारदेखि तीन दिन सरकारी बिदा परेकाले उद्योगलाई बिजुली आपूर्ति निरन्तर गरिएको भट्टराईले बताए ।

उनका अनुसार सरकारी बिदाका दिन एक सय पचास मेगावाटसम्म बिजुलीको माग फरक पर्ने गर्छ । त्यसमाथि सिंचाइमा यतिखेर ५० मेगावाट माग कमी आएको छ । पूर्वदेखि पश्चिमसम्म सिंचाइको लोड मात्र दैनिक १५० मेगावाट हुने गर्छ । 

देशभरका ठूला उद्योगले जम्मा ३ सय मेगावाट बिजुली खपत गर्छन् । भारतको आईआईएक्सबाट मुश्किलले सय मेगावाटसम्म आयात हुने र कहिलेकाहीं ७० मेगावाट मात्र पाइने भएकाले उद्योगलाई आपूर्ति सहज हुन नसकेको भट्टराईले उल्लेख गरे । ‘साना उद्योगहरुले निरन्तर बिजुली पाएकै छन्,’ भट्टराईले मंगलबार इकागजसँग भने, ‘हामीले भ्याएसम्म ठूला उद्योगलाई कटौती गरेका छैनौं ।’

देशभर विद्युत्को जडित क्षमता करिब २२ सय मेगावाट छ । अहिलेको चरम सुख्खायामका कारण जम्मा ८ सय मेगावाट मात्र उत्पादन भइरहेको भट्टराईले बताए । माग भने उत्पादनको दोब्बर अर्थात् करिब १६ सय मेगावाट छ । ‘ऊर्जाको हिसाबमा हामीलाई यतिखेर ११ हजार मेगावाट घण्टा (१ करोड १० लाख युनिट) बिजुली अपुग छ,’ भट्टराईको भनाइ थियो, ‘विद्युत् प्रणालीमा अहिलेको समय (वैशाख) सबैभन्दा कम उत्पादन हुने बेला हो ।’

भारतीय बजारमा यति नै बिजुली आउँछ भन्ने अझै पनि कुनै ग्यारेन्टी नभएको भट्टराईले बताए । ‘५१० मेगावाट घण्टाको दरले विभिन्न ब्लकमा टेण्डर गर्द कहिले ८ सय मेगावाट घण्टा, कहिले २ हजार र अस्ति ४२ सय मेगावाट घण्टा परेको थियो,’ उनले भने, ‘धेरै बिजुली आएको दिन यता सजिलो हुन्छ ।’

अबको बढीमा तीन सातासम्म मुलुकको जलविद्युत् उत्पादनको गति यही अवस्थामा रहने प्राधिकरणको आँकलन छ । १४४ मेगावाटको कालीगण्डकीले चौबीसै घण्टा बिजुली उत्पादन गर्ने हो भने ९० मेगावाटभन्दा बढी गर्दैन । त्यसैगरी अन्य जलविद्युत्को अवस्था पनि एक तिहाईभन्दा कम उत्पादन हुने प्रकृतिको भएकाले एकमात्र जलाशययुक्त कुलेखानी (तीनवटै गरेर १०४ मेगावाट) आवश्यकता अनुसार सञ्चालन गर्ने गरिएको भट्टराईले बताए ।

मंगलबारसम्म कुलेखानी जलाशयमा १५०२ मिटरसम्म पानी छ । यसको न्यूनतम सतह (बेड लेभल) १४८२ मिटर हो । कुलेखानी भरिएका बेला प्राधिकरणले बोरा राखेर पनि पानीको सञ्चय गर्ने गर्छ । 
 


Author

थप समाचार
x