उद्यम

निर्माणसम्बन्धी सबै कामहरू ठप्प पार्ने निर्माण व्यवसायीकाे चेतावनी

इकागज |
जेठ २१, २०८० आइतबार १६:३२ बजे

काठमाडौँ- निर्माण व्यवसायीहरूले आगामी असार ४ गतेभित्र सबै आयोजनाहरूको म्याद थपको निर्णय सरकारले नगरे निर्माणसम्बन्धी सबै कामहरू ठप्प पारिदिने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार काठमाडाैँमा पत्रकार सम्मेलन गरी सो चेतावनी दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पटक–पटक छलफल हुँदा गरिएको सहमति अनुसार सबै आयोजनाहरूको म्याद थप यही असार ४ गतेभित्र नभए आफूहरू निर्माण कार्य नै ठप्प पारी आन्दोलनमा जान बाध्य हुने महासंघका अध्यक्ष रवि सिंहले बताए । उनले विगत लामो समयदेखि आफूहरूले राख्दै आएको सो माग पूरा हुने गरी आगामी आर्थिक वर्षको बजेट नआएको भन्दै आपत्ति जनाए ।


अध्यक्ष सिंहले निर्माण उद्योग अर्थतन्त्रलाई चलायमान पार्ने उद्योगहरूको पनि उद्योग भएकाले त्यसको माग सम्बोधन गरेर अघि बढ्न सरकारलाई फेरि पनि खबरदारी गर्नु परेको स्पष्ट पारे । महासंघले निर्माण व्यवसायीहरूको माग सम्बोधन अब पनि नभए सबै इजाजत राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने पनि जनाएको छ । 

महासंघले नेपाल सरकारलाई आर्थिक भारलाई बढ्न नदिन र आयोजनाहरू अलपत्र हुने अवस्था आउन नदिन पनि निर्माण व्यवसायीहरूको सो माग सम्बोधन गर्न गम्भीर ध्यानाकर्षण गराउनु परेको बताएका छ । सरकारले समयमै आवश्यक बजेटको व्यवस्था नगर्दा, आयोजनाहरूको म्याद थप नगर्दा मुलुकको पूर्वाधार निर्माणको कामले गति लिन नसकेको पनि अध्यक्ष सिंहले बताए ।


Author

थप समाचार
x