उद्यम

नाजुक अवस्थामा उद्योग

राज्यले २ अर्ब लगानी नगरे हेटौँडा र उदयपुर सिमेन्ट उद्योग बन्द हुन्छ

'पुरानो मेसिन भएकाले उद्योग चल्दाचल्दै बन्द गर्नुपर्छ, तलबभत्ता खुवाउने पैसा पनि छैन'

इकागज |
पुस ३, २०८० मंगलबार २०:० बजे

फाइल तस्बिर

काठमाडौँ- हेटौँडा र उदयपुर सिमेन्ट उद्योगमा राज्यले २ अर्ब रुपैयाँ लगानी नगरे उद्योग बन्द हुने भएका छन् । ​मंगलबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उदयपुर सिमेन्टका अध्यक्ष र हेटौँडा सिमेन्टका महाप्रबन्धकले यस्तो बताएका हुन् ।

उनीहरूले दुवै सिमेन्ट उद्योगको वित्तीय अवस्था जर्जर रहेकाले उद्योग सञ्चालनको लागि राज्यले लगानी गर्न आवश्यक रहेको बताए । उनीहरूले सिमेन्ट उद्योगको दायित्व अत्यधिक बढेको तर उत्पादन वृद्धि गर्न मेसिन तथा औजारहरू पुराना भएको जिकिर गरे । उनीहरूले उद्योगहरूमा राज्यले लगानी गरी अपडेट गर्न नसके अहिलेकै अवस्थामा चल्न नसक्ने गुनासो गरे ।


उनीहरूका अनुसार उदयपुर सिमेन्ट उद्योगमा ४० करोड र हेटौँडा सिमेन्ट उद्योगमा १ अर्ब ६० करोड गरी दुई अर्ब लगानी नगरे उद्योग बन्द हुने अवस्थामा पुगेको छ । उनीहरूले सरकारले तत्कालका लागि उदयपुर सिमेन्ट उद्योगमा उक्त रकम लगानी गरी ‘मोडल’ परिवर्तन गर्नु आवश्यक रहेको बताए ।

बैठकमा बोल्दै उदयपुर सिमेन्टका अध्यक्ष केशवकुमार बस्नेतले अहिलेकै अवस्थामा उदयपुर सिमेन्ट उद्योग चल्न नसक्ने अवस्था रहेको बताए । उनले उदयपुर सिमेन्टमा लगानी गरी ताजकीकरण गर्न नसके चलाउन नसकिने बताए । उनले सरकारले तत्कालका लागि ४० करोड रुपैयाँ लगानी गरे १० अर्बको सम्पत्ति बचाउन सकिने अवस्था रहेको जिकिर गरे ।

धेरै पुरानो मेसिन भएकाले उद्योग चल्दाचल्दै बन्द गर्नुपर्ने समस्या रहेको उनकाे भनाइ छ ।

अध्यक्ष बस्नेतले एक महिनामा ३ देखि ४ पटकसम्म मेसिन बिग्रने गरेको भन्दै एक पटक मेसिन बनाउँदा १६ लाखसम्म खर्च हुने बताए । उनले  उद्योगको मेसिन अपडेट गर्न नसक्ने हो भने उद्योग चलाउनसक्ने अवस्था नभएको स्पष्ट पारे । उनले उद्योगमा रहेका ७ सय कर्मचारी घटेर अहिले २५८ जना रहेको बताए ।

त्यस्तै, हेटौँडा सिमेन्टका महाप्रबन्धक वसन्त पाण्डेले हटौँडा सिमेन्ट उद्योग हेटौँडा कपडा कारखाना जस्तै हुन लागेको बताए । उनले आफूले जिम्मेवारी सम्हाल्दा सम्हाल्दै उद्योग मर्दै गएको स्पष्ट पारे । उनले उद्योगको उत्पादन र बजारभन्दा पनि उद्योगको दायित्व बढ्दै गइरहेको बताए । उनले २५ जना कर्मचारीहरू अवकाश पाएकाहरूलाई उपदान दिन समेत नसकिएको दुखेसो पाेखे । उनले अहिले सरकारको ऋण भुक्तानी गर्न नसकिएको बताए ।

उनका अनुसार सरकारको १२ करोड रुपैयाँको ऋणको ब्याज ३३ करोड गरी ४५ करोड रुपैयाँ कर्जा तिर्न बाँकी रहेको छ । उनले उद्योग निरन्तर चल्दा मासिक साढे दुई करोड विद्युत् महसुल प्राधिकरणलाई बुझाउनु पर्ने जनाए । उनले पैसाको अभावमा कोइला किन्न समेत नसकिएको बताए ।

हेटौँडा सिमेन्ट उद्योगको अवस्था जर्जर रहेको भन्दै उद्योग चलाए वा नचलाए पनि घाटामा रहने अवस्था रहेको पाण्डेले बताए । उनले अहिले सिमेन्टको बजार ७० प्रतिशत खस्केको जिकिर गरे । उनले ऋणमा उद्योग चलाउन बैंकहरूले ऋण समेत नदिएको गुनासो गरे । उनले सरकारले उद्योगमा लगानी नगर्ने हो भने चल्न सक्ने अवस्था नभएको उल्लेख गरे ।

अहिलेको अवस्थामा उद्योग नचल्ने भन्दै पुरानो टेक्नोलोजी परिमार्जन गर्न सरकारले एक अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराए मात्रै उद्योग चल्ने बताए । उनले लगानी थपिएर पनि मोडल परिवर्तन गर्न नसके उद्योग बन्द हुने जिकिर गरे ।

बैठकमा बोल्दै अर्थ मन्त्रालयका सचिव कष्णहरी पुस्करले हेटौँडा सिमेन्ट उद्योगले बजार र व्यापारको ग्यारेन्टी नगरे लगानी गर्न नसकिने बताए । उनले अर्थ मन्त्रालयले संसदले बजेटमार्फत छुट्याएको भन्दा बाहिरबाट बजेट व्यवस्थापन गर्न नसकिने अवस्था रहेको बताए । उनले यस्तो अवस्थामा कर्मचारीको तलबभत्ता समेत व्यापारबाट दिन नसक्ने उद्योगमा लगानी गर्दा ग्यारेन्टी कसले लिने ? भन्दै प्रश्न गरे ।

उनले कर्मचारीको पारिश्रमिक दिन नसक्ने उद्योगमा लगानी गर्न नसकिने आशय व्यक्त गरे । हेटौँडा सिमेन्ट उद्योगले राष्ट्र बैंकलाई जग्गा बेचेर कर्मचारीहरूको तलबभत्तामा खर्च गर्ने कुरा आइरहेको बताए । उनले उद्योग चलाउन अर्थ मन्त्रालयले केही रकम व्यवस्थापन गरिदिएपछि पनि त्यसको दिगोपनको जिम्मा कसले लिने भन्ने समस्या रहेको बताए । उनले सरकारले पैसा दिने तलबभत्तामा खर्च गर्ने र मेसिन, औजारहरू सबै पुरानै अवस्थामा राख्ने जस्ता कुराहरू परिमार्जन गर्न समितिले निर्देशन दिन आवश्यक रहेको बताए ।

पुस्करले उद्योगले व्यापार सुधारको ग्यारेन्टी गरे सरकारले ऋण दिन तयार रहेको पनि बताए । उनले देशको आर्थिक अवस्था बलियो बनाउन आन्तरिक रकमले नपुगे पनि वैदेशिक ऋण गरेर अर्थ मन्त्रालय ऋण दिन तयार रहेको बताए ।

 

 


Author

थप समाचार
x