उद्यम

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा 'चार तारे होटल' को मान्यता

इकागज |
चैत १३, २०८० मंगलबार १९:२१ बजे

कपिलवस्तु- सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित 'सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट' ले चार तारे होटल स्तरको मान्यता पाएको छ । 

पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरोन्नति गरेको हो । 


'लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ,' पर्यटन विभागले भनेको छ ।

२५ विघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् । 

साथै साना ठूला गरी  पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ । सोही पोखरीमा होटलको 'फिस फार्म' समेत रहेको छ । 

त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन सफल रिसोर्टले ४ तारा स्तरको मान्यता पाएसँगै सो व्यापारमा अझ राम्रो गर्ने आशा गरिएको सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।  

रिसोर्टमा ज्याकुजी, स्पा लगायत सुविधा उपलब्ध छन् । हालसम्म ७५ जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सन्चालन पश्चात् झण्डै ३८० जनालाई रोजगारी मिल्ने सिइओ न्यौपानेले बताए । 

रिसोर्टले यसअघि ४४औं विश्व पर्यटन दिवसको अवसरमा ग्रामीण क्षेत्रमा स्थानीय उत्पादन, स्थानीय रोजगारी एवं एग्रो टुरिजम मार्फत पर्यटन प्रवर्द्धनमा योगदान पुर्याए बापत राष्ट्रिय सम्मान पाइसकेको छ । 

यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस रिसोर्टले ठूलो भूमिका निर्वाह गर्ने रिसोर्टका अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।


Author

थप समाचार
x