उद्यम

‘अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनुपर्छ’

इकागज |
फागुन २५, २०७८ बुधबार १४:२ बजे

फाइल तस्‍बिर

मोरङ - मोरङ व्यापार संघले अर्थतन्त्रको विद्यमान अवस्था, कारण र समाधानका विषयमा सरोकारवालाबीच आज छलफल गरेको छ ।

अर्थतन्त्रमा परिरहेको आर्थिक चाप, शोधनान्तर घाटा, तरलता अभावलगायतले मुलुकको आर्थिक अवस्था संकटग्रस्त भइरहेको उल्लेख गर्दै उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए । 


छलफलमा अर्थशास्त्री डा भेषप्रसाद धमलाले निरन्तर घटिरहेको विदेशी विनिमय सञ्चिति, बढ्दो शोधनान्तर घाटा, घट्दो रेमिट्यान्स, तरलता अभाव र व्यापार घाटालगायत विषयमा तत्काल सुधार ल्यानुपर्नेमा जोड दिए । 

'अहिलेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ', उनले भने, 'नेपालको आधाभन्दा बढी जनसङ्ख्या कृषिमा आधारित रहेकाले कृषिजन्य उत्पादन र उत्पादकत्वलाई पहिलो प्राथमिकतामा राख्न तथा मुलुकको अर्थतन्त्रलाई आयातमुखीभन्दा पनि निर्यातमुखी बनाउन सक्नुपर्दछ ।'

अर्थशास्त्री डा धमलाले सरकार र नेपाल राष्ट्र बैंकको अदूरदर्शी र अस्पष्ट नीतिकै कारण मुलुकमा तरलता अभाव देखिएको उल्लेख गर्दै देशको जनशक्ति विदेश पलायन हुनमा सरकारको अस्पष्ट नीति रहेको बताए । दक्ष जनशक्ति अभावका कारण मुलुकको उत्पादनमा असर पुगेको उल्लेख गर्दै उनले बैंकको ब्याजदर अत्यधिक वृद्धि हुँदा उत्पादनमासमेत असर पुगेको हुँदा अर्थतन्त्रलाई चलायमान बनाउन करको दायरामा कटौती गर्नुपर्ने, नयाँ नयाँ शीर्षकमा कर संकलन गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । 

प्रा डा पिके झाले नेपालका आर्थिक नीति प्रभावकारी हुन नसकेको बताउँदै विनियोजित बजेटको अधिकांश हिस्सा अनुत्पादन क्षेत्रमा खर्च हुने गरेको छ भने । उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिदैं उनले दिगो विकासको मेरुदण्ड नै उद्यमशीलता रहेकाले यसतर्फ राज्य गम्भीर हुनुपर्ने बताए । प्रा डा झाले उद्योग, व्यापार र व्यवसाय क्षेत्र संकटग्रस्त ठाउँमा उभिएको छ भन्नेमा सरकार गम्भीर हुनुपर्नेमा बताउँदै ठूलाभन्दा साना उद्योगलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाए मुलुकमा उद्यमशीलताको विकास हुने उल्लेख गरे । 

उनले स्वदेशी प्रविधिलाई प्राथमिकता दिएर कच्चापदार्थको नाममा विदेशिने पुँजीलाई मुलुकमा नै चलायमान बनाउनुपर्ने बताउँदै नेपाल स्रोतसाधन सम्पन्न मुलुक हुँदाहुँदै नेपालको अर्थतन्त्र दुरावस्थामा पुग्नु खेदको विषय हो भने । उनले भने, 'स्वार्थ अनुकूलको निर्णय लिँदा हालको समस्या उत्पन्न भएको छ ।'

डा सन्देशदास श्रेष्ठले यस्ता छलफलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारलाई पथप्रदर्शक हुने विश्वास व्यक्त गरे । संघका उपाध्यक्ष विकास वेगवानी, महासचिव अनिल सारडा, अमित सारडालगायतले अर्थतन्त्रको विधमान समस्याका विविध पक्षमाथि प्रकाश पारे । रासस


Author

थप समाचार
x