उद्यम

भारतसँगको लगानी र व्यापार सहजीकरणका लागि  नेपाली निजी क्षेत्रको आग्रह

इकागज |
चैत २०, २०७८ आइतबार १२:४८ बजे

काठमाडौँ - नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्र दुवैले भारतसँग आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन आफू सँधै तयार रहेको वताए। कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउँदै उनले त्यसका लागि वातावरण बनाउने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएको सम्झौताले विद्युत आदान प्रदान र रेल सेवा सञ्चालनमा सहयोग पुग्ने बताए।

कन्फिडरेसन अफ इन्डियन इन्डिष्ट्रिज (सिआईआई) ले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । सिआईआई भारतमा महासंघको साझेदार समेत संस्था हो । कार्यक्रममा महासंघ अध्यक्ष शेखर गोल्छाले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए। पछिल्ला वर्षहरूमा भारतीय लगानी घटिरहेको छ, उनले भने, यसलाई बढाउन निजी क्षेत्रको के कस्तो सहयोग चाहिन्छ हामी गर्न तयार छौ । सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्ष समेत स्थापना भएको छ । 


उनले पर्यटन क्षेत्रमा सम्भावना बढदै गएको पनि बताए । 'पहिले घुम्न आउनुहोस्, त्यसपछि लगानी गर्नुहोस्, अनि आम्दानी पनि गर्नुहोस्' उनले भने। अबको दुई बर्षमा अहिलेको पर्यटन पुर्वाधारले नपुग्ने र सरकारी नीतिका कारण यस क्षेत्रमा लगानी सहज भएको पनि बताए । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेको पनि उनले जानकारी गराए।

नेपाल भारतका लागि नवौँ ठूलो निर्यात गन्तव्य भएको सन्दर्भ प्रस्तुत गर्दै अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको बताए। 'नेपालको भारततर्फ र तेस्रो मुलुकको निर्यातमा भारतले सहजीकरण गरिदिनुपर्छ' उनले भने । 

कार्यक्रममा सिआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए । सिआईआईको उर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनले बताए । कृषिजन्य वस्तुको निर्यातमा गुणस्तरीय कायम गर्न पनि भारतले सहयोग गर्न सक्ने उनको भनाई छ।

कार्यक्रममा करिब ३० वटा भारतीय बहुराष्ट्रिय कम्पनीको सहभागिता थियो । करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको सम्भावना बारे चासो र अनुभव आदान प्रदान गरेका थिए । 

यसअघि, महासंघ र सिआईआईका पदाधिकारीहरु बीच द्धिपक्षीय छलफल भएको थियो । जसमा दुई संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल भारत लगानी एवं व्यापार सहजीकरणका बिषयमा छलफल भएको थियो । छलफलमा प्रतिनिधिमण्डलको नेतृत्व महासंघका अध्यक्ष गोल्छा र सिआईआई प्रतिनिधिमण्डलको नेतृत्व अध्यक्ष नरेन्द्रमले गरेका थिए ।  

छलफलमा अध्यक्ष गोल्छा सहित निवर्तमान अध्यक्ष भवानी राणा, पुर्व अध्यक्ष एवं विशिष्ठ सदस्य पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले आफ्नो धारणा राखेका थिए।
 


Author

थप समाचार
x